बुधबार, वैशाख १२, २०८१

वर्ष २०७७

कोरोनामै रुमलिएको स्वास्थ्य क्षेत्र

सञ्जिता खनाल २०७८ वैशाख १ गते १९:०८

काठमाडौं । चीनको वुहानमा देखिएको कोरोना भाइरस विश्वमै माहामारीका रुपमा फैलिँदा नेपाल पनि अछुतो रहेन । २०७६ साल माघ १० गते चीनको वुहानबाट अध्ययन सकेर आएका ३२ वर्षका एक पुरुषमा कोरोना संक्रमण देखियो । उनी नेपालको पहिलो कोरोना संक्रमित थिए । ति पुरुषको सम्पर्कमा आएकाको सरकारले कन्ट्याक ट्रेसिङ सुरु गर्यो । पहिलो संक्रमित भेटिएको ठ्याक्कै दुई महिनाको अन्तरालमा दोस्रो संक्रमित भेटियो ।

चैत ९ गते फ्रान्सबाट आएकी २५ वर्षीया युवतीलाई संक्रमण देखिएपछि सरकारले लकडाउन गर्यो । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय आवागमनमा भएको प्रतिबन्ध र देशव्यापी रुपमा गरिएको लकडाउनका कारण जनजीवन कष्टकर बन्यो । लकडाउनमा नेपालमा नियमित संचालन हुने बालबालिका, गर्भवती महिलाहरू र अन्य व्यक्तिहरूलाई दिइने खोप कार्यक्रम प्रभावित हुन पुग्यो ।

उता भारतले पनि कोरोना संक्रमण बढेपछि लकडाउन गर्यो । उक्त समयमा देशैभर आइसोलेसन १४ हजार ८९६ वटा थिए भने आइसियू एक हजार १४८ वटा र भेन्टिलेटर ४४२ वटा मात्रै थिए । रोजगारी वा अध्ययनका लागि भारत गएका आफ्नो घर फर्कन थाले । सरकारले तोकेको आइसोलेसन वेड, आइसियू र भेन्टिलेरको अभाव हुन थाल्यो नै ।

अझ भारतबाट चोर बाटो हुँदै भित्रने क्रमले जेठ दोस्रो साताबाट ह्वातै ४०० को हाराहारीमा संक्रमित देखिन थाले । अस्पतालहरु संक्रमितले भरिन थाले । मृत्युदरसमेत बढ्दै गयो । कोरोनाबाहेका बिरामीले उपचार नपाउँदा निकै सास्ती बेहोर्नुपरेको थियो । उता, चौतर्फी विरोध भएपछि सरकारले साउन ६ गतेबाट लकडाउन हटायो । तर संक्रमितको दर घटेको थिएन् ।

कोरोना संक्रमण अघि कुन प्रदेशमा कति आइसियू र भेन्टिलेटर
कोरोना भाइरस नेपालमा भित्रँदा संक्रमित राख्ने आइसोलेसन, आइसियू र भेन्टिलेटरको संख्या प्रदेश १ मा चार हजार ४८ वेड, ३४४ आइसियू र १६४ वटा भेन्टिलेटर थियो । प्रदेश २ मा कोरोना संक्रमण देखिएको सुरुको अवस्थामा एक हजार ९१० वेडको आइसोलेसन, ४५ वटा आइसियू र २१ भेन्टिलेटर थियो ।

क्र.सप्रदेशआइसोलेसनआइसियूभेन्टिलेटर
१.प्रदेश १४,०४८३४४१६४
२.प्रदेश २१,९१०४५२१
३.वाग्मती३,२०९४२११३९
४.गण्डकी२,७३५१८३५७
५.लुम्बिनी९१२७०२३
६.कर्णाली
७.सुदूरपश्चिम१,०६९३५२४
तथ्यांक : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

त्यसैगरी, वाग्मतीमा प्रदेश तीन हजार २०९ वटा आइसोलेन, ४२१ वटा आइसियू र १३९ वटा भेन्टिलेटर थिए । गण्डकी प्रदेशमा दुई हजार ७३५ वटा वेड, १८३ वटा आइसीयू र ५७ वटा भेन्टिलेटर थिए । लुम्बिनी प्रदेशमा ९१२ वटा आइसोलेसन, आइसियू ७० र भेन्टिलेटर २३ रहेका थिए । सुदूरपश्चिम प्रदेशमा एक हजार ९६ वटा, आइसियू ३५ र भेन्टिलेटर २४ वटा रहेको थियो ।

आइसियू र भेन्टिलेटरमा उपलब्धि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल १८ हजार ९१७ वटा आइसोलेसन वेड छन् भने आइसियू एक हजार ४८६ र भेन्टिलेटर ६३४ छन् । गत वैशाखदेखि चैत ३१ सम्ममा आइसोलेसन चार हजार २१, आइसियू ३३८ र भेन्टिलेटर १९ वटा थपिएको छ । प्रदेश १ मा चार हजार ३५४ आइसोलेसन, ३८० आइसियू र १७४ वटा भेन्टिलेर पुगेका छन् । प्रदेश २ मा दुई हजार १३४ वटा आइसोलेसन, ६४ आइसियू र ३६ भेटिलेटर छन् ।

क्र.सप्रदेशआइसोलेसनआइसियूभेन्टिलेटर
१.प्रदेश १४,३५४३८०१७४
२.प्रदेश २२,१३४६४३६
३.वाग्मती५,३१४५५६२५५
४.गण्डकी३,०२३२३२६८
५.लुम्बिनी१,७६७८३२७
६.कर्णाली१,१२७११७३९
७.सुदूरपश्चिम१,१८९५४३४
जम्मा१८,९१७१,४८६६३४
तथ्यांक : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यसैगरी, वाग्मतीमा पाँच हजार ३१४ आइसोलेसन, ५५६ आइसियू र २५५ भेन्टिलेटर रहेका छन् । गण्डकीमा तीन हजार २३ आइसोलेसन, २३२ आइसियू र ६८ भेन्टिलेटर, कर्णालीमा एक हजार १२७ आइसोलेसन, ११७ आइसीयू र ३९ भेन्टिलेटर, लुम्बिनीमा एक हजार ७६७ आइसोलेसन, ८३ आइसियू र २७ भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा एक हजार १९८ आइसोलेसन, ५४ आइसियू र ३४ भेन्टिलेटर रहेका मन्त्रालयले जनाएको छ ।

कोरोनामै स्वास्थ्य सचिवको दरबन्दी रिक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव पुष्पा चौधरीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएपछि सचिव पद रिक्त बन्यो । ३५ हजार प्राविधिक कार्यरत मन्त्रालयमा एउटा विशिष्ठ सचिवको दरबन्दी पनि महामारी चलेको वर्षभर नै रिक्त रह्यो । मन्त्रिपरिषद्ले सरुवा गरेपछि उनी सर्वोच्च गएकी थिइन् । ओली सरकारले चिकित्सक सचिव हुने प्रावधानमाथि हस्तक्षेप गरेर प्रशासनका सचिवको दरबन्दी थपेको थियो । प्रशासनिक नेतृत्व दिने सचिव, राजनीतिक नेतृत्व गर्ने मन्त्रीसमेत बारबार बदलिए ।

मनोबल उकास्न चुकेको सरकार
कोरोना महामारीमा खटिएका स्वाथ्यकर्मीको मनोबल बढाउन सरकारले भूमिका खेल्न सकेन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ता पाउनका लागि कार्यविधि नै जारी नै गर्यो । तर फ्रन्टलाइनमा खटेका अधिकांश स्वास्थ्यकर्मीले भत्ता पाउन सकेनन् । उनीहरु जोखिम भत्ताको माग गरेर खुलेर आन्दोलनमा उत्रिए । उक्त समयमा स्वास्थ्यकर्मी र मन्त्रालयबीच एक प्रकारको द्वन्द्व नै चल्यो तर उनीहरुको हात खाली नै रह्यो । केही स्वास्थ्यकर्मीले कोरोना संक्रमणका कारण ज्यानसमेत गुमाए ।

फेरि जोखिम बढ्दै
कोरोनाको नयाँ प्रकारको भेरियन्ट देखापर्न थालेपछि फेरि संक्रमितको संख्यामा बढोत्तरी हुन थालेको छ । छिमेकी भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँगै त्यसका प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्न थालेको हो ।

गत कात्तिकदेखि फागुनसम्ममा कोरोना संक्रमण घट्दै गएको थियो । जनजीवन सामान्य बन्दै गएको थियो । तर बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट भारतमा पनि चैतको पहिलो सातामा देखियो । उक्त भेरियन्ट भारतमा बढ्दै गयो । यता नेपालमा पनि चैत महिनाको पहिलो साताबाट दोस्रो अंकमा देखिएको कोरोना संक्रमण ह्वातै बढेर तेस्रो अंकमा पुग्यो । सरकारले सबै नाकामा एन्टिजेन्ट परीक्षण सुरु गर्न थालेको छ ।

अहिले सबै नाकामा ज्वरो आएकाहरुको एन्टिजेन्ट परीक्षण गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण पौडेल बताउँछन् । एक साता अघिसम्म १०० को हाराहारीमा भेटिने कोरोना संक्रमित केही दिनयता दोब्बर, तेब्बरको संख्यामा फेला पर्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबार मात्रै ६०३ संक्रमित फेला परेका छन् । जुन पछिल्लो छ महिनाको उच्च संख्या हो ।

यसपटक बढोत्तरी हुन थालेको कोरोनामा बालबालिका बढी प्रभावित देखिन खोजेका छन् । बुधबार भेटिएका कूल ६०३ जना कोरोना संक्रमितमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाको नयाँ प्रजाति देशव्यापी रुपमा फैलिएको स्वास्थ्य मन्त्रालयकै अधिकारीले बताउन थालेका छन् । काठमाडौं, पोखरा, भक्तपुर, नुवाकोट र दार्चुलामा समेत यूके भेरिएन्ट फैलिएको मन्त्रालयले जनाएको छ ।

खोपको आशा
कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहँदा यसलाई नियन्त्रण लिन आवश्यक खोपको विकास लागि विश्वभरका वैज्ञानिक लागिरहे । केही आशाका किरण पनि देखिन थालेका छन् । रुस, चीन, बेलायत, अमेरिकालगायत केही मुलुकले खोपको विकाससमेत गरेका छन् । नेपालमा पनि भारतमा बनेको खोप ल्याएर लगाउन थालिएको छ । खोपमा भएको विकासले केही आशा देखाएको छ ।

बेलैमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगर्ने हो भने फेरि कोरोनाले भयावह अवस्था ननिम्ताउला भन्न सकिन्न । बीचमा केही सन्तोषजनक अवस्था देखिएपनि फेरि कोभिड बढ्न थालेकाले चिन्ताजनक अवस्था निम्ताएको छ । वर्ष २०७७ भरी कोरोनामै रुमल्लिनुपरेको नेपालीले फेरि वर्ष २०७८ को शुरुआतमै पनि अनिश्चिततामै दिन कटाउनुपर्ने अवस्था निम्तेको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया