बुधबार, वैशाख १२, २०८१

मेरो न्यूज टिप्पणी

आफ्नै नेतृत्वमा सरकार बनाउन किन पन्छिरहेका छन्,सभापति देउवा ?

मेरोन्यूज २०७७ चैत २२ गते १३:५०

काठमाडौँ । प्रतिनिधि सभा पुर्नस्थापना भएपछि सत्ता समीकरणको खेल चलिरहेकाबेला नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार दिउँसो २ बजेका लागी बोलाईएको थियो । कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने आवाज पार्टीभित्र उठिरहेका बेला बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरु पार्टी कार्यालय सानेपामा उपस्थित हुँदा पनि बैठक निर्धारित समयमा बस्न सकेको थिएन ।

बैठक अघि नै एजेण्डामा सहमति कायम गर्नेबारे शीर्ष नेताहरु दिनभर छुट्टै अनौपचारिक छलफलमा जुटे । अनौपचारिक छलफलमा पनि खास सहमति जुटेन । शुक्रबार साँझ ७ बजेसम्म पनि बैठकबस्ने सुर नदेखेपछि धेरै केन्द्रीय सदस्यहरुले बैठक स्थगित हुने आँकलन गरेका थिए । तर त्यसको केही समयपछि बैठक सुरु भयो ।

बैठकअघि शीर्ष नेताहरुबीच भएको सहमति अनुसार बैठकमा केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्ने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरियो । तर त्यही निर्णयमा सहमति गर्न पाँच घण्टा बढी केन्द्रीय समितिको बैठक बस्न नसक्नुको कारण नयाँ सरकार गठनबारे काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको अनिच्छानै रहेको कांग्रेस नेताहरु बताउँछन् । देउवा तत्काल सरकारबारे कुनै निर्णय गर्न नहुने भनी बैठकमा अड्डि कसेका थिए । छलफलमा नेता रामचन्द्र पाैडेलले जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महताेलाई मिलाउने जिम्मा मेराे भाे तर आजै निर्णय गरिहालाैँ भन्ने प्रस्ताव गरेपछि मात्रै देउवा गलेका थिए । स्राेतका अनुसार काँग्रेस नेताहरुकै अगाडि पाैडेलले राजपाका केही नेताहरूलाई फाेन गरेर सरकारबारे काँग्रेसले निर्णय गर्न लागेकाे र त्यसमा साथ दिन आग्रह गरेका थिए ।
सभापति देउवाले थोरै पहल गर्ने हो भने उनको मुख नजिकै प्रधानमन्त्रीको पद आईसक्यो । तर मुखैमा आएको प्रधानमन्त्रीको पदमा देउवाले खासै रुचि देखाएका छैनन् । राजनीतिमा पदका लागि जे गर्न पनि पछि नपर्ने बिम्बनै बनाएका देउवाले यसपटक प्रधानमन्त्रीमा रुचि देखाईरहेका छैनन् ।

‘पार्टीले भन्छ भने ल नयाँ सरकार निर्माणका लागि पहल गरौ’, देउवाले केन्द्रीय समितिको बैठकमा भनेका थिए । सभापति देउवाले केन्द्रीय समितिको बैठकअघि कांग्रेस शीर्ष नेताहरुको अनौपचारिक बैठकमा पटक/ पटक नयाँ सरकारबारे निर्णय गर्ने परिस्थिति अनुकुल बनिनसकेको दोहोर्‍याए ।

जसपाको भूमिका शंकास्पद हुनु तथा केपी पक्षमा रहेका महन्थ ठाकुर र राजेन्द्र महतो सो पार्टीमा निर्णायक हुनु, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिईसकेको अवस्थामा कांग्रेसले अहिलेनै निर्णय लिनु हतारो हुने देउवाको भनाईलाई पनि शीर्ष नेताहरुले वेवास्था गरे । तर रामचन्द्र पौडेल र कोईराला क्याम्पको दवावपछि उनले सरकारको राजिनमा माग गर्ने र कांग्रेस नेतृत्वमा सरकार बनाउन निर्णय गर्न बाध्य भए ।

सभापति देउवाले बाध्यताबीच गरेको सो निर्णय कार्यान्वयन गर्न आफैले पहल लिने सम्भवना छैन । उनी निकट कांग्रेसका एक नेता भन्छन, ‘सभापतिजीको मुड हेर्दा अरुले नै वातावरण बनाएर प्रधानमन्त्रीको कुर्सी अगाडी राखिदियो भने सो कुर्सीमा बस्लान् । आफै सो कुर्सीमा बस्ने वातावरण बनाउन पहल गर्ने सम्भावना न्युन देखिन्छ । ’


एमाले नफुट्ने र जसपा पनि नयाँ सरकार बनाउने तहमा पुगे मात्रै देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन निर्णायक पहल लिने देखिन्छ । अन्यथा ‘अर्लि इलेक्सन’को वातावरण रहिरहेसम्म देउवाले कांग्रेस नेतृत्वमा सरकार बनाउन निर्णायक पहल लिने सम्भावना न्युन रहेको छ । काँग्रेसमा अहिले बिँड(पाेैडेल) तातेकाे हाे, ताप्के(देेेउवा) तातेकाे हाेईन भन्ने देेेेउवा निकटकाे ठहर छ । प्रधानमन्त्री बन्न देउवाले ईच्छा नदेखाउनुको मुख्य कारण भनेकै आफ्नो पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष, जसपाको एजेण्डासँग उनको सम्बन्ध, प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध मुख्य हुन् ।

पार्टीभित्रको शक्ति संघर्ष
सभापति देउवाको भित्रि चाहना ‘अर्लि इलेक्सन’ हो । केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेर प्रतिनिधिसभा भंग भई मंसिरमा निर्वाचन घोषणा हुँदामात्रै आफुलाई पार्टीभित्रको शक्ति संघर्षमा फाईदा हुने देउवाको आँकलन छ । नेपाली कांग्रेसको भदौमा हुने महाधिवेशन टरोस् भन्ने चाहना राखेका देउवाले ‘अर्लि इलेक्सन’लाई नै बढी जोड गरेका छन् ।

मंसिरमा निर्वाचन घोषणा भए स्वतः महाधिवेशन सर्छ । महाधिवेशन सर्दा संवैधानिक जटिलता आएपनि प्रधानमन्त्री ओलीले अध्यादेश वा संविधान संसोधन मार्फत सो जटिलता फुकाईदिने उनको अपेक्षा छ ।

मंसिरको निर्वाचनमा पार्टी सभापतिको रुपमा आफुले टिकट दिन पाउने र निर्वाचनपछि आफु संसदीय दलको नेतामा स्वभाविक रुपमा बहुमतमा पुग्ने उनको हिसाब छ । एमाले फुटको संघारमा रहेको, विप्लवको शान्तिपुर्ण राजनीतिमा आगमनसँगै माओवादी केन्द्रपनि कमजोर बन्ने अवस्थामा पुगेकाले काँग्रेसले स्वतः बहुमत प्राप्त गर्ने र पाँच वर्ष आफु ढुक्कले प्रधानमन्त्री बन्ने देउवाको दाउँ छ ।


मंसिरमा निर्वाचन नभई आफु महाधिवेशमा जानु परेमा देश र विदेशी शक्ति केन्द्र लागेर आफुलाई पार्टी सभापतिमा हराउने योजना बनेको उनमा शंका छ । विशेषत नेता विमलेन्द्र निधिले पार्टीभित्र अध्यक्षको दावी गर्दै उम्मेदवारी दिने बताएपछि देउवा बढी नै झस्केका छन् । निधिले देशभरका आफ्ना कार्यकर्तालाई फोन गर्दै सभापतिमा सहयोगका लागि आग्रह गर्ने र अब देउवाको काम छैन भन्दै क्याम्पेनिङ गरिरहेकाले उनलाई सबैभन्दा बढी झस्काएको हो ।

देउवाका ‘किचन क्याविनेट’मा रहेका नेताहरुले निधि जित्न नभई हराउन मैदानमा आउन खोजिरहेको बताएपछि उनी झन बढी शंकित बनेका हुन् ।
मुख्यतः भारतले कांग्रेसमार्फत हिन्दु राज्यको एजेण्डा स्थापित गर्न खोजेकोमा देउवा बाधक बनिरहेका छन् । अमेरिका र युरोपियन युनियनका प्रिय रहेका देउवा उनिहरुको एजेण्डा विपरित हिन्दु राज्यको एजेण्डालाई बोकेर हिँड्न चाहेका छैनन् ।

दक्षिणले हिन्दु राज्यको लागि देउवालाई तिव्र दवाव दिईरहेको छ । देउवाले त्यो एजेण्डा स्वीकार नगरे कट्टर हिन्दुवादीको पहिचान बनाएका शेखर कोईराला वा अन्य कुनै नेतालाई कांग्रेस सभापतिमा स्थापित गर्ने भारतीय योजना रहेको देउवाको बुझाई छ ।

त्यसैले अहिले निर्वाचन घोषणा भए तत्काललाई महाधिवेशन सारेर नयाँ सरकार बनाएपछि महाधिवेशन गर्ने र पाँच वर्ष ढुक्कले प्रधानमन्त्री बन्न पाईने सोचमा देउवा रहेका छन् । आफु प्रधानमन्त्री निर्वाचित भए लगत्तै महाधिवेशन गरे पाँच वर्षे प्रधानमन्त्रीको रुपमा स्वभाविक रुपमा अन्य पक्षका नेता, कार्यकर्ताहरु आफ्नो पक्षमा खुल्ने तथा मन्त्री पद दिएर कोइराला क्याम्पका धेरै नेताहरु चोर्न सकिने हिसाब उनको छ । यस्तै विमलेन्द्र निधिलाई पनि उपप्रधानमन्त्री र गृहमन्त्री दिएर आफ्नो सारथि बनाउने देउवाको दाउ छ ।

जसपासँगको एजेण्डा
जसपा मुख्य माग रेशम चौधरीको रिहाई र सरकारमा सहज सहभागिता हो । चार वर्ष सरकारबाहिर रहँदा धेरै चिज गुमाएको महशुस गरेको जसपा रेशम चौधरीको रिहाइलाई प्रमुख एजेण्डा बनाएर सरकारमा जान खोजिरहेको छ ।

यस सन्दर्भमा विगत हेर्ने हो, भने रेशम चौधरी र कांग्रेस सभापति देउवा दुई धु्रवका नेता हुन् । टिकापुर घटना हुँदै गर्दा अखण्ड सुदुर पश्चिम आन्दोलनको भित्री सहयोगी देउवा थिए । कैलाली, कञ्चनपुरलाई थारुहटमा समेट्नुपर्ने माग राखेर गरिएको आन्दोलनमा मुख्य कमाण्डर नै रेशम चौधरीे थिए ।

सुदुरपश्चिमकै डडेल्धुरामा घर भएका देउवा अखण्ड सुदुरपश्चिम आन्दोलनका समर्थकहरुलाई चिढ्याउन चाहँदैनन् । गत निर्वाचनमा आफु डडेल्धुरा र पत्नि आरजुलाई कैलालीबाट उठाएका देउवा यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट आफु र पत्नी आरजुलाई उठाउने तयारीमा छन् ।

थारुहट आन्दोलनका नेता चौधरीलाई छाड्ने शर्तमा सरकारमा गए अखण्ड सुदुरपश्चिम पक्षधर पहाडे समुदाय भड्कने र सुदुरपश्चिम क्षेत्रमै कांग्रेसले चुनाव हार्ने डर देउवालाई छ । देउवाले जसपासँग गठबन्ध गर्न नचाहनुको अर्को कारण मधेसको भोट बैंक हो । विगतमा पहाडलाई कम्युनिष्टको भोट बैंक र तराई÷मधेसलाई कांग्रेसको भोट बैंकको रुपमा लिईन्थ्यो । तर मधेसवादी दलको उदयसँगै मधेसमा कांग्रेसको भोट बैंक नराम्ररी क्षति भयो ।


मध्य मधेसमा कांग्रेसलाई नै उछिन्ने गरी मधेसवादी दलको वर्चश्व स्थापित हुनपुग्योे । त्यसैले कांग्रेस सभापति देउवा मधेसवादी दलको रुपमा पहिचान बनाएको जसपालाई मधेसमा स्थापित हुनेगरी कुनै सम्झौता गर्ने मुडमा छैनन् । कम्युनिष्टहरु फुटेको अवस्थामा पहाडमा सहजै कांग्रेसले जित्ने र मधेसमा जसपालाई रोक्ने रणनीति देउवाले अंगिकार गरेका छन् ।

जसपाभित्र अहिले केपी ओलीको सरकारलाई समर्थन गर्नुपर्छ भन्ने धारको नेतृत्व महन्थ ठाकुर सरकारका कारण तिव्र असन्तुष्टिमा रहेको जसपा फुट्ने अवस्थाको सिर्जना भए त्यसले पनि सबैभन्दा बढी फाईदा कांग्रेसलाई नै हुने हो ।

त्यसैले केहि समय नहतारिएर जसपाको निर्णयको पर्खाईमा देउवा छन् । तर पार्टीभित्रको दवावका कारण शुक्रबार सरकारको राजिनामा माग्ने निर्णय कांग्रेसले गरेपनि देउवा अझै जसपाको निर्णयको पखाईमा छन् ।

प्रम ओलीसँगको देउवा सम्बन्ध
प्रमुख प्रतिपक्षी दलका नेता भएपनि प्रधानमन्त्री केपी ओलीको हरेक निर्णयहरुमा देउवा प्रायः मौन जस्तै छन् । संसद विघटनजस्तो गैरजिम्मेवारपूर्ण कार्यको पनि उनले खुलेर बिरोध गरेनन् ।

अझ कतिपय अवस्थामा त ओलीले गरेका कामको समर्थन गर्न पनि देउवा पछि पर्दैनन् । संवैधानिक निकायमा नियुक्ति होस् वा अन्य स्वार्थपुर्ण कार्यहोस् ओली–देउवाको कुरा मिलेको आभाष हुन्छ । कांग्रेसले नियुक्त गरेका राजदूतहरु फिर्ता गर्दा राजदुतको रुपमा जापानमा रहेकी देउवाको सासु प्रतिमा राणा फिर्ता भइनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जयबहादुर चन्दसम्मको नियुक्तिले ओली–देउवा घनिष्ठता प्रतिबिम्बित गर्छ । अहिलेपनि केपी ओलीले संसदको अंक गणित परिवर्तन गर्नुपर्छ त्यसका लागि निर्वाचन मात्रै एउटा उपाय हो भनिरहँदा ‘अर्लि इलेक्सन’मा यी दुईको कुरा मिलिसकेको आभाष हु्न्छ ।

पार्टीभित्रका बिरोधीलाई तह लगाउन समेत देउवाले ओलीको साथ लिने गरेका छन् । पछिल्लो समय नियोजित रुपमै सम्पत्ति शुद्धिकरण विभागले देउवा पत्नी आरजुको सम्पत्ति छानविन गरिरहेको भन्ने समाचारहरु प्रकाशन भए तर त्यसको सत्यता पुष्टि गर्ने कुनै आधार देखिएन ।

त्यो समाचार आएपछि कतिपयले देउवालाई कमजोर पार्न काँग्रेसभित्रैबाट चलाईएको अफवाहको रुपमा लिएका छन् । कतिले त्यसलाई ओलीले देउवालाई तर्साउन चलाएको हल्लाको रुपमा पनि लिएका छन् । तर यो सम्पत्ति शुद्धिकरणको विषयपनि कहीँ न कँही सत्ता समिकरणसँग जोडिएको राजनीतिक वृत्तमा आँकलन गरिएको छ ।

प्रतिक्रिया