शुक्रबार, वैशाख ७, २०८१

बोरिङ जडान थालेपछि किसानको मुहारमा चमक

मेरोन्यूज २०७७ चैत २३ गते १०:२७

महोत्तरी । आफ्ना खेतका गह्रामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालेपछि महोत्तरीको मटिहानी नगरपालिकाका किसान खुसी भएका छन् ।

जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो ।

वडा नं ६ मा अहिले एकसाथ १० वटा यस्ता बोरिङ जडानको काम थालिएको छ । “पानीबेगर खेती जाँगर मरेका बेला बोरिङ जडानको काम थालिएको छ”, किसान शङ्कर साहले भने, “अब बल्ल हामी किसानका लागि केही हुँदैछ भन्ने आश जागेको छ ।”

यहाँ जडान थालिएका १० वटा बोरिङले ५० बिघा खेतमा सिँचाइ सुविधा पुर्‍याउने भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

शङ्करजस्तै यहीकै अर्का किसान रामसेवक साह पनि अब बोरिङ जडान भएपछि समयमा बाली लगाउन पाइने आशमा छन् । “हेर्नोस् न, भन्याबेला पानी हुँदैन, आकासे पानीको भरले कहिल्यै समयमा बाली लगाउन पाइएको छैन”, रामसेवकले भने, “खै अब चै काम थाल्या छन्, केही हुन्छ भन्ने विश्वास बढेको छ ।”

भारतसँग सीमा जोडिएको उक्त नगरपालिकाका मटिहानी, ढेकाहा, वर्दाहा, आवर, धिरापुर र सिमरदही तरकारी उत्पादनको उर्बर ठाउँ मानिन्छन्, तर, खेतीका लागि मुख्य कुरा सिँचाइ नै नहुँदा अपेक्षित उत्पादन लिन नसकेको किसानको गुनासो छ ।

मटिहानीमा बोरिङ जडानको काम प्रदेश २ सरकारको कृषि प्रवर्दन कार्यक्रमअन्तर्गत थालिएको र यसले अब निरन्तरता पाउने नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले किसानको खेतका गह्रागह्रामा पानी पुर्‍याउने नीति अघि बढाएसँगै स्थानीय पहलकदमी पनि बढेको हुँदा सिँचाइसम्बन्धी कार्यक्रम विस्तार हुँदै जाने नगरप्रमुख मण्डलको भनाइ छ ।

अहिले बोरिङ जडान थालिएको क्षेत्रमा १०० भन्दा बढी किसानले सिँचाइ सुविधा पाउने भएका छन् । दुई/चार कट्ठा जग्गा मात्र भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने मण्डलको भनाइ छ । (रासस)

प्रतिक्रिया