शनिबार, वैशाख ८, २०८१

चेम्बरका पदाधिकारीलाई परिसंघमा स्वागत, निजी क्षेत्र एक भएर अगाडि बढ्ने

मेरोन्यूज २०७७ चैत ३१ गते २१:२८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीलाई नेपाल उद्योग परिसंघले एक कार्यक्रमको आयोजना गरी परिसंघको कार्यालयमा स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले विगतमा पनि धेरै क्षेत्रमा नेपालका निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै आएको सन्दर्भ उल्लेख गर्दै आगामी दिनमा पनि यसको आवश्यकता र महत्व झन बढ्दै गएको बताए ।

उनले कोभिडको पहिलो लहरमा नेपालको निजी क्षेत्र एक भई अर्थतन्त्रलाई बचाई राख्न सरकारलाई संयुक्त सुझाव दिएको उल्लेख गर्दै पहिले भएको कोभिडबाट पाठ सिकेर दोस्रो कोभिडको लहरलाई पनि सरकारले तोकेका सुरक्षा मापदण्डलाई पालना गरी उद्योग व्यवसायलाई निरन्तर सञ्चालनमा ल्याउनु पर्ने धारणा राखे ।

पहिलेदेखिनै निजी क्षेत्रले भन्दै आएको लकडाउन गरेर कोभिडबाट मुक्त हुन नसकिने भएकाले यसबाट बच्नको लागि सुरक्षाका उपाय र सावधानि यसको विकल्पका रुपमा रहेको बताए । उनले सुरक्षा मापदण्ड पालना गर्नका लागि निजी क्षेत्र पनि उत्तिकै कडाईकासाथ अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

सरकारले निजी क्षेत्रलाई खोप आयात गर्न दिनुपर्ने धारणा राख्दै अध्यक्ष मोरले उद्योगमा काम गर्ने कामदारका लागि निजी क्षेत्रले सिधै आपूर्तिकर्ताबाट खोप खरिद गरी मजदूरलाई खोप दिने व्यवस्थाको लागि सरकारसँग माग गरे ।

चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले भाइचारा, मित्रता र सहकार्यको आगामी मार्गमा परिसंघको निमन्त्रणा सार्थक रहेको धारणा राख्दै नेपालका निजी क्षेत्रका संस्थाहरु एउटा सिक्काको दुई पाटा रहेको बताए ।

सरकारले नेपालको निजी क्षेत्रलाई विगत र वर्तमानमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउँदै उनले कोभिडबाट बच्न स्वास्थ्य मापदण्ड तयार गरी विभिन्न जिल्लामा भएका च्याप्टरलाई पनि सक्रिय परिचालन गरिनुपर्ने धारणा राखे । निजीक्षेत्रबाट सरकारलाई जाने सुझावहरुमा प्राय एकै प्रकारका सुझावहरु हुने भएकाले आगामी दिनहरुमा संयुक्त सुझाव प्रस्तुत गर्न निजीक्षेत्र तयार हुनु पर्ने बताए ।

उनले कतिपय अवस्थामा सरकारले उद्योगी व्यवसायीको मर्कालाई बुझेर मात्र नीति नियम बनाउनु पर्ने र उद्योग व्यवसायमैत्री नियम बनाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले राजश्व परामर्श बोर्डमा निजीक्षेत्रको सहभागितालाई जोड दिँदै एकजुट भएर उद्योग व्यवसाय प्रवद्र्धन गर्न, सुलभ र सरल मूल्यमा सामान उपलब्ध गराउन संयुक्त पहल गर्नुपर्ने बताए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले लकडाउन अहिलेको विकल्प नभएकाले निजी क्षेत्रको आवाजलाई सही ठाउँमा पु¥याउन सहकार्य अपरिहार्य रहेको बताए । चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लकडाउन अन्तिम अस्त्र भएकाले सरकारले आम नागरिकलाई कुनै सुविधा प्रदान गर्न नसक्ने अवस्था सिर्जना भएमा मात्र लकडाउनको अवस्था आउने बताए ।

प्रतिक्रिया