शुक्रबार, चैत १६, २०८०

विद्युतको प्रतीक्षामा कालीकोटवासी

मेरोन्यूज २०७७ चैत २९ गते ८:११

मान्म । कालीकोटवासी झण्डै एक वर्षदेखि विद्युतको प्रतीक्षामा छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको सान्तीघाट साना जलविद्युत आयोजना अवरोध भएको १० महिना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासी एक वर्षदेखि विद्युतको प्रतीक्षामा रहेका हुन् ।

सान्तीघाट जलविद्युत आयोजना हालसम्म नबन्दा जिल्ला सदरमुकाममा हाल जेनेरेटरको माध्यमबाट दैनिक दुई घण्टा बत्ती दिने गरिएको छ । कालीकोटवासीलाई भने जलविद्युत आयोजना कहिले बन्ला र विद्युत कहिले आउला भन्ने पिरलो छ ।

यसको मर्मत हुने कुनै आधार नभएकाले विद्युतका पोल र तारका लाइन हेरेर चित्त बुझाउने अवस्था आएको खाँडाचक्र नगरपालिका–१ का स्थानीय प्रेमबहादुर शाहीले बताए । उनले विद्युत नियमित नहुँदा दैनिक कामकाजमा असर पार्ने गरेको बताए ।

कालीकोटका सान्तीघाट जलविद्युत् आयोजना र राष्ट्रिय प्रसारण लाइनका विद्युतका पोल र लाइन गाउँमा आएपनि बत्ती कहिले आउला भनेर बाटो हेरेर बसेको रास्कोट नगरपालिका–६ का विक्रमबहादुर शाहीले बताए । विद्युत तारको लाइन आइपुग्दा बत्ती पनि छिटो सञ्चालन गर्न उनले माग गरे । “नगरका सबै वडामा पोल गाडेर तार तान्ने काम भइसकेको छ तर बत्ती आउने कुनै टुङ्गो छैन”, उनले भने ।

कालीकोटको एक मात्र आयोजना सान्तीघाट जलविद्युत आयोजनाको उत्पादन भइरहेको विद्युत बिग्रेकाले बनाउने काम भइरहेको छ । सान्तीघाटभन्दा राष्ट्रिय प्रसारण लाइन ल्याउने गरी गाउँमा विद्युतीकरणको काम भइरहेको नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।

Advertisement

गाउँमा लाइन विस्तार गरेर ठिक्क पार्ने र राष्ट्रिय प्रसारण लाइन आउनेबित्तिकै गाउँमा बत्ती दिने कार्यालयको योजना रहेको वितरण केन्द्रका प्राविधिक शिवचन्द्र चौलागाईँले बताए । “पहिला गाउँगाउँमा विद्युतका पोल र तार तान्ने काम भइरहेको छ”, उनले भने, “त्यो काम चाँडै सम्पन्न हुन्छ, त्यसपछि राष्ट्रिय प्रसारण लाइन जोड्ने काम हुनेछ ।”

आर्थिक सर्वेक्षण, २०७५ अनुसार कर्णालीका ७३ प्रतिशत जनता विद्युत पहुँचभन्दा टाढा छन् । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये हुम्ला, जुम्ला, कालीकोट, डोल्पा र मुगु जिल्लाका ४३ स्थानीय तहमा अझै विद्युतको पहुँच पुग्न सकेको छैन । कर्णालीका १७ लाख ७० हजार नागरिकमध्ये अझै ७३ प्रतिशत बत्तीविहीन छन् ।

कर्णालीमा नौ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको थियो तर साविक कर्णाली अञ्चलका ८० प्रतिशत नागरिक अँध्यारोमै दिन गुजारा गर्छन् । (रासस)

प्रतिक्रिया