बिहीबार, वैशाख ६, २०८१

राज्यले लिएकाे उचित सुरक्षा नीतिले विप्लव र सिके राउत मुलधारमा आए- गृहमन्त्री थापा

मेरोन्यूज २०७७ चैत ३० गते १९:०५

पोखरा । गृहमन्त्री रामबहादुर थापा’बादल’ले सरकारले लिएकाे उचित सुरक्षा रणनीतिका कारण नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको पार्टी र सिके राउतकाे पार्टी मुलधार मा आएको बताएका छन् ।

पाेखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले मुलधार बाहिरका शक्तिलाई नियन्त्रणमा गर्न राज्यले ‘प्रशासनिक कारवाही र राजनीतिक संवाद’ काे दुई नीति लिएकामा त्याे सफल भएकाे बताए । उनले भने, ‘यसअघिका सुरक्षा गोष्ठीमा विप्लव र सिके राउतले उत्पन्न गरेका सुरक्षा चुनाैती प्रमुख विषय हुन्थे । यसपटकको गाेष्ठीसम्म आइपुग्दा ती विषय गाैण बन्न पुगे । हामीले उनीहरुलाई एकातर्फ प्रशासनिक कारवाही गरेर रक्षात्मक अवस्थामा पुर्यायाैँ, अर्कोतर्फ वार्ताकाे माध्यमबाट समस्या समाधान गर्याैँ ।’

गृहमन्त्री थापाले राज्यलाई नै चुनाैती दिनेस्तरका समूहहरु अब नरहेकाे भन्दै अझै केही समूह जाति, क्षेत्र र धर्मका नाममा अस्थिरता निम्त्याउन प्रयासरत रहेकाेले सुरक्षा निकाय त्यसतर्फ पनि सचेत हुन आवश्यक रहेको टिप्पणी गरे । उनले सुरक्षा गाेष्ठीमार्फत गण्डकी प्रदेशका ११ जिल्लाकाे सुरक्षा अवस्था, सकारात्मक र नकारात्मक पक्षबारे जानकारी आएको भन्दै अब साेहीअनुसार नयाँ सुरक्षा रणनीति बन्ने विश्वास व्यक्त गरे ।

उनले अहिले देखिएका कमजोरीलाई निर्ममतापूर्वक सच्याउनसमेत मातहतका निकायहरुलाई निर्देशन दिए । कोरोनाका कारण विगत एक वर्षदेखि हुन नसकेको सुरक्षा गोष्ठी गण्डकी प्रदेशबाट सुरु भएकाे छ । गोष्ठी आइतबारदेखि सुरु भएकामा साेमबार गृहमन्त्रीले औपचारिक उद्घाटन गरेका हुन् ।

गृह मन्त्रालय र गण्डकी प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा आइतबारबाट सुरु भएकाे गोष्ठीमा गृहमन्त्री बादल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ , आन्तरिक मामिलामन्त्री रामशरण बस्नेत, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका युद्धकार्य निर्देशनालयका रथी तथा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका सिडियो र जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुखको उपस्थिति छ । गत वर्षनै हुनपर्ने सुरक्षा गोष्ठी कोरोनाका कारण रोकिएको थियो ।

प्रतिक्रिया