बुधबार, वैशाख १२, २०८१

ह्वोङ्गान्जी न्यू डायमण्ड क्लब त्रिभुवन आर्मीसँग पराजित

मेरोन्यूज २०७७ चैत २० गते १९:१९

काठमाडाैं । ह्वोङ्गान्जी न्यू डायमण्ड क्लब पाँचौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषदको कर्भड हलमा भएको प्रतिस्पर्धामा पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोस्रो खेलमा आर्मीसँग पराजित भएको हो ।

पहिलो सेटमा १७–२१ ले पछाडी परेको न्यू डायमण्ड खेलमा फर्कदै दोस्रो सेटमा २५–२० ले जित हात पार्न सफल भयो । यस्तै तेस्रो सेटमा पुनः २३–२५ ले खेल गुमायो । चौथो सेटमा सम्हालिंदै २५–१५ ले खेललाई आफ्नो पक्षमा पारेको डायमण्ड पाँचौ तथा निर्णायक सेटमा भने १२–१५ ले गुमाउन पुग्यो ।

रोमाञ्चक जित निकालेको आर्मीले २ अंक जोड्दा डायमण्डले १ अंक हात पा¥यो । डायमण्डको ४ अंक भएको छ भने आर्मीको २ अंक भएको छ ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको च्याम्पियनसिपको महिला तर्फ दोस्रो दिन विभागिय टोली एपिएफ र नेपाल पुलिसले पनि जित निकाल्न सफल भए ।

एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को सहज जित निकाल्यो । एक पक्षीय खेलमा एपिएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ ले पराजित गर्दै ३ अंक जोड्यो । यस्तै पुलिसले पनि भरतपुर मेट्रो खेलकुदमाथि ३–० को सेटमा नै जित निकाल्यो ।  पुलिसले भरतपुरलाई २५–४, २५–८, २५–१२ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो ।

पुरुष तर्फको प्रतिस्पर्धामा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले जित हात पार्दै आफ्नो खातामा ३ अंक जोड्यो । हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबमाथि ३–१ को जित निकालेको हो । पहिलो सेट २५–१४ ले जितेको हेल्प नेपालले दोस्रो सेट २३–२५ ले गुमाउन पुग्यो ।

पुनः खेलमा फर्कदै हेल्प नेपालले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै जित हात पा¥यो । तेस्रो सेटमा २५–२२ र चौथो सेट २५–१६ अंकका साथ जित हात पारेको हो । चैत २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ ६ र पुरुष तर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया