शनिबार, वैशाख ८, २०८१

प्रचण्डको पुनरावलोकन निवेदनमा सर्वोच्चले आज निर्णय गर्दै

मेरोन्यूज २०७७ चैत १९ गते १०:२९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फैसला पुनरावलोकनका लागि दिएको निवेदनमाथि सर्वोच्च अदालतले आज निस्सा दिने/नदिने निर्णय गर्ने भएको छ ।

सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको तीन सदस्यीय इजलासमा उक्त मुद्दाको पेसी तोकेको हो । इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् । आजको सुनुवाइले दाहालले माग गरेबमोजिम पुनरावलोकनका लागि स्वीकृति दिने कि नदिने भन्ने निर्णय गर्नेछ ।

इजलासले पुनरावलोकन गर्ने भनी आदेश गरेमा फैसला कानुनसम्मत छरछैन भन्नेबारे पुनरावलोकन हुनेछ । पुनरावलोकन नहुने भनी आदेश गरेमा गत फागुन २३ कै फैसला अन्तिम भएर बस्नेछ ।

अध्यक्ष दाहालले नेकपा एमोले र माओवादी केन्द्र ब्युँताउने मंगलबार सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसला पुनरावलोक गराउन माग गर्दै मंगलबार निवेदन दिएका थिए ।

सर्वोच्चका न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा ऋषि कट्टेलको नाममा रहेकाले निर्वाचन आयोगले गरेको दल दर्ता खारेजी गर्ने फैसला गरेको थियो । सो फैसलाले एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ अघिको साविक कै अवस्थामा फर्काएको थियो ।

रिट निवेदकले नै माग नगरेको विषयमा अदालतले फैसला गरेको भन्दै अध्यक्ष प्रचण्डले कानून व्यवसायी लगायतसँग छलफल गरेर पुनरावलोक निवेदन दिएका हुन् ।

प्रतिक्रिया