बिहीबार, चैत १५, २०८०

एमाले फूट्ला कि जुट्ला ?

प्रधानमन्त्री ओली नेपाल पक्षलाई पेलेरै जाने र नेपाल -खनाल पक्ष ओलीसँग नझुक्ने रणनीतिमा लागेपछि सत्तारुढ दल एमालेको विवाद मथ्थर हुने भन्दा झँगिदै जान थालेको छ ।

मेरोन्यूज २०७७ चैत २९ गते १४:५६

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्र समानान्तर कमिटी बन्न थालेपछि पार्टी विभाजनतर्फ उन्मुख भएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षलाई पार्टीभित्रै निषेध गर्न खोजेको भन्दै समानान्तर कमिटि बनाउन थालेपछि एमाले फुट्ला की जुट्ला भन्ने बहस शुरु भएको छ ।

झट्ट हेर्दा प्रधानमन्त्री ओलीको पेलेरै जाने नीति र वरिष्ठ नेता नेपाल र खनाल पक्षको नझुक्ने नीतिका कारण पार्टी विभाजन उन्मुख जस्तो देखिन पुगेको छ ।

ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले ५३ जिल्लामा समानान्तर कमिटी बनाइसकेका छन् । ७७ वटै जिल्ला कमिटी र महानगर तथा जनवर्गीय संगठनहरु पनि समानान्तर बनाउदै लगेपछि पार्टी विभाजनको रेखा मेटिने संभावना निकै कम हुँदै गएको छ ।

Advertisement

समानान्तर कमिटी बनाउन नेपाल पक्षका नेताहरु अहिले देश दौडाहमा छन् । ‘सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् रूपमा फर्किएको एमालेमा समानान्तर गतिविधिले पार्टी विभाजनको स्पष्ट रेखा कोरेको छ’, एमालेका नेपाल पक्षका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने ।

उनका अनुसार विभाजनको रेखा कोरिएको हो तर विभाजन हुने अवस्थसम्म पुगेको छैन यसलाई रोक्न पार्टी अध्यक्ष केपी ओलीले गल्ती कमजोरी स्वीकार गरी पार्टी मिलाउन खोजे सहजै मिल्ने अवस्था छ ।

‘फागुन २८ को निर्णयहरु सच्याउने, २०७५ जेठ २ गतेको पार्टी संगठनहरु व्यूताउने र त्यहीबाट संगठनका जिम्मेवारी सञ्चालन गर्ने, सर्वोच्च अदालतले समेत प्रतिनिधि सभा विघटनमा गल्ती औल्याएको अवस्थामा त्यसका आत्मआलोचित हुने काम भए पार्टीभित्र भएका समानान्तर कमिटी गठन लगायतका विषयहरु मत्थर हुनेछन् रोकिनेछन’, स्थायी कमिटी सदस्य न्यौपानेले भने ।


प्रधानमन्त्री ओलीले फागुन २८ गते नेपाल पक्षलाई खबर नै नगरी आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला गरेर पार्टीको विधानविपरीत खनाल–नेपाल समूहका नेताहरूको विभागीय र प्रदेश इन्चार्जको जिम्मेवारी खोसेका थिए ।

उनले माओवादी केन्द्र छाडेर ओली समूहमा मिसिन आइपुगेका २३ जना नेतालाई समेत विधानविपरीत केन्द्रीय सदस्य मनोनयन गरेपछि खनाल–नेपाल समूह पनि आफू नै मूलधार भएको दाबी गर्दै समानान्तर गतिविधि गर्ने निष्कर्षमा पुगेको थियो ।

ओलीले गुटको माग पूरा नहुने तर कुनै समस्या भए व्यक्तिगत रुपमा सम्बोधन हुने बताएपछि नेपाल पक्षका नेताहरुसँग विभिन्न माध्यमबाट अलग–अलग कुराकानी गरेर नेपाललाई समूहबाट एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेताहरुलाई ओलीले आफै मनाउने प्रयास गरेका छन् । आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षलाई फूटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन् ।

उनले आफ्ना पक्षका नेताहरु मार्फत नेपाल पक्षका नेताहरुसँग कुराकानी गरिहेका छन् । ‘प्रधानमन्त्रीज्यूले विभिन्न माध्यमबाट हामीहरुसँग कुराकानी अघि बढाउनु भएको छ यद्यपि उहाँहरुको कुरा खास अर्थपूर्ण छैन’, नेपाल पक्षका एक नेताले भने ।

ओलीले नेपाल पक्षका नेताहरुसँग अलग अलग कुराकानी गरिहेका बेला गत हप्ता राष्ट्रपति विद्यादेवी भण्डारी माधव नेपाललाई साथ दिदै आएका झलनाथ खनालसँग भेटघाटका लागि गएकी थिइन । खनालको स्वास्थ्य अवस्था बुझ्ने बहानमा पुगेकी राष्ट्रपतिले एमाले विभाजन हुन नदिन खनालको भूमिका हुनुपर्नेमा जोड दिएकी थिइन । राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई नेपाल खनाललाई फूटाउने प्रयासको रुपमा लिइएको छ ।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अलग अलग पार्टीको रुपमा जान भनेसँगै एकिकृत ‘नेकपा’ विभाजन भयो ।

दुईपार्टी पूर्ववत रुपमा फर्केपछि एमालेभित्र ओली समूहले पार्टीभित्र नेपाल पक्षलाई निषेध गरेको छ । २३ गते सर्वोच्च अदालतको आदेश आएपछि फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटीको बैठक राखी आफू अनुकुल निर्णय गरेपछि खनाल–नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो । सोही अनुरुप अहिले देशभर समानान्तर कमिटी गठन भैरहेका छन् ।

समानान्तर कमिटी गठन भएपछि एमाले विभाजनतर्फ उन्मुख भएको सहजै अनुमान गर्न सकिन्छ । यद्यपि तत्कालै विभाजन हुने अवस्था भने छैन । कानुनी रुपमा माधव नेपाल पक्षसँग केन्द्रीय सदस्यको संख्या र सांसदहरुको संख्या अपुग भएकाले उनीहरु तत्कालै पार्टी विभाजन गरेर जाने अवस्थामा छैनन ।

‘अहिले नेपाल पक्षसँग ४० प्रतिशत केन्द्रीय सदस्य संख्या र ४० प्रतिशत सांसद संख्या पुग्दैन त्यसकारण विभाजन भएर जाने अवस्था छैन’, नेपाल निकट एक नेताले भने । उनका अनुसार अहिले समानान्तर कमिटी बनाएर पछि पार्टीभित्र छलफलको एजेण्डा नबने वा बाहिर बस्नु पर्ने अवस्था आए मात्रै नेपाल समूहले नयाँ पार्टी बनाएर जानेछ ।

‘निर्वाचन भए वा संसद खारेज भएर पार्टीभित्र बस्न नसक्ने अवस्था आए मात्रै नयाँ दल बन्नेछ’, स्रोतले भन्यो ।


नेपाल पक्षका केन्द्रीय सदस्य विजयकुमार पौडेलले दुई साता अघि बसेको केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव अनुसार एमालेभित्र ओलीले टिक्न नदिने र आउँदो निर्वाचनमा पनि ओलीले टिकट दिने संभावना नभएकाले अर्को पार्टी खोल्नुपर्ने आशयको प्रतिवेदन हेर्ने हो भने नेपाल पक्षले तत्कालै पार्टी विभाजन गर्नसक्ने आँकलन गरिन्छ ।

यद्यपि त्यो प्रतिवेदनलाई त्यही बैठकले अस्वीकार गरिदियो । त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले पार्टीभित्रै संघर्ष गर्ने, समानान्तर कमिटी गठन गर्ने निर्णय गर्दै दुई महिने कार्यक्रम घोषणा गरयो ।

सो निर्णय लगत्तै खनाल–नेपाल समूहले सात वटै प्रदेश इन्चार्ज तोकेर सामानान्तर कमिटी बनाउन थाल्यो । एमालेका ७ लाख संगठित सदस्य मध्ये साढे तीन लाख आफ्नो पक्षमा रहेको दावी गर्दे खनाल–नेपाल समूहले युवा, विद्यार्थी र जिल्ला कमिटीहरु बनाउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्ष अप्ठ्यारोमा पार्यो ।

ओली पक्षलाई अप्ठ्यरो पार्दे आन्तरिक संघर्ष गर्ने निर्णयले पार्टीभित्र नेपाल पक्षले सहानुभूति पाउने संभावना बढ्दै गएको छ । जसका कारण तत्कालै पार्टी विभाजन हुनसक्ने संभावना भने टरेको स्रोतको दावी छ ।

‘नेपाल समूहले तत्कालै पार्टी विभाजन गर्नु भएन वा पार्टीभित्रै बसेर आन्तरिक संघर्ष जारी राखेमा नेता कार्यकर्ताहरुको सहानुभूति पाउने संभावना त बढेको छ तर त्यसका लागि समानान्तर कमिटी बनाउ रोक्नुपर्छ’, ओली पक्षका एक नेताले भने । उनका अनुसार प्रधानमन्त्री ओली फागुन २८को निर्णयबाट लचक हुने र नेपाल पक्षले पनि आप्mना कमजोरी स्वीकार गरेमा पार्टी विभाजनको खतरा तत्काललाई टर्नेछ ।

प्रतिक्रिया