शनिबार, वैशाख १५, २०८१

बालाजु बाइपासमा सूचना केन्द्र निर्माण

मेरोन्यूज २०७७ चैत १८ गते २०:०८

काठमाडाैं । काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो ।

बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा सूचना केन्द्रको शिलान्यास गरे । सूचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने सवारी आवागमनको लगत राख्ने मन्त्री मानन्धरले बताए ।

उनले काठमाडौँबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौँबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको स्थापना गरिएको बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितको सूचना केन्द्रहरु स्थापना गर्ने लक्ष्य लिएको उनकाे भनाइ छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताए । सूचना केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने उनकाे भनाइ छ ।

सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको छ । महानगरपालिकाको ९५ लाख ६० हजार रुपैयाँ र उपभोक्ताले १० लाख ६० हजार रुपैयाँ व्यहोर्ने गरी कुल १ करोड ६ लाख २० हजार रुपैयाँमा सूचना केन्द्रको निर्माण हुनेछ ।

प्रतिक्रिया