बुधबार, वैशाख १२, २०८१

दक्षिण कोरियामा राहदानीको अवधि नभए भिसा नथपिने

मेरोन्यूज २०७७ चैत २२ गते ६:३८

सउल । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ ।

त्यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै नेपाली दूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ ।

न्याय मन्त्रालयको पत्रानुसार नेपाली दूतावासले पनि सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई उक्त कुरा जानकारी गराएको हो । विशेषगरी इपिएस माध्यमद्वारा इ नाइन भिसामा आउने नेपाली श्रमिकको शुरुमा तीन वर्षको सम्झौता हुन्छ भने बाँकी एक वर्ष १० महिना भिसा थपिने हुन्छ तर अबको नयाँ नियमानुसार राहदानीको अवधि नभएमा भिसा नथपिने भएको हो ।

यो नियम आगामी जुलाई १ देखि लागु हुँदैछ । कोरियामा एफ फाइभ, एफ टु फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसावाहक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने छ । विविध कारण तत्काल राहदानी नवीकरण गर्ने अवस्था नभएमा कारण हेरेर आगामी डिसेम्बरसम्म मात्र भिसा थप हुन सक्ने पनि बताइएको छ ।

सन् २०२० मा मात्र १६ हजार १ सय ३० विदेशी नागरिकको राहदानीको अवधि सकिएको तर उनीहरूले राहदानी नवीकरण नगरेको सूचना सार्वजनिक भएको छ । यो नियम लागु भएपछि दक्षिण कोरियामा रहेका विदेशीलाई उचित व्यवस्थापन गर्न सहज हुने न्याय मन्त्रालयले जनाएको छ ।

विदेशीले आफ्नो राहदानी नवीकरण भइसकेपछि १५ दिनभित्र नजिकैको अध्यागमनमा दर्ता गरेमा कुनै जरिवाना नलाग्नेसमेत बताइएको छ । (रासस)

प्रतिक्रिया