शुक्रबार, चैत १६, २०८०

ओली-नेपाल दुई ध्रुवमा

राष्ट्रपति–खनाल भेट : जोगिएला एमाले ?

मेरोन्यूज २०७७ चैत २३ गते २०:३०

काठमाडौं । शनिबार दिउँसो राष्ट्रपति कार्यालयबाट नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको घरमा फोन गयो–‘आज महामहिम सम्माननीय राष्ट्रपतिज्यू आउने सम्भावना छ कतै नजानु होला ।’ राष्ट्रपति भएपछि विद्यादेवी भण्डारी पहिलो पटक खनाल निवास आउने खबरले केही कौतुहलता लागेपनि खनाललाई त्यसलाई सामान्य रुपमा लिए ।

त्यहीदिन डल्लुस्थित इतिहासकार महेशराज पन्तको पुस्तकालय अवलोकन गर्ने कार्यक्रम तय गरेकी राष्ट्रपति भण्डारीले खनाल निवास पनि पुग्ने कार्यक्रम बनाइन् । दोस्रो पटक राष्ट्रपति हुने बेलमा खनालसँगै लामै कुराकानी गरेकी भण्डारीले त्यसयता अनौपचारिक कुराकानी खासै गरेकी थिइनन् । त्यतिबेला खनालले पनि राष्ट्रपतिमा इच्छा देखाएको तर नपाएपछि उनीहरुबीच तीन वर्ष यता अनौपचारिक भेटघाट र कुराकानी भएको थिएन ।

पूर्वप्रधानमन्त्रीसँगको औपचारिक भेटघाट र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादका क्रममा सामान्य कुराकानीबाहेक त्यसयता खनालसँग राष्ट्रपति भण्डारीको कुराकानी नभएको स्रोतको दावी छ । तर शनिबार भने राष्ट्रपति भण्डारीले खनालसँग करिब एक घण्टा कुराकानी गरेर फर्केकी थिइन् । खनालको स्वास्थ्य अवस्थाबाट शुरु भएको कुराकानीमा मुलुकको स्वास्थ्य अवस्था र पार्टी जीवनभित्र बिग्रदै गएको अवस्थाका बारेमा चर्चा मात्रै भएन, एमाले विभाजन हुन नदिन गरिने प्रयत्न र प्रयासमा खनालको साथ सहयोगको अपेक्षा समेत राष्ट्रपतिबाट भयो ।

‘राष्ट्रपतिज्यूले एमाले विभाजन हुनु राम्रो होइन भन्नुभयो खनालले पनि पार्टी विभाजन हुनुहुँदैन त्यसका लागि आफूहरु चिन्तित रहेको बताउनुभयो’, खनाल निकट स्रोतले भन्यो । यद्यपि खनाल आफैँले पनि राष्ट्रपतिबाट ठूला पार्टी विभाजन हुनु राम्रो होइन एमालेमा पनि त्यस्तो नहोस् भन्नुभयो भनेर शनिबार संचारकर्मीलाई बताएका थिए । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई अलगअलग पार्टीको रुपमा जान भनेसँगै ‘नेकपा’ विभाजन भयो । दुईपार्टी पूर्ववत् रुपमा फर्केपछि एमालेभित्र आन्तरिक विवाद बढ्दै गएको छ ।

त्यो विवादले देशभर समानान्तर कमिटी बनाउने काम खनाल–नेपाल पक्षले गरिरहेका छन् । गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटीको बैठक राखी आफू अनुकूल निर्णय गरेपछि खनाल–नेपाल पक्षले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो । सोहीअनुरुप सिंगो गण्डकी प्रदेशलगायत मुलुकका धेरै जिल्लामा समानान्तर कमिटी बनेका छन् । जसले गर्दा खनाल–नेपाल पक्षले एमालेलाई विभाजन गर्नसक्ने भय कायमै छ ।

Advertisement

नेपाल पक्षका केन्द्रीय सदस्य विजयकुमार पौडेलले गत हप्ता केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रस्तावअनुसार एमालेभित्र ओलीले टिक्न नदिने र आउँदो निर्वाचनमा पनि ओलीले टिकट दिने संभावना नभएकाले अर्को पार्टी खोल्नुपर्ने आशयलाई त्यही बैठकले अस्वीकार गरिदियो ।

त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले पार्टीभित्रै संघर्ष गर्ने, समानान्तर कमिटी गठन गर्ने निर्णय गर्दै दुईमहिने कार्यक्रम घोषणा गर्यो । सो निर्णयलगत्तै खनाल–नेपाल समूहले सातवटै प्रदेश इन्चार्ज तोकेर सामानान्तर कमिटी बनाउन थाल्यो । एमालेका सात लाख संगठित सदस्यमध्ये साढे तीन लाख आफ्नो पक्षमा रहेको दाबी गर्दै खनाल–नेपाल समूहले जनवर्गीय संगठनको भेलाबाट कमिटी र जिल्ला कमिटी बनाउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्ष अप्ठ्यारोमा परेको छ ।

ओली पक्ष अप्ठ्यारोमा परेपछि राष्ट्रपति भण्डारी पार्टी विभाजन हुन नदिने कोसिसका साथ खनाललाई भेट्न पुगेकी हुन् भन्ने अनुमान गरिएको छ । भेटको मुख्य उद्देश्य नै खनालमार्फत पार्टी विभाजन रोक्न कोसिस गर्नु, सकेसम्म खनाल निकट नेता कार्यकर्तालाई ओली समूहमै क्रियाशील गराउनु वा विरोधका आवाज मत्थर बनाउनु रहेको थियो । खनालले राष्ट्रपतिसँगको भेटका क्रममा पार्टी विभाजन हुन नदिने तर आन्तरिक संघर्ष भने जारी राख्ने जवाफ दिएका थिए ।

तत्कालीन ‘नेकपा’ विभाजन हुनुहुँदैन भनेर निकै कोसिस गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार एमालेका पूर्वअध्यक्ष एवं हालका वरिष्ठ नेता खनाल भेट्न जानुको उदेश्यपनि एमालेभित्र देखिएको विवादलाई मत्थर पार्नु नै हो । ‘उहाँले पार्टी विभाजन नहोस् भन्ने उद्देश्य राख्नु स्वाभाविक हो त्यसलाई अन्यथा मान्न मिल्दैन’, राष्ट्रपति निकट स्रोतले भन्यो । उनका अनुसार राष्ट्रपति भण्डारीमा अझै सक्रिय राजनीतिको चासो कायमै रहेको छ ।

दोस्रोपटक राष्ट्रपति बन्नु अघि भण्डारीले पूर्वराष्ट्रपतिले प्राप्त गर्ने सबै सेवासुविधा त्यागेर एमालेको पार्टी राजनीतिमा आउने प्रयास गरेकी थिइन् । उनी पार्टी राजनीतिमा प्रवेश गर्ने देखिएपछि ओली र नेपालले भण्डारीलाई पुनः राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए ।

त्यतिबेला खनाल आफूपनि राष्ट्रपति हुन चाहन्थे तर भण्डारीलाई पठाउने विषयमा ओली नेपाल एक भएपछि खनाल मौन बसेका थिए । अहिले पनि राष्ट्रपतिमा पार्टी राजनीति गर्ने र मुलुकको कार्यकारी बन्ने इच्छा कायमै रहेको उनको अभिव्यक्ति र गतिविधिबाट झल्कन्छ । पार्टी राजनीतिमा उनको लगाव कायमै रहनु र शनिबार खनाल निवास पुग्नुलाई त्यसअर्थमा पनि अर्थ्याउन थालिएको छ ।

प्रतिक्रिया