शुक्रबार, चैत १६, २०८०

काँग्रेस कार्यसमिति बैठक

ओली सरकार विस्थापित गरी काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने

मेरोन्यूज २०७७ चैत २० गते २०:२२

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गरी आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले असंवैधानिक कदम चाल्ने वर्तमान सरकारलाई जतिसक्दो चाँडो विस्थापित गर्नुपर्ने र संसद्को दोस्रो ठूलो दलका हैसियतमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले मेरोन्यूजलाई जानकारी दिए ।

‘अघिल्लो वर्षको वैशाख १७ गते नै कांग्रेसले यो सरकारलाई शासन गर्ने नैतिक अधिकार छैन भनेर प्रधानमन्त्रीको राजीनामा मागेको हो’, उनले भने, ‘तर राजीनामा नदिई संविधान विरोधी काम गर्दै संसद् विघटनसम्मको असंवैधानिक काम गरेकाले फेरि पनि प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय भएको हो ।’

बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्ने विषयमा कांग्रेसमा मतभेद रहेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल अलोकतान्त्रिक निर्णय गर्दै अगाडि बढेको ओली सरकार जसरी भए पनि हटाउनुपर्ने पक्षमा दृढतापूर्वक उभिँदै आएका थिए ।

सभापति देउवा भने आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था नआएको भन्दै त्यसबाट पछि हट्दै आएका थिए । प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद् विघटन गरेपछि त्यसलाई असंवैधानिक भन्दै सडकमा ओर्लिएको कांग्रेसले संसद् पुनःस्थापना भएपछि ओलीले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने बताउँदै आएको थियो ।

Advertisement

ओली सरकारलाई समर्थन गरिरहेको नेकपा (माओवादी केन्द्र)ले पनि वर्तमान सरकारका बारेमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेसलाई बारम्बार आग्रह गरिरहेको थियो । ओली सरकार विस्थापित गरी आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने कांग्रेसको निर्णयसँगै सम्भवत् माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने छ ।

बिहीबार बसेको माओवादीको स्थायी समितिको अनौपचारिक बैठकले वर्तमान सरकारका विषयमा आआफ्नो धारणा प्रष्ट पार्न कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेको थियो । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले काँग्रेस र जसपाले वर्तमान सरकारका बारेमा निर्णय नलिए आफूहरुले एक÷दुई दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहलकदमी लिने निर्णय गरेपछि जसपाले अझै सरकारका बारेमा निर्णय लिन सकेका छैनन् । ओली सरकारलाई लिएर जसपामा पनि स्पष्ट दुई खेमा देखिएको छ । जसपा नेता डा बाबुराम भट्टराई र उपेन्द्र यादव जसरी भए पनि ओली सरकार हटाउनुपर्ने पक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीसँग सत्ता साझेदारी गर्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया