बिहीबार, वैशाख १३, २०८१

२०७८ वर्षफलः राजनीतिक शक्ति संघर्ष चर्किने

दिवाकर पन्त २०७८ वैशाख १ गते ९:०३

काठमाडौं । नयाँ वर्ष २०७८ सालको वर्षफल नेपालको सन्दर्भमा निम्न रहने छ ।

नयाँ वर्ष २०७८ साल सामान्य रुपमा बुधबारका दिन आरम्भ भएको देखिएता पनि मीन राशिबाट सूर्यदेव मेष राशिमा मंगलबार नै प्रवेश गरेका छन् । यसरी हेर्दा २०७८ सालमा राजाका रुपमा मंगल र मन्त्री ग्रहका रुपमा पनि मंगल ग्रह नै रहेका छन् ।

राजा ग्रहका रुपमा र मन्त्री ग्रहका रुपमा एकै ग्रह रहन आएका कारण कतिपय विषयमा शक्ति सन्तुलनको अवस्था जस्तो सृजना भएता पनि दुई वटा सेनापतिका साथमा संचालित हुने सेनाको जस्तो अवस्था हुने भएकाले राजनीतिक शक्ति संघर्षको अवस्था सृजना हुन पुग्ने छ ।

यस वर्ष प्रमादीनाम संवत्सर समाप्त भएर आनन्दनाम संवत्सर आरम्भ हुनु पर्ने भएता पनि आनन्द संवत्सर क्षय भएकाले राक्षस नाम संवत्सर सक्रिय रहने छ । यस संवत्सरमा समाजमा दैत्य प्रवृत्तिको वृद्धि हुन पुग्ने छ । वर्षाको सन्तुलन नहुने भएकाले खेती बालीका उत्पादनहरुमा असर पार्ने छ । कृषि क्षेत्र प्रभावित हुन पुग्ने छ ।

राजनीति विषयलाई लिएर निकै बादविवाद र तनाव उत्पन्न हुन जानेछ । राजनीतिक दल तथा नेताहरुमा एक आपसमा आरोप प्रत्यारोप बढ्ने छ भने गालि गलौजको मात्रामा वृद्धि हुने छ । राजनीतिक शक्ति केन्द्रहरुका बीच द्वन्द निकै चर्कन पुग्ने छ ।

नेतृत्व लिनका लागि होडबाजी हुने छ । सत्ता र शक्तिमा पुग्नका लागि जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने ग्रह गोचरले अवस्था सृजना गरिदिएको अवस्था देखिन्छ । यस वर्ष ठुला प्रकारका राजनीतिक उतारचढाव आउने छ ।

राजनीतिक शक्तिहरु र सुरक्षा निकायका बीच द्धन्द चर्कन पुग्ने छ । देशमा भ्रष्टाचार र गैरकानूनी कार्यले प्रशय पाउने छ ।

अस्थिरता उत्पन्न हुने छ । अविश्वास र अराजकता उत्पन्न हुने भएकाले समाजमा नकारात्मक शक्तिहरु सल्बलाउन जाने छन् । सिधासादा मानिसहरुलाई जीवन यापन गर्न कठिनाई उत्पन्न हुने छ । समाजमा क्रोध बढ्ने छ । क्रुरता बढ्न जाने छ, भने समाजमा हिंसात्मक घटना तथा अपराधका घटनाक्रमहरु बढ्न पुग्ने छन् । आगोको भय रहने छ भने आगलागी जस्ता घटनाहरु वृद्धि हुने छ ।

समग्रता ब्यापारिक गतिविधिहरुका सूचक धेरै सकारात्मक बन्न सक्ने छैनन् । व्यवसायिक गतिविधिहरुले पूर्ण चलायमान हुने र पेशागत स्थिरताको अवस्था अझै आउन सक्ने छैन् । उपभोग्य वस्तुहरुको अस्वाभाविक मूल्य बृद्धि हुन पुग्ने छ । सूचना प्राविधि क्षेत्रमा भने चलायमान अवस्था रहने छ । सूचना प्रविधि क्षेत्रका व्यवसायिक गतिविधिमा भने बृद्धि हुन पुग्ने छ ।

आर्थिक विषयमा सर्वसाधारणको जनजीवन दबाबमा रहने छ । जीवन यापन, धन सम्पत्ति तथा वित्तिय अवस्थालाई लिएर सर्वसाधारणहरुको जीवनमा पारिवारिक कलह उत्पन्न हुने छ । यसले जनजनमा पारिवारिक तनावको वातावरण सृजना गर्ने र त्यस्तो वातावरण वृद्धि गर्ने छ ।

तृत्व, प्रशासक तथा अन्य सार्वजनिक जीवनम व्यक्तिहरुमा बोलीको ठेगान नहुने भएकाले मानिसहरुमा अविश्वासको वातावरण उत्पन्न हुने छ ।

मानिसहरुले गरेका बाचा तथा प्रतिवद्धताप्रति ठेगान नहुने भएकाले बोलीको प्रभाव घट्ने छ । अर्थात आफैले गरेको बाचा, प्रतिवद्धतालाई पुरा नगर्ने प्रवृत्तिमा वृद्धि हुन पुग्ने छ । पेशागत अस्थिरताको दर बढ्ने छ । जसका कारण मानिसहरुमा निराशा बढ्ने छ ।

विश्वभर फैलिएको संक्रमण रोग २०७८ सालमा केही नियन्त्रित हुन खोज्ने भएता पनि पूर्ण रुपमा यो नियन्त्रणमा आउने छैन् । विश्वले यससँग संघर्ष गरि रहनु पर्ने छ । सर्वसाधारण जनजन सबैले यससँग संघर्ष गर्दै अघि बढ्न मानसिक रुपमा तयारी अपनाउनु पर्ने छ ।

(गुरु दिवाकर पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् ।) सम्पर्क– ९८१३६३७२३८

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया