शुक्रबार, वैशाख ७, २०८१

प्रोफाइल

डा.चिरञ्जीवी नेपालः विश्वज्योतिको ब्ल्याक टिकट किन्नेदेखि गर्भनरसम्म

किरण अधिकारी २०७७ चैत ३० गते १०:२९

काठमाडौं । ठीक एक वर्ष अगाडी नेपाल राष्ट्र बैंकका गभर्नरबाट बिदा भएका डा.चिरञ्जीवी नेपाल यतिबेला के गरिरहेका होलान् ? २०७१ चैत ५ गते राष्ट्र बैंकको १६ औं गभर्नरको रुपमा डा. नेपाल नियुक्त भएका थिए । त्यसपछि उनले २०७६ चैत्र ४ गतेसम्म ५ वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए ।

त्यसयताको फूर्सदको समय उनको कसरी बितिरहेको छ ? मेरोन्यूजसँगको कुराकानीमा नेपालले भने, –‘मान्छे सफल बन्नुपर्छ त्यसका लागि अध्ययनको विकल्प छैन । लकडाउनको समयदेखि अहिलेसम्म पुस्तकहरु खोजी खोजी पढ्ने र विभिन्न अनुसन्धानमुलक लेखहरु लेख्ने काममै मेरो दैनिकी बितिरहेको छ ।’

कोभिडका कारण लकडाउन हुनु अगाडीसम्म चावहिलमा बस्दै आएका थिए । त्यसपछि भने उनी ललितपुरको थसिखेलस्थिल घरमा सरेका छन् । पूर्व गर्भनर नेपाल २०१५ माघ ३ गते पाल्पा जिल्लाको एक गाउँमा जन्मिएका हुन् । ५ वर्षसम्म गाँउमै विताएका उनी त्यसपछि भने काठमाडौंमा बाबुसँगै भित्रिए ।

खेलका सौखिन !
पूर्व गर्भनर डा.चिरञ्जीवी नेपाल खेलका सौखिन पनि हुन् । फुटबल, टेनिस खेलका सौखिन उनी सी डिभिजनको चावहिल फुटबल क्लबका खेलाडी थिए । उनी भन्छन्, ‘म सानैदेखि खेल भनेपछि हुरुक्कै हुने मान्छे । फुटबल, टेनिस मलाई असाध्यै मनपर्ने खेल । खेलसँगै साथीभाइसँग नाचगान गर्न, रमाइलो गर्न मन लाग्छ मलाई । सानैदेखि मेरो स्वभाव त्यस्तो थियो ।’

सानैदेखि उनी शारीरिक एक्सरसाइजका लागि पनि उत्तिकै रुची राख्थे । ‘हेल्थ ईज वेल्थ का लागि सानैदेखि अहिलेसम्म पुसअप, बडिबिल्डङ, जिम लगायतका व्यायामलाई निरन्तरता दिएको छुँ’ – डा नेपालले भने ।

अचम्म त उनी सानो छँदा ब्ल्याकमा सिनेमाको टिकट किन्ने गर्थे । राती १ बजे उनी विश्वज्योती सिनेमा हल जमलमा ब्ल्याक टिकटका लागि पुग्थे । उनी थप्छन् –‘बाल्यकाल नै त्यस्तै हुँदो रहेछ, अचम्मको बानी । सिनेमा हलमा ब्ल्याक टिकटका लागि समेत राती १ बजे पुग्ने गर्थें म सानो बेला । ’

बाबुको जागिर जता, नेपालको पढाई उतै
उनका बाबु पुलानन्द नेपाल प्रहरी सेवामा थिए । बाबुकै पिछा लाग्दै उनी काठमाडौं आएका थिए । त्यसपछि उनलाई बाबुले डिल्लीबजारस्थित शिशू निकेतन विद्यालयमा भर्ना गरिदिए । ४ कक्षासम्म काठमाडौंमा पढेका उनी बाबुको प्रहरी सेवाबाट भएको सरुवासँगै राजविराज पुगे । उनी राजविराजकै विद्यालयमा पुगेर भर्ना भए ।

फेरी कक्षा ८ भने सिद्धार्थ बोर्डिङ स्कूल, काठमाडौंमा पढ्न आए । नेपालले पढेको सिद्धार्थ स्कूल अहिले बढानिलकण्ठ सिद्धार्थ स्कूलको नामले चर्चित छ । ९ कक्षा पढ्न बुबासँग नेपालगञ्ज गएका उनी १० कक्षा काठमाडौंकै पद्मोदय विद्यालयमा पढे र एसएलसी दिए ।

उनको अध्ययन भने बाबुको जताजता सरुवा हुन्थ्यो, त्यत्तै त्यत्तै सथ्र्यो । एसएलसीमा द्धितिय श्रेणीमा उर्तिण भएका पूर्व गर्भनर नेपालले त्रिचन्द्र कलेजबाट आईएस्सी पास गरे । आईएस्सीमा राम्रो नम्बर ल्याउन नसकेका नेपाल फेरी फर्किए जन्मघर पाल्पा । उतैबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरे ।

अनि राजनीतिमा
उनी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य पनि बने । आफूले अध्ययन गर्ने क्याम्पसको नेविसंघ अध्यक्ष भएका उनी त्यसपछि राजनितिमा सक्रिय भए । २०३६ सालमा बहुदल की निर्दल भन्ने जनमत संग्रहमा उनी पनि खटिए । पञ्चायती व्यवस्थाको विकल्पमा वहुदलीय व्यवस्थाका पक्षपाती उनले वहुदलका पक्षमा जनमत निर्माणमा खटिए ।

उनले कांग्रेसका जनप्रिय नेता विश्वेश्वरप्रसाद कोइरालालाई पाल्पाको आफ्नै घरमा समेत लगेर गाउँभरीका मान्छे जम्मा पारेर वहुदलका पक्षमा वातावरण बनाउन भाषण गर्ने माहोल पनि मिलाए । उनका बाबुले अन्तिममा राजनीतिक कारणले नै प्रहरी सेवाबाट हट्नुपर्ने वातावरण पनि निर्माण भयो ।

बाबुको प्रहरी सेवाको जागिर गुमेपछि भने उनी आफैंले एक बहिनी र एक भाइको अध्ययनका लागि सहयोग पुर्‍याउन स्नातकोत्तर तहको अध्ययनका लागि काठमाण्डौं आए । केन्द्रीय बैंकबाट छात्रबृत्ति पाएर किर्तीपुरस्थित त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागमा उनी भर्ना भए । राजनीतिशास्त्र अध्ययन गर्ने इच्छा हुँदा हुँदै पनि अरुको करकापले अर्थशास्त्र पढेका उनले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट ‘नेपालको उद्योगमा बाल मजदुर’ शिर्षकमा विद्यावारिधी गर्न भ्याए ।

अर्थशास्त्रमा उत्कृष्ठ अंक ल्याएपछि उनलाई त्रिभुवन विश्वविद्यालयमै अर्थशास्त्र पढाउने अवसर जुर्‍यो । उनको जीवनमा अनेक आयम आएका छन् । जुन उनी अहिले सम्झंदा पनि तरंगित हुने गर्छन् ।

संर्घषपूर्ण जीवन
उनको जीवनमा सबैभन्दा ठूलो पीडा र सर्घषको बाटो रोज्नुपर्ने बाध्यता उनको बुबाको मृत्युपछि बन्न पुग्यो । प्रहरीको डिएसपी भएका बुबाको पछि लागेर अध्ययन थालेका उनले बुबाको मृत्युपछि आर्थिक सामाजिक जिम्मेवारी आफ्नै काँधमा लिनु पर्‍यो । भाइ बहिनीलाई पढाउँदै आफू अघि बढ्नुपर्ने, घरको जिम्मेवारी पनि सम्हाल्नुपर्ने दायित्व उनको काँधमा आईलाग्यो ।

पेशागत जीवन उनले अध्यापनबाट शुरु गरे । त्यसपछि भने उनको जीवनले फरक फरक आयाम पार गरेको छ । अध्यापनकै शिलशिलामा सुप्रभा घिमिरेको प्यानलमा प्राध्यापक संघको सदस्य भए । कपिल श्रेष्ठ अध्यक्ष हुँदा प्राध्यापक संघको महासचिवसम्म पनि बन्न भ्याए नेपालले ।

पेशागत रुपमा पूर्व गर्भनर नेपाल पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको सरकारका बेला अर्थमन्त्रालयका पनि प्रमुख आर्थिक सल्लाहकार भए । २२ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराएका उनले काठमाडौं विश्वविद्यालयका भिजिटिङ प्रोफेसर भएर ६ वर्ष बिताएका छन् । उनले त्यहाँ एमफिल र २३ जनालाई पिएचडी समेत गराएका छन् ।

पूर्व गर्भनर नेपालले उद्योगी व्यवसायीहरुको प्रतिनिधिमूलक संगठन, अर्थशास्त्रीहरुको संगठन नेपाल आर्थिक संघको उपाध्यक्ष पनि भए । त्यतिमात्र होइन उनी नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार समेत भए । पाल्पाको नेपाल उद्योग परिसंघको विज्ञ सदस्यका रुपमा पनि चयन भए ।

विपीको आर्थिक विचार, ऋण व्यवस्थापनलगायत दर्जनौं अनुसन्धान तथा खोज गरेका नेपालले पेशागत विकासका लागि अष्ट्रेलियमा पुगेर थप अध्ययन गरे । त्यहाँबाट फर्के लगत्तै उनी काम गर्नका लागि विभिन्न संघ संस्थामा आवद्ध भए ।

आइटी पार्कको पहिलो प्रमुख रहिसकेका पूर्व गर्भनर नेपाल औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक पनि भए । उनी पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष समेत भए । उनको पालामा पुँजी बजार विकास सम्बन्धि नौ वटा नियमावली बन्यो । उनले नै नेपाल स्टक एक्सचेन्च (नेप्से) लाई सेमी अटोमेसनमा लगे ।

नेपालले नै बैंकमा खाता खोलेर शेयरमा आवेदन दिन पाउने व्यवस्थाको सुरुवात गरेका हुन् । उनले सिडिएस र सामूहिक लगानीकोषको नियमावली तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको आर्थिक सल्लाहकार हुनुअघि उनले संयुक्त राष्ट्र संघ अन्तर्गत इन्टरप्राइजेज डेभलपमेन्ट, साउथ एसिया सेन्टर नेपालका लागि त्यहाँको महासचिवका हिसाबले नेपालको पहिलो मानव विकास प्रतिवेदन तयार पारे । पूर्व गर्भनर नेपालको बाल श्रम र आर्थिक असर भन्ने पुस्तक अक्सफोर्ड पब्लिकेसनबाट प्रकासन भएको छ ।

विश्व बैंकको स्कुल सपोर्ट कार्यक्रमको संयोजक रहिसकेका नेपाल ‘मिलेनियम च्यालेन्ज कोअपरेसन’का प्रमुख अर्थशास्त्री पनि हुन् । उनी विभिन्न समयमा एडिबी, विश्व बैंक, एसएनभी, जिआइजेडको सल्लाहकार भएर पनि आर्थिक क्षेत्रमा चिनिए ।

सन् १९६१ मा संयुक्त राज्य अमेरिकाको ३५ औं राष्ट्रपति बनेका जोन अफ केनेडीको पथमा लम्कन खोजेका नेपालले विकासका लागि देखाएको मापदण्डलाई स्वीकार गरेमात्र पनि मुलुकको विकासले फड्को मार्नेमा कुनै शंका छैन । केनेडीप्रति समर्पित भएकाले आफूलाई केही सिक्ने उत्साह जागेकोे पूर्व गभर्नर नेपाल सुनाउँछन् ।

०००

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया