शनिबार, वैशाख ८, २०८१

खनाल-नेपाल पक्षले हटाएपछि सत्यनारायण मण्डलको प्रतिक्रिया

म नभएको भए माधव नेपालको राजनीति जीवन खरानी भइसक्थ्यो

मेरोन्यूज २०७७ चैत २९ गते १९:१५

काठमाडौं । एमालेको प्रदेशसभा २ को दल नेताबाट माधव नेपाल र झलनाथ खनाल पक्षका बहुमत सांसदले नेता सत्यनारायण मण्डललाई हटाए । आइतबार एमालेका २१ मध्ये ११ जना सांसदको उपस्थिति र अन्य २ जना नेताको समेत समर्थनमा मण्डललाई दल नेताबाट हटाइएको जानकारी प्रदेशसभा २ का सभामुखसमक्ष पत्र समेत नेपाल खनाल पक्षका सांसदहरुले बुझाए ।

ओली पक्षका प्रदेश २ का इन्चार्ज समेत रहेका मण्डललाई बहुमत सदस्यले हटाएपछि उनले एमालेका नाममा समानान्तर गतिविधि गर्नेलाई अब आफूहरुले पनि कारवाही गर्ने बताएका छन् ।

नेपाल पक्षबाट प्रदेश सभा २ को दल नेताबाट हटाइए सत्यनारायण मण्डल

मेरोन्यूजसँग पहिलो प्रतिक्रिया दिँदै मण्डलले अब मलाई होइन्, मलाई जर्वजस्ती हटाउन खोज्नेहरुलाई कारवाही गर्ने बताए । नेपाल-खनाल पक्षले कारवाही गरेपछि मण्डलले दिएको प्रतिक्रिया जस्ताको तस्तै:

एमालेमा केही यस्ता लोभीपापी व्यक्तिहरू छन्, उनीहरुले मलाई कारवाहीको नाटक गरेका छन् । दलको नेता म , सबैलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको मान्छे म । आजसम्म कम्पलेन दर्ज छैन मेरो विरुद्द । अनि रवीन्द्र बैठा भन्ने व्यक्ति समानुपातिक विधायक हो । उसको अध्यक्षतामा बैठक बसेर मलाई कसरी हटाउन मिल्छ ? यही हो माधव नेपालहरुले भन्ने गरेको विधिको कुरा ।

माधव नेपालहरुले आज जसरी मलाई हटाएर अर्काे व्यक्तिलाई दल नेता जर्वजस्ती बनाएको बताएका छन्, उनको बारेमा मलाई धेरै टिप्पणी गर्नु छैन । प्रदेशको सार्वजनिक लेखा समितिको चुनावमा कांग्रेस पार्टीको विधायकको प्रस्तावमा र तत्कालीन फोरम अर्थात उपेन्द्र यादवकाे विधायकको समर्थनमा उनले उम्मेदवारी दिएका थिए । अन्तिममा समर्थकले फिर्ता लिएपछि आजसम्म त्यसको चुनाव हुन सकेको छैन ।

यस्तो अराजकहरु जसले अरुलाई विधि र अनेक कुरा सिकाउँछन्, उनीहरु नै विधिको लज्जास्पद कुरा गरिरहेका छन् । माधव नेपाल आफैँ संविधानसभामा पराजित भएको व्यक्ति । उनी आफैं संविधान निर्माण समितिको अध्यक्ष बन्छन्, न संविधान बन्छ, देशको प्रधानमन्त्री बन्छन्, अनि यहाँ मलाई बहुमत सो गरेर निकाल्नुको के तुक छ ?

मेरो विरोधमा कम्पलेन दर्ज हुनुपर्‍यो नी । मलाई सूचना छैन, बैठक गर्छन् । यो के खालको संस्कार हो । समानान्तर कमिटी गठन गर्दै हिँडेको छ, यही हो तरिका ? मलाई उहाँहरुले हटाएको भन्ने विषयमा पार्टीको केन्द्रीय कार्यालयलाई मैले सारा जानकारी गराइसकेको छु । जसरी माओवादीले एमालेमा आएका लाई सांसद पद समाप्त पार्ने गरी कारवाही गर्ने काम गर्‍यो । आजै मात्र सभामुखले मलाई भन्दै थिए,- ४ जना रामचन्द्र मण्डल, ज्वालाकुमारी साहसहित ४ जनाको सांसद पद खारेज भयो । भोलि प्रदेशसभाले सूचना सार्बजनिक गर्छ ।
चिठी आईसकेको छ ।

श्रीमान गम्भीर नेपाली, प्रचण्ड प्रतापीको चिठी आइसकेको छ । अब हामीले पनि त्यसरी हिँड्नलाई कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।एमाले भन्दैमा जथाभावी गर्दै हिँड्न पाइन्छ समानान्तर कमिटी गठन गर्दै हिँड्न कहाँ छुट पाइन्छ ? विधान मानेर जानुपर्दैन । मलाई होइन, मलाई हटाएको भन्नेहरुलाई अब कारवाही हुन्छ । त्यस्तो कारवाही अब म गर्छु हेर्दै जानुहोला ।

अराजक शैलीमा पार्टीको विद्यान, अनुशासन नमान्नेले म एमाले भन्दै हिँडेर संगठनमा आगो लगाउँदै हिँड्ने ? विल्कुल कारवाहीमा पर्छन् । लोकतान्त्रिक अभ्यास अन्तर्गत म विरुद्ध प्रस्ताव ल्याएको भए म मान्न तयार हुनुपर्छ । तर त्यसरी नगरी छलछाम गरेर ल्याउने ? माधव नेपाल भन्दा मेरो राजननीति कम्ता छ ? उहाँले १५ वर्ष प्रमुख भएर पार्टी चलाउनु भयो । मैले पनि ५३ वर्ष कम्युनिष्ट पार्टीको सदस्य भएर काम गरेको छु । माधव नेपालले बुझे हुन्छ , सत्यनारायण मण्डल नभएको भए माधव नेपालको राजनीतिक जीवन खरानी भइसकेको हुने थियो ।

प्रतिक्रिया