शुक्रबार, वैशाख ७, २०८१

निजामती कर्मचारीहरू ‘झिंगा टँसाई’ सोचबाट मुक्त हुन नसकेको उपप्रधानमन्त्रीको टिप्पणी

मेरोन्यूज २०७७ चैत २५ गते १३:५९
Photo: RSS

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन ‘झिंगा टँसाई’ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् ।

बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा ‘झिंगा टँसाई’ सोच प्रमुख समस्याको रूपमा रहेको बताएका हुन् ।

समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि उनले बताए । त्यसैले निजामती प्रशासनले परिणामलाईभन्दा पनि प्रक्रियालाई जोड दिने गरेको उनले बताए ।

उपप्रम पोखरेलले भने,‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिएतापनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रूपमा यसलाई बुझ्नुपर्दछ भन्ने म यहाँहरूसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ ।’

कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिच्किचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको बताए ।

उनले भने, ‘कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन । यसका पछाडि केही यस्ता कारणहरू छन जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जीर्ण बनाउँदै लगेका छन् भनेर भन्न सकिन्छ । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिच्किचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृत्तिजन्य संस्कारका ऐंजरुहरू कर्मचारी तन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दूरी बढाउँदै लगेको छ ।’

कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउन सकिने बताए ।

कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्राशासनको मुख्य चुनौती भएको पनि उनले बताए ।

प्रतिक्रिया