बिहीबार, वैशाख १३, २०८१

आइपिएलमा बैंगलोरको विजयी सुरुवात

मेरोन्यूज २०७७ चैत २८ गते १२:१४

काठमाडौं । १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंलोरले मुम्बई इन्डियन्सलाई हराउँदै विजयी सुरूवात गरेको छ ।

बिराट कोहली कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरले रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्समाथि खेलको अन्तिम बलमा २ विकेटको रोमान्चक जित हात पार्दै विजयी सुरुवात गरेको हो । चेन्नाईको एमए चिदम्बरम रंगशालामा १६० रनको मध्यम लक्ष्य पछ्याएको बैंगलोरले खेलको अन्तिम बलमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

बैंगलोरका लागि एबी डी भिल्लियर्सले सर्वाधिक ४८, ग्लेन म्याक्स्वेलले ३९ तथा कप्तान बिराट कोहलीले ३३ रन बनाएका थिए । वासिङ्टन सुन्दरले १० रन जोडे भने रजत पटिदारलाई ८ रनमा बोल्ड भएका थिए । ४६÷२ को स्थितिबाट कोहलीले ग्लेन म्याक्स्वेलससँग ५२ रनको अर्धशतकीय साझेदारी गर्दै बैंगलोरको इनिंग्स उकासेका थिए ।

बैंगलोरलाई जितका लागि अन्तिम २ ओभरमा १९ रनको आवश्यकता रहेको थियो । जस्प्रित बुम्राहले १९ औं ओभरमा २ चौकासहित १२ रन खर्चिएपछि बैगलोरलाई जितका लागि अन्तिम ओभरमा ७ रनको खाँचो रहेको थियो । मार्को जान्सेनले गरेको अन्तिम ओभरको पहिलो बलमा एबि डी भिल्लीयर्सले १ रन लिएका थिए ।

त्यसपछि क्रिजमा नयाँ आएका हर्षल पटेलले २ रन लिए । तेस्रो बलमा पटेलले १ रन लिँदै एबि डी भिल्लीयर्सलाई स्ट्राइक दिए । त्यसपछि चौथौं बलमा २ रन लिन खोज्दा एबि डी भिल्लीयर्स रन आउट हुन पुगे । बैंगलोरलाई जितका लागि अन्तिम २ बलमा २ रनको आवश्यकता रहँदा मोहम्मद सिराजले पाँचौ बलमा १ रन तथा अन्तिम बलमा हर्षल पटेलले १ रन लिंदै बैंगलोरलाई रोमान्चक जित दिलाए ।

मुम्बईका लागि बलिंगमा जस्प्रित बुम्राह र मार्को जान्सेनले समान २–२ तथा क्रुनाल पान्ड्या र ट्रेन्ट बोल्टले समान १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । मुम्बईका लागि ओपनर क्रिस लिनले सर्वाधिक ४९ रन बनाए ।

यस्तै सूर्यकुमार यादवले ३१, इशान किशनले ३१, कप्तान रोहित शर्माले १९ तथा हार्दिक पांड्याले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैंगलोरका लागि दायाँ हाते पेसर हर्षल पटेलले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए ।

पटेललाई यो सिजन बैंगलोरले टिममा भित्र्याएको हो जसले यस अघिको सिजन दिल्लीबाट खेलेका थिए । यस्तै कायल जेमिसन र वासिंगटन सुन्दरले समान १–१ विकेट लिए भने युजभेन्द्र चहल र मोहम्मद सिराज विकेटविहिन रहे ।

प्रतिक्रिया