शुक्रबार, चैत १६, २०८०

विद्यार्थीद्वारा मूल्यवृद्धिकाे विराेध

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण त्रासमा

निगमका अधिकारी भन्छन्, शेयर बजार झै पेट्रोलियम घटबढ भइरहन्छ

किरण अधिकारी २०७७ चैत २३ गते १९:५७

काठमाडौं । ‘पेट्रोलियम पदार्थ शेयर जस्तै घट्ने, बढ्ने हो । मिनेट–मिनेटमा बढ्छ, घट्छ । बढ्दा विरोध गर्ने तर घट्दा किन स्वागत गरिँदैन ।’ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्र बुझाउन बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयमा पुगेका विद्यार्थीसँग निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उक्त भनाइ राखे ।

के उनले भनेजस्तै शेयरको मूल्य जस्तै इन्धनको मूल्य पनि घटबढ भइरहन्छ त ? हो, विविध कारणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आइरहन्छ । पेट्रोलियमको माग तथा पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकले लिने निर्णयलगायत आधारमा विश्वबजारमा इन्धनको मूल्यमा घटबढ देखिँदै आएको छ ।

तर नेपालमा भने अन्तर्राष्ट्रिय बजारको मूल्यले स्थानीय बजारलाई त्यतिसारो प्रभावित बनाएको पाइँदैन । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार नेपालमा पेट्रोलियमको मूल्य समायोजन गरिँदै आइएको जिकिर गरे पनि मूल्य समायोजनमा निगमको मनमौजीले काम गरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहँदा पनि निगमले किन भाउ बढायो ?

आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा पठाएको नयाँ मूल्यसूची अनुसार निगमले प्रत्येक १५/१५ दिनमा पेट्रोलियमको मूल्य समायोजन गर्नुपर्ने हो । तर मूल्यवृद्धिका कारण हुने आलोचना सहन नसक्ने, दबाब थेग्न नसक्नेलगायत कारणले नियमित मूल्य समायोजन भएको पाइँदैन । पेट्रोलियम पदार्थ आयात गरेर बिक्री वितरण गर्ने ठेक्का पाएको निगमले कहिलेकाहीँ सरकारको चेपुवामा परेर पनि आफैँले बनाएको मूल्य समायोजन कार्यविधिको उल्लंघन आफैँ गर्दै आएको छ ।

Advertisement

पछिल्लो उदाहरणका रुपमा सन् २०२० को उत्तरार्धदेखि विश्वबजारमा इन्धनको मूल्यमा निरन्तरजसो वृद्धि भइरहेको छ । सोहीअनुसार नै आइओसीले निगमलाई बढेको मूल्यमा पेट्रोलियम बिक्री गरिरह्यो, तर नेपालमा मूल्य समायोजन हुन सकेन । कारण थियो, सरकारले प्रतिनिधिसभा विघटन सिफारिश गरेपछि सडकमा देखिएको जनआक्रोश । सरकार विरोधी जनमत बढिरहेको अवस्थामा निगमले पनि मूल्य बढाउने साहस देखाउन सकेन । फलस्वरुप निगमको घाटा चुलिँदै गयो । अन्ततः घाटा थेग्न नसक्ने अवस्थामा पुगेपछि मात्र निगमले मूल्य समायोजन गर्यो ।

यसबाट पनि के पुष्टि हुन्छ भने, निगमका कार्यकारी निर्देशक पौडेलको मूल्य समायोजनलाई सर्वसाधारणले ‘हलुका’ रुपमा लिनुपर्छ भन्ने भनाइ व्यवहारतः मेल खादैन । परिस्थिति अनुकूल हुँदा मूल्य बढाउने र अन्य अवस्थामा चुप लागेर बस्ने निगमको परिपाटीबाट सर्वसाधारण आजित भएका छन् । उसोत निगमलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको बेला नेपालमा पनि मूल्य बढाउने तर विश्वबजारमा घटेको बेला नेपालमा मूल्य नघटाउने आरोप पनि लाग्दै आएको छ ।

मूल्य समायोजन गर्न आट नगर्दाको परिणामस्वरुप विश्वबजारमा पेट्रोलियमको मूल्य स्थिर रहँदा पनि नेपालमा इन्धनको मूल्यवृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य नबढ्दा किन नेपालमा किन मूल्यवृद्धि त ? निगमको सोझो जवाफ छ– सञ्चित नोक्सानी न्यूनीकरण गर्न । तर निगमले साच्चै अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको भए आजका दिन विद्यार्थीले मूल्यवृद्धिको विरोध गर्नुपर्ने अवस्था सिर्जना हुने थिएन ।

पेट्रोलको मूल्य वृद्धिको विरोधमा नेविसंघद्वारा आयल निगम अगाडि धर्ना

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा स्थिर रहेको अवस्थामा नेपालमा मूल्य बढाएको भन्दै युवा विद्यार्थी सडकमा देखिएका छन् । सोमबार नेकपा (एमाले) का नेता झलनाथ खनाल–माधव नेपाल पक्षका विद्यार्थीले मूल्यवृद्धिको विरोध गरे । उनीहरुले आयल निगम घेराउ गर्दै मूल्यवृद्धि फिर्ता लिन दबाब दिए ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा निगम घेराउमा पुगेको विद्यार्थीले मूल्यवृद्धिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएकाले तत्काल फिर्ता लिने आग्रहसहितको ज्ञापनपत्र पेश गरे । ज्ञापनत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले विद्यार्थीको माग जायज भएकाले आफूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए । सँगसँगै उनले घाटा खाएर निगमले तेलको व्यापार गर्न नसक्ने पनि बताए ।

आफू निगमको नेतृत्वमा आएदेखि संस्था सुधारको काम अगाडि बढाएको, त्यसको नतिजा सर्वसाधारणले अनुभूत गर्न थालेको र कोभिड–१९ को समयमा निगमले खेलेको भूमिकालाई नजरअन्दाज नगर्न उनले आग्रह गरे । ‘पेट्रोलियम पदार्थमा सन्तुष्टि ठूलो हो, सबैमा सस्तो भन्ने हुँदैन आवश्यकता पूरा हुनुपर्छ, महँगीमा होइन, समयानुसार परिवर्तन हुनुपर्छ’, उनले भने ।

आइओसीबाट मूल्य बढेर नआएको भए पनि निगमले किन मूल्य बढायो ? उनी भन्छन्, ‘आइओसीले अप्रिल १ मा निगमलाई नयाँ मूल्यसूची पठाउँछ, नेपाल पेट्रोलियम पदार्थमा पूर्णतया भारतमा निर्भर छ र भारतले पनि अन्य देशबाट कच्चा तेल ल्याएर प्रशोधन गर्ने गरेको कसैले बिर्सनहुँदैन ।’ उनले सकारात्मक सोच राख्न र संस्था डुब्ने स्थितिमा पुग्ने गरी विरोध नगर्न आग्रह गरे ।

कैलाली टीकापुरका सुभास हमाल पेट्रोल नपाएर रुनुभन्दा मूल्य बढ्दैमा आत्तिने र डराउने नभई सहज रुपमा उपलब्ध हुने धारणा सबैले बनाउनुपर्ने बताउँछन् । उनले विरोधका नाममा विरोध मात्र गर्ने नभइ समाधान खोज्नुपर्नेमा पनि सरोकारवालालाई सुझाव दिए ।

पछिल्लो समय ग्यास तथा पेट्रोल बोकेका पानी जहाज समुद्रमा अड्किँदा एशियामा कच्चा तेलको आयात कम हुन गएको छ । जसका कारण मूल्यवृद्धि हुन थालेको हो । युरोपमा कोरोना भाइरसको दोस्रो लहर देखिएको तथा कडाखालका लकडाउन भएका कारण पनि तेलको व्यापारमा अस्थिरता आएको अर्थशास्त्रीको भनाइ छ ।

अर्थशास्त्रका उपप्राध्यापक केदार घिमिरेले भन्छन्, ‘अन्तर्राष्ट्रिय क्षेत्रका केही स्थानमा प्राविधिक अवरोध भएकै कारण इन्धनको मूल्यमा समस्या देखिएको हो । मागअनुसार आपूर्ति गर्दा हुने समस्याबाट बच्न निगमले चालेको कदमलाई सहजरुपमा लिनुपर्छ ।’ उनले थपे, ‘यसको मतलब ग्यास, तेल नियमित महँगो बनाऊ भनेको होइन ।’ विभिन्न मार्गमा जहाज अड्किँदा एसियामा आउने कच्चा तेलमा मूल्यवृद्धि भएको उनको भनाइ छ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया