शनिबार, साउन ९, २०७८

लेखा समितिले सोध्यो – नेपाली सेनालाई नौं प्रश्न

मेरोन्यूज २०७७ चैत १९ गते १४:४६

काठमाडौं । संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले द्रुतमार्गअन्तर्गतका ठेक्का प्रक्रियामा लागेको आरोपबारे नेपाली सेनासँग प्रश्न सोधेको छ । बिहीबार बसेको समिति बैठकले द्रुतमार्ग निर्माणको जिम्मा लिएको सेनासँग ९ वटा प्रश्न सोधेको हो ।

Advertisement

प्रश्नमा समितिले खरिद प्रक्रिया सुरु गरिसकेपछि पूर्वयोग्यताको नतिजा प्रकाशनपछि किन सार्वजनिक खरिद अनुगमन कार्यालयबाट परामर्श मागेको हो भनी सेनालाई सोधेको छ । सार्वजनिक खरिद ऐनको दफा ६५ (२) अनुसार खरिद प्रक्रिया सुरु गरिसकेपछि खरिद प्रक्रियामा कुनै किसिमले पनि सहभागी हुन नमिल्ने देखिन्छ भन्दै स्पष्ट पार्न भनिएको छ ।

समितिले एउटै परियोजनाको एकै प्रकृतिको कामलाई खण्डीकरण गरी दुई प्याकेज गरिनुको जवाफ मागेको छ । टनेल र पुलको प्याकेज छुट्टै नबनाई एकै प्याकेजमा जोडिएको र दुवै प्याकेजमा उही प्रकृतिका काम भएकोले त्यसो किन गरिएको भन्दै सोधेको छ, एउटा वा धेरै प्याकेज नगर्नुको आधार के छ ?
त्यस्तै प्याकेज १ र प्याकेज २ को कामको प्रकृति र आवश्यक दक्षता तथा क्षमता एकै प्रकृतिको रहेको, अझ प्याकेज १ भन्दा २ को काम परिमाणा कम देखिएको तर पहिलो प्याकेजमा पूर्वयोग्यता गर्दा उत्तीर्ण कम्पनी दोस्रोमा अनुत्तीर्ण कसरी हुनसक्छ भन्दै सोधिएको छ ।
समितिको प्रश्न छ, ‘कम्पनीको क्षमता परीक्षण गरिने भएकोले पहिलोमा पास हुने तर दोस्रोमा फेल हुने स्थितिले उक्त कम्पनीले पेस गरेको डकुमेन्ट शंकास्पद हुनसक्ने देखिन्छ अन्यथा पूर्वयोग्यताको परीक्षणका आधार नै त्रुटिपूर्ण देखिन्न र?’

सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद ऐन २०६४ को दफा ६५ (१) को खण्ड ‘ख’ले ईपीसी खरिद विधिका लागि निर्देशिका, कार्यविधि र प्राविधिक मार्गदर्शन जारी गर्नुपर्ने, सोही दफाको खण्ड (ग)अनुसार पूर्व योग्यताको कागजात नमूना तयार गर्नुपर्ने व्यवस्था गरेकोमा हालसम्म निर्देशिका वा कार्यविधि वा मार्गदर्शन नबनाइएको अवस्थामा अन्य खरिद प्रयोजनको लागि तयार गरिएको इन्टरनेशनल कम्पिटिटिभ बिडिङ (आईसीबी) वर्क्ससम्बन्धी डकुमेन्ट प्रयोग गरी ईपीसी खरिद विधिका लागि कसरी प्रिक्वालिफिकेसन (पूर्वयोग्यता) परीक्षण गर्न सकिने छ? यस्तो त्रुटिपूर्ण कार्य किन गरिएको हो?

यसका लागि खरिद कार्य सुरु गर्नुपहिले सार्वजनिक खरिद अनुगमन कार्यालयको परामर्श किन नलिइएको हो?
त्यस्तै प्याकेजमा क्रमशः २१ र २२ कम्पनीको आवेदन परेकोमा एकै प्रकृतिका काम गर्न क्षमता परीक्षण गर्दा मापदण्ड कठिन स्तरको बनाइएको र त्यसले पहिलो प्याकेजमा २ र अर्कोमा १ कम्पनीमात्र छनोट भएर बोलपत्रमा प्रतिस्पर्धा नै नहुने स्थिति पैदा भएकोले स्पष्टीकरण मागिएको छ ।

Advertisement

यसैगरी लेखा समितिले ‘यसले बोलपत्रमा प्रतिस्पर्धा निषेध गरेको देखिँदा नतिजा रद्द गर्नुपर्ने होइन र?’, समितिले सेनालाई सोधेको छ, ‘प्रतिस्पर्धा हुनका लागि कमसेकम तीनवटा कम्पनी छनोटमा हुनुपर्नेमा किन पुनः सूचना प्रकाशन गरी थप आवेदन माग गर्नुपर्नेमा नतिजा स्वीकार गरिएको हो?’ भनेर प्रश्न सोधेको छ ।

यसबाहेक समितिले सेनालाई सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३५ को उपनियम २ मा उपनियम (१) बमोजिमको परीक्षणमा छनोट भएका पूर्वयोग्यताको आवेदक सम्बन्धित खरिद कारबाहीको लागि बोलपत्र पेस गर्न योग्य भएको मानिनेछ भनिएकोमा उक्त प्रावधानले एकभन्दा बढीको छनोटको परिकल्पना गरेको हुँदाहुँदै एउटा मात्र छनोट कसरी गर्न मिल्छ भन्दै प्रश्नको लर्को लगाएको हो ।


त्यस्तै, सार्वजनिक खरिद नियमावलीको २६ (३) को खण्ड घ अनुसार सार्वजनिक खरिद ऐन २०६३ को १३ (२)को खण्ड (ढ३) र (ढ४) बमोजिम कम्पनीले नेपालभित्र कुनै कार्य गरिरहेको भए सोको प्रगति विवरण लिएर सोको पनि मूल्यांकन गर्नुपर्नेमा त्यसो नगरी खराब रेकर्ड राखेको कुरालाई नजर अन्दाज गरिएकोमा पनि प्रश्न उठाइएको छ ।

समितिले प्रतिस्पर्धाबाट राज्यलाई हुने फाइदाबाट वञ्चित हुने स्थिति पूर्वयोग्यता परीक्षणबाट देखिएकोमा किन नतिजा रद्द नगरी बोलपत्र आह्वान गरिएकोमा पनि प्रश्न २१/२२ वटा कम्पनीले दरखास्त दिएकोमा एउटा प्याकेजमा एउटा र अर्को प्याकेजमा दुईवटा छनौट गरेको देखिएको समितिले जनाएको छ ।

प्रतिक्रिया