शुक्रबार, वैशाख १४, २०८१

मोटरसाइकल चोर साँखुबाट पक्राउ

मेरोन्यूज २०७७ चैत २१ गते ९:५४

काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौंको शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा ९५ प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले कोटेश्वरको भाटभटेनीबाट पुस १४ मा हराएको मोटरसाइकल नम्बर परिवर्तन गरी साँखुमा चलाइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । उक्त मोटरसाइकल ललितपुरका सुजित महर्जनको भएको र मोटरसाइकलको वास्तविक नम्बर बा ९१ प १२२१ भएको महाशाखाले जनाएको छ ।

मोटरसाइकलका धनी महर्जनले दिएको निवेदनका आधारमा महाशाखाले उक्त मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ गरिएको व्यक्ति र मोटरसाइकलबारे थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाएको महाशाखा प्रमुख भट्टराईले बताए ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानबाट चोरी भई हराएका मोटरसाइकल र चोरी कार्यमा संलग्न व्यक्तिको सूचना सङ्कलन एवं निगरानी राखी विशेष कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया