बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय जनगणनाका विषयमा संसदीय समिति र सरोकारवालाबीच छलफल हुँदै

मेरोन्यूज २०७७ चैत १८ गते ८:४५

काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आसन्न राष्ट्रिय जनगणनाको विषयमा छलफल गर्न सरोकारवालालाई बोलाएको छ ।

सिंहदरबारमा विहान ११ बजे बस्ने बैठकमा तथ्याङ्क विभागका महानिर्देशक डीजी नेविनलाल श्रेष्ठ र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेललाई बोलाएको समिति सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र आगामी कार्ययोजनाका सम्वन्धमा छलफल हुने समितिका उपसचिव त्रिविक्रम पराजुलीले जानकारी दिनुभयो । विभागले जनगणनाको तयारी गरिरहेका बेला समितिले विभागको तयारी र कार्ययोजनाका विषयमा छलफल गर्न लागेको हो । विभागले सुपरिवेक्षक र गणक नियुक्त गर्न यसअघि नै दरखास्त खुल्ला गरिसकेको छ ।

सुपरिवेक्षक र गणकलाई तालिम दिएर २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म जनगणना गर्ने विभागले जनाएको छ । असोज मसान्तसम्म प्रारम्भिक नतिजा सार्वजनिक गर्ने विभागको तयारी छ ।

चितवनमा जनगणनाका लागि छ गुणा बढी दरखास्त
आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि ६ हजार ७ सय ९३ जनाको दरखास्त परेको हो ।

चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले २ सय ३ सुपरीवेक्षक तथा ८ सय ९५ गणकको दरबन्दी सिर्जना गरिएको जानकारी दिए । चितवनका लागि आवश्यक दरबन्दीभन्दा अनलाइनमार्फत फारम भर्नेको सङ्ख्या करिब ६ गुणा बढी हो । यस्तै दरखास्त दिनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर छ ।

भण्डारीले चितवनमा जनगणनाका लागि तीन हजार ६ सय १८ महिला, एक हजार ८ सय ६४ पुरुष तथा दुई जना अन्य लिङ्गीले अनलाइन फारम भरेको जानकारी दिए । जनगणना तयारीको काम तीव्ररूपमा अगाडि बढेको भन्दै जिल्लाका सात स्थानमा आगामी वैशाख १ गते स्थानीय जनगणना कार्यालय स्थापना गरिने उनले बताए । भण्डारीका अनुसार भरतपुरको भरतपुर–१०, भरतपुर–६ गीतानगर र भरतपुर–१८ चनौलीमा स्थानीय जनगणना कार्यालय स्थापना गरिँदैछ ।

त्यस्तै कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका हेर्ने गरी कालिकामा, रत्ननगर नगरपालिका लागि रत्ननगर नगरपालिकामा तथा राप्ती र खैरहनी हेर्ने गरी राप्ती नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना हुने भण्डारीले बताए । भण्डारीका अनुसार भरतपुरमा मात्रै ४ सय ६२ गणक र १ सय ४ सुपरीवेक्षकको दरबन्दी रहेको छ ।

त्यस्तै माडीमा ५३ गणक र १४ सुपरीवेक्षक, रत्ननगरमा १ सय २२ गणक र २४ सुपरीवेक्षक, कालिकामा १ सय ५ गणक र २२ सुपरीवेक्षक तथा राप्तीमा १ सय ५३ गणक र ३९ सुपरीवेक्षक आवश्यक पर्छ ।

सुपरीवेक्षकका लागि चैत २० गते सम्पर्क मिति तोकिएको भण्डारीले बताए । उनले सुपरीवेक्षकलाई वैशाख १६ देखि २२ गतेसम्म तालिम दिइने तथा वैशाख १६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरणको काम हुने जानकारी दिए । जेठको १० देखि १४ गतेसम्म गणक नियुक्ति तथा १७ देखि २२ सम्म तालिम हुने उनले बताए ।

प्रतिक्रिया