शुक्रबार, वैशाख ७, २०८१

विश्व बक्सिङ च्याम्पियनसिपमा सुमिना पराजित

मेरोन्यूज २०७८ वैशाख १ गते २०:०८

काठमाडाैं । पोल्याण्डमा भइरहेको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सिङ खेलाडी सुमिना खड्का पराजित भएकी छिन् । पोल्यान्डको किल्सीमा आज भएको खेलमा महिला ५४ किलो तौल समूहतर्फ नेपाली खेलाडी खड्का बेलारुसकी विनाराभा आर्नासित अङ्कका आधारमा पराजित भएकी हुन् ।

खड्काले तीन राउन्डसम्म प्रतिस्पर्धा गरेको नेपाल बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए । उक्त प्रतियोगितामा नेपालबाट खड्का र सुष्मा तामाङ सहभागी भएका छन् । महिला ४८ किलो तौल समूहमा तामाङ वाइ पाएर दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।

अब उनले लिथुआनियाकी खेलाडीसित प्रतिस्पर्धा गर्नेछिन् । गतवर्ष चैत पहिलो साता ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट खेलमा खड्काले डेचेन शेर्पालाई तथा तामाङले रमिसा श्रेष्ठलाई पराजित गरेकी थिइन् । पोल्याण्डमा जारी प्रतियोगितामा ५२ मुलुकका २७४ पुरुष तथा १४० महिला खेलाडीको सहभागिता रहेको छ । विश्व बक्सिङ च्याम्पियनसिप यही वैशाख १० गतेसम्म चल्ने छ ।

प्रतिक्रिया