शुक्रबार, चैत १६, २०८०

सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी

मेरोन्यूज २०७७ चैत १८ गते १९:४३

याङ्गुन । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ । झण्डै दुई महिनादेखि थुनामा रहनु भएकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको हो ।

कूटनीतिक दबाब अत्यन्त धेरै परेपछि सुकीका वकिलहरुलाई भेट्न दिइएको थियो । उनीहरुले नै उहाँको अवस्था सामान्य नै रहेको जानकारी दिएका हुन् । म्यानमारका सेनाले शासन हातमा लिएर सुकीलगायतका नेताहरुलाई थुनामा राखेको छ ।

उनीहरुको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको थिएन । सेनाले सत्ता हातमा लिएदेखि म्यानमारमा अहिलेसम्म पनि जनआन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ५२० भन्दा बढीको मृत्यु भइसकेको छ ।

निर्वाचित सरकार र संसद्लाई भङ्ग गरी निष्पक्ष तरिकाले नयाँ निर्वाचन गराउन भन्दै सत्ता हातमा लिनु परेको सेनाको भनाइ छ । यसअघि भएको निर्वाचन निष्पक्ष हुन नसकेको भन्दै निर्वाचनको नतिजाप्रति सेनाले असन्तुष्टि र अविश्वास प्रकट गर्दै आएको थियो ।

नवगठित संसद्को पहिलो बैठक बस्नै लागेको दिन गत फेब्रुअरी १ का दिन सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएको हो । सेनाको कदमको विरोध गर्दै अहिले म्यानमारका दैनिक हजारौँ आन्दोलनकारीले प्रदर्शन गर्ने गरेका छन् भने अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सेनाको कदमको विरोध भइरहेको छ ।

Advertisement

केहीदिन अगाडि आन्दोलनका क्रममा एकैदिन झण्डै १०० जनाको मृत्यु भएपछि सैन्य सरकारको दमनको विश्वभरीबाट थप विरोध भइरहेको छ । सेनाको आलोच्य कदमका कारण कतिपय देशहरुले म्यानमारलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेका छन् भने कतिपयले अनिश्चितकालका लागि कुनै सहकार्य नगर्ने उद्घोष गरेका छन् ।

जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । म्यान्मारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो । जापानका विदेशमन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यान्मारलाई प्रस्ट सन्देश दिन खोजेको बताएका छन् ।

संसदमा मङ्गलबार सम्बोधन गर्दै विदेशमन्त्री मोटेगीले भने, “म्यान्मारका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र हो । अब नयाँ सहायता म्यान्मारलाई दिइने छैन । हामीले प्रस्ट अडान राखेका छौँ ।”

संयुक्तराज्य अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ताविद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ट कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यावसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्धहरु घोषणा गरिसकेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नयाँ सहायता मात्र रोकिने छन् । हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् रहनेछ । जापानले म्यान्मारको सैन्य सत्ता विद्रोहलाई लिएर आलोचना गर्नुका साथै लोकतन्त्रको पुनर्बहालीका लागि आह्वान गरेको छ । म्यानमारमा आन्दोलनका क्रममा अरू दर्जनौँ व्यक्ति घाइते भएका छन् भने मुलुक राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको छ ।

प्रतिक्रिया