बिहीबार, चैत १५, २०८०

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

मेरोन्यूज २०७७ चैत १९ गते ७:५६

काठमाडौं । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया गएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।

दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए ।

एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी फर्किएर सुतेका थिए । राति कोरियाली समयअनुसार करिब साढे २ बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए ।

तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । घटनाको बारेमा घरपरिवार तथा दूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल ल्याउने तयारी भइरहेको छ ।

घटनाको प्रकृति हेर्दा हृदयाघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताए । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत हुन् । (रासस)

Advertisement

प्रतिक्रिया