शुक्रबार, वैशाख ७, २०८१

भारतबाट कञ्चनपुर फर्किएका २४ जनाको एन्टीजेन रिपोर्ट पोजेटिभ

मेरोन्यूज २०७७ चैत २१ गते ७:४३

कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिएका २४ जनाको एन्टीजेन रिपोर्ट पोजेटिभ आएको छ ।

सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा शुक्रबार गरिएको परीक्षणमा २४ जनाको नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको जानकारीअनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७ सय र भारतीय १ सय ९७ मध्ये ६ सय २३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको छ ।

यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८ सय २३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ ।

दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या ७ सय देखि एक हजारको हाराहारीमा रहँदै आएको छ । भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका नेपाली नागरिक धमाधम स्वदेश फर्कन थालेका हुन् । रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको सङ्ख्यासमेत बढ्दो रुपमा छ ।

शुक्रबार मात्रै सीमानाका त्रिनगरबाट ३ सय ५ नेपाली र १ सय २५ भारतीय भारततर्फ गएका छन् । सीमानाका गड्डाचौकी भएर ३ सय भारतीय र नागरिकताका आधारमा भारततर्फ जाने नेपालीको सङ्ख्या १ सय ५० रहेको छ । (रासस)

प्रतिक्रिया