शनिबार, वैशाख ८, २०८१

काजीरोशन साहित्य पुरस्कार षडानन्द पौडेललाई

मेरोन्यूज २०७७ चैत १८ गते १७:३१

बलेवा । धौलागिरि साहित्य प्रतिष्ठानले यस वर्षको ‘काजी रोशन साहित्य पुरस्कार’ डा षडानन्द पौडेललाई प्रदान गरेको छ । ‘काजी रोशनको काव्य साधना’ नामक अनुसन्धनात्मक कृषिका लेखक पौडेललाई सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशि रु १५ हजार र सम्मानपत्र रहेको छ । पौडेलले काजी रोशनको काव्य साधना अनुसन्धानपछि पुस्तक आकारमा समेत प्रकाशित गरिसक्नुभएको छ । विगत १९ वर्ष धौलागिरि बहुमुखी क्याम्पसमा नेपाली साहित्य विषयमा प्राध्यापन गर्नुभएका उहाँ पाँच वर्षदेखि काठमाडौँको सरस्वती बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ ।

त्यस्तै भानु जयन्तीको अवसरमा प्रदान गर्नुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण स्थगित भएको ‘बम सरस्वती स्मृति पुरस्कार’ काभ्रेको पनौतीका सूर्यप्रसाद लाकोजूलाई दिइएको छ । साहित्य क्षेत्रमा योगदान गरेको भन्दै लाकोजूलाई पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका सदस्य हरिप्रसाद पाण्डेयले बताए ।

कार्यक्रममै बागलुङको गलकोट घर भई चितवनमा बस्दै आएकी राधिका कल्पितद्वारा लिखित ‘बरफका कोइलाहरु’ नामक कविता सङ्ग्रह विमोचनसमेत भएको थियो । धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले सो कृतिको विमोचन गरे ।

प्रतिक्रिया