शनिबार, वैशाख ८, २०८१

पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न

मेरोन्यूज २०७७ चैत २२ गते ९:०१

पर्वत । पर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको भवन पुनःनिर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको पाँच वर्षको अवधिमा प्रगति विवरण सार्वजनिक गर्दै ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिएको हो ।

पहिलो चरणमा सम्झौता भएका विद्यालयको पुनःनिर्माण सकिए पनि दोस्रो चरणमा सम्झौता भएका ७१ विद्यालयको पुनःनिर्माण गर्न बाँकी रहेको कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिए । जिल्लामा विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएका १५३ विद्यालय पुनःनिर्माणको सूचीमा थिए ।

जिल्लामा १५३ विद्यालयको पुनःनिर्माण, ४४ विद्यालयको शौचालय र ४१ विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ । कार्यालय प्रमुख शर्माले कोरोना सङ्क्रमणका कारण गत वर्ष काम गर्न समस्या भएपनि कोरोना नियन्त्रणउन्मुख भएपछि कामले गति लिएको बताए ।

कोरोना नियन्त्रणपश्चात तीनवटा विद्यालयले फिनिसिङको काम गरिरहेकाले यो महिनाभित्र काम सक्ने उनले जानकारी दिए । पुनःनिर्माण प्राधिकरणको म्याद आगामी पुससम्म रहेकोले सो अगावै सबै विद्यालयको पुनःनिर्माण सक्नुपर्ने छ ।

जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० विद्यालयमा दुईकोठे, चार विद्यालयमा तीनकोठे र ३९ विद्यालयमा दुईकोठे भवन निर्माण गर्ने सम्भौता भएको थियो । अधिकांश विद्यालयको पुनःनिर्माणको प्रगति ६५ प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताए ।

भूकम्पले विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई पहिलो प्राथमिकता र केही मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुनःनिर्माण गर्ने गरी कार्यालयले कार्ययोजना बनाएको थियो ।

प्रतिक्रिया