शुक्रबार, वैशाख ७, २०८१

एमालेमा समानान्तर कमिटीको अभ्यास प्रदेशसभा दलमा छिर्‍यो

नेपाल पक्षबाट प्रदेश सभा २ को दल नेताबाट हटाइए सत्यनारायण मण्डल

मेरोन्यूज २०७७ चैत २९ गते १८:११

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिका विरुद्ध देशव्यापी अभियान चलाउने र तल्लो तहसम्मै पार्टीभित्र पार्टी अर्थात् समानान्तर कमिटी बनाउने अभ्यासमा लागेको नेकपा (एमाले) को माधव नेपाल र झलनाथ खनाल पक्षले प्रदेश २ को संसदीय दलको नेता फेरेको छ ।

पार्टी अध्यक्ष ओलीकाे पक्षमा रहेका प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डललाई हटाएर नेपाल-खनाल पक्षले प्रदेशसभाको दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ। प्रदेश २ मा एमालेका २१ सांसद छन् ।

त्यसमध्ये ११ जनाको बैठकले मण्डललाई हटाएर महत्तोलाई दल नेता चयन गरेको हो । प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा खनाल नेपाल पक्षले आइतबार प्रदेश सभा संसदीय दलको कार्यालयमा बैठक राखेर त्यस्तो निर्णय लिएको प्रदेश सभा सदस्य मन्जु यादवले जानकारी दिइन् ।

बैठकले दलको उपनेतामा रवीन्द्र बैठा, प्रमुख सचेतकमा सुन्दर विश्वकर्मा र बेची लुंगेलीलाई चयन गरेको पनि यादवले जानकारी दिइन् । आफूहरुले दलको बहुमतबाट मण्डललाई दल नेता हटाएर महतोलाई चुनेको उनले बताइन् ।

आइतबारको बैठकमा ११ जना उपस्थित भए पनि अन्य २ जना सांसद पनि आफूहरुसँग रहेको उनको भनाइ छ । बैठकमा गोविन्द न्यौपाने र डिल्ली उप्रेती बिरामी भएका कारण उपस्थित हुन नसेको उनको भनाइ छ । दल नेता फेरिएको विषयमा खनाल-नेपाल पक्षले आइतबार नै प्रदेशसभा सभामुखलाई जानकारी गराइसकेको छ । उक्त पत्रमा भने १३ जनाको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया