शनिबार, वैशाख ८, २०८१

जनताको विश्वासमाथि ओली सरकारले लात हान्यो :कांग्रेस नेता सिंह

मेरोन्यूज २०७७ चैत २८ गते १४:१४

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरी जनताको विश्वासमाथि ओली सरकारले लात हानेको बताएका छन् । शनिबार काठमाण्डौँको टोखामा भएको एक कार्यक्रममा बोल्दै नेता सिंहले नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्न नहुने भन्दै तत्काल ओलीको विकल्प खोज्नु पर्ने बताए ।

‘प्रधानमन्त्री ओलीले संविधान मिचेर आफू अनैतिक भएको पुष्टि गरिसक्नु भयो,’ उनले भने, ‘अन्तराष्ट्रिय प्रचलन, संवैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागि अयोग्य भइसके । अब ओलीको विकल्प तत्‍काल दिनुपर्छ ।’

नेता सिंहले राजनीतिका ठीक भएका देशको सामाजिक, अर्थिकलगायत सम्पूर्ण क्षेत्रको विकास हुने भन्दै राजनीति गर्ने नेतामा नैतिकता हुन जरुरी रहेको पनि बताए । तर ओलीमा अलिकति पनि नैतिकता नभएको भन्दै ओलीलाई प्रधानमन्त्रीमा बसिरहन दिए आफूहरूको पनि नैतिकतामा प्रश्न उठ्ने बताए ।

विगतका घटनाले यो सरकार भ्रष्टाचारमा लिप्त भएको पुष्टि भइसकेको भन्दै नेता सिंहले ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरि रहेको बताए । नेता सिंहले सरकार परिवर्तन गर्न कांग्रेस एक्लैको बहुमत नपुग्ने हुँदा ढिला भएको बताउदै आफूहरूलाई जनताले प्रतिपक्षमा बस्ने अधिकार दिए पनि कम्युनिष्टहरूले देश सञ्चालन गर्न नसकेका कारण सरकार निमार्णमा अग्रसर भएको प्रस्ट पारे ।

देश बचाउन, लोकतान्त्रिक मुल्यमान्यता बचाउनको लागि भए पनि अहिले कांग्रेसले प्रभावकारी भूमिका खेल्ने अवस्था आएकाले आफूहरू त्यसमा लागि परेको उनको भनाइ छ ।

प्रतिक्रिया