शुक्रबार, चैत १६, २०८०

दोसाँधमा माधव नेपाल !

रामकृष्ण अधिकारी २०७७ चैत १७ गते १४:१८

काठमाडाैं । पूर्वप्रधानमन्त्री माधव नेपालले आफैँले बनाएको पार्टीबाट पहिलो पटक साधारण सदस्यसमेत नरहने गरी कारवाही भोगे । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र भीम रावललाई पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी आपराधिक मनोवृत्ति देखाएको भन्दै साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरे ।

माधव नेपालको लागि यो उनको जीवनकै नमिठो पल हो । यतिसम्म कठिन मोड आफ्नाे पार्टी जीवनमा आउँछ भन्ने सायदै उनले सोचेका थिए होलान् । तर उनको राजनीतिक जीवन अहिले असाध्यै संकटको डिलमा धकेलिएको छ ।

माले मोरङ, कोअर्डिनेसन केन्द्र हुँदै २०३५ सालमा माले पार्टी बनेयता मुख्य जिम्मेवारीमा एकछत्र रहँदै आएका र एमालेको संगठनात्मक जग हाल्न र बलियो बनाउन भूमिका खेलेका नेता नेपाललाई पहिलो पटक सोमबार उनको पार्टी एमालेले निलम्बन गरेको हो ।

निलम्बनपछि अब माधव नेपाल के गर्लान् ? सबैको ध्यान नेपाल पक्षले लिने निर्णयतिर केन्द्रित छ । तर नेपालले ओलीसँग जुधेरै अघि बढ्ने बताइरहेका छन् ।

ओलीले निलम्बन गरेकाे पत्र लेखेपछि मेरोन्यूज सँगको संक्षिप्त कुराकानीमा नेता नेपालले भनेका थिए, –‘मलाई कुन पार्टीबाट निकाले, ओलीको पार्टीबाट ? आफैँ केन्द्रीय कमिटी विघटन गर्ने अनि महाविधेशन आयोजक कमिटिको अध्यक्षलाई कारवाहीको अधिकार विद्यानमा कहाँ हुन्छ ? धाकधम्कीबाट कोही डराउनेवाला छैन, समानान्तर गतिविधि अघि बढाइन्छ, देशव्यापी रूपमा अघि बढिन्छ, केपी ओलीको तानाशाही प्रवृत्ति र निरंकुशताविरुद्ध लडिन्छ ।’

Advertisement

कारवाही अगाडि ओलीले नेता नेपालसहित उनी पक्षका थप ३ नेतालाई स्पष्टीकरण सोधेका थिए । त्यसमध्ये नेपाल र रावलले उल्टै प्रतिप्रश्न गर्दै प्रष्ट पार्न ओलीलाई नै चुनौति दिएका थिए । स्पष्टीकरण सोधिएका सुरेन्द्र पाण्डेले जवाफ फर्काईसकेका छैनन् । घनश्याम भुसालले मंगलबार मात्रै प्रधानमन्त्रीले नै पार्टीलाई सैद्धान्तिक र राजनीतिक रुपमा नेतृत्व गर्न असफल भएकाले पार्टीमा समस्या आएको जवाफ दिएका छन् । यहीबीच नेपाल र रावल निलम्बनकाे निर्णय एमालेबाट आएको छ ।

नेता नेपाल र रावललाई कारवाही गर्दा ओलीले ५ बुँदालाई साहारा लिएका छन् ।

‘पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुटभेला तथा पार्टीलाई कुभलो चिताउनेसँग निरन्तर बैठक, भेटघाट गर्ने तथा निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुरा उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो । आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्याउन तयार भएको आपराधिक मनोवृत्ति थप प्रस्ट रूपमा पुष्टि भएको छ ।’ नेपाललाई निलम्बनकाे निर्णय लिँदा ओलीले साहरा लिएको तर्क यही हो ।

कारवाहीपछि नेपाल समूहले आफू निकट स्थायी समिति र केन्द्रीय समितिमा यो विषयमा छलफल गर्ने तयारी गरेका छन् । आजै (मंगलबार) पनि अनौपचारिक रुपमा छलफल नेपालले निकटस्थसँग गरिरहेका छन् । तर एमाले पनि छाड्न नसक्ने, ओलीसँग पनि नझुक्ने विरोधाभासका बीच नेपाल अहिले दोसाँधमा उभिएका छन् ।

उनका सामु विकल्प साघुरिँदै जान थालेका छन् । अब कि त एमालेमा समानान्तर कमिटी बनाउँदै जाने, कि ओली नेतृत्वको एमाले पार्टीबाहेकका वामपन्थीसँग मिलेर नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्ने । नेपालका सामुन्ने अहिलेलाई यी नै दुई विकल्प देखिएका छन् ।

तर उनले यसमध्ये कुन बाटो समात्छन् ? त्यो चित्र अहिले प्रष्ट आइसकेको छैन ।

ओली–नेपाल दोस्ती र दुश्मनीको सम्बन्ध
एकै राजनीतिक पुस्ताका नेता हुन् – प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री माधव नेपाल । ओली–नेपालको ४८ वर्ष लामो सम्बन्धमा सबैभन्दा ठूलो खडेरी यसपटक लागेको छ ।

दोस्ती र दुश्मनीका अनेक श्रृंखला पार गर्दै आएपनि यो जत्तिको खराब समय ओली र नेपालका बीचको सम्बन्ध कहिल्यै देखा परेको थिएन ।

तर दुश्मनी प्रायः सधैँ–सधैँ पार्टी र सत्ता नेतृत्वको आकांक्षा देखिँदा हुने गरेको छ । २०२८ सालको आखिरीतिर माधव नेपाल मोरङमा बैंकमा काम गर्थे । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस पढ्दैदेखि उनको कम्युनिष्टसँग उठबस बाक्लो थियो । त्यही क्रममा २०२८ सालको एकदिन ओलीसँग नेपालको भेट भएको सम्झन्छन्,–दुवै नेतालाई नजिकबाट चिन्ने जान्नेहरु । त्यतिबेला ओलीलाई नेपालले आफ्नै डेरामा तीन महिनासम्म सेल्टर दिएका पनि थिए ।

पछि ओली १४ वर्ष जेल परे, माधव भूमिगत भएर कम्युनिस्ट पार्टीको संगठन विस्तारमा लागे । नेकपा (माले) ले संगठनिक आकार त्यसपछि नै ग्रहण गरेको हो। २०४४ सालमा ओली रिहा भएपछि मदन भण्डारी, माधव नेपाल, केपी ओली र वामदेव गौतम एक ठाउँमा उभिए ।

प्रधानमन्त्री ओली र नेता नेपालका बीचमा खास–खास अवस्थामा सहकार्य नभएका होइनन । अहिले सतहमा देखा परेका विवाद हेर्दा यी दुई नेता कसरी मिलेर बसेका होलान् भन्ने आम मानिसमा धारणा बन्न सक्छ । तर दुश्मनीमात्र होइन, दोस्ती पनि ओली र नेपालका बीचमा राम्रै थियो ।

पार्टीले लिने राजनीतिक एजेण्डामा ओली–नेपाल जहिल्यै एक ठाउँमै रहे । ‘उहाँहरु (ओली–नेपाल)का बीचमा आन्दोलनका मूलभूत एजेण्डामा समनता र सहकार्य हुँदै आएको छ,’ नेपाल प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार समेत रहेका नेता विष्णु रिजाल भन्छन्, ‘जनताकाे वहुदलीय जनवाद, माहाकाली सन्धी, पार्टी एकता र तत्कालिन माओवादीलाई हेर्ने दृष्टिकोणसम्ममा दुवै नेताका समान धारणा थिए ।’

माओवादीलाई हेर्ने दृष्टिकोणमा तत्कालीन एमालेभित्र दुई धार देखिन्थे । नेपाल–ओलीको एउटा धार र नेता झलनाथ खनाल र वामदेव गौतमको अर्काे धार । खनाल बुटवलकाे आठौं महाधिवशेनबाट अध्यक्षमा निर्वाचित भएपछि माओवादीलाई हेर्ने दृष्टिकोणमा ओली–नेपाल सधैँ एकै ठाउँमा उभिइरहे ।

अतिवामपन्थतर्फ आकर्षित खनाल–गौतम समीकरण नेतृत्वमा रहे पनि तिनलाई ‘चेक’ गर्न नेपाल–ओली समीकरणले काम गरेको थियो । पछिल्लो पटक पनि पार्टी एकता, एकताका क्रममा ‘जवज’लाई हेर्ने दृष्टिकोणलगायतमा ओली–नेपाल एकै ठाउँमा उभिएका थिए ।

गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणामपछि दलको नेता चयनमा ओलीलाई नेपाल स्वंमले सर्वसम्मत दल नेताको प्रस्ताव गरेका थिए । राष्ट्रपति निवासबाट धुम्वराहीस्थित पार्टी कार्यालयसम्म ओलीकै गाढीमा गएर दल बैठकमा नेपालले ओलीलाई संसदीय दल नेताको प्रस्ताव गरेका थिए । माओवादीसँग एकताको वार्ता चल्दै गर्दा जवजका विषयमा दुवै नेताले एकै मत राखेका थिए । त्यसले दुई नेतालाई एक ठाउँमा ल्याइदिएको थियो ।

मदन भण्डारीको रहस्यमय निधनपछि पार्टी महासचिव बन्ने बेला २०५० मा नेपाललाई ओलीले नै साथ दिएका थिए । नेपालले पनि ओलीलाई आवश्यकता पर्दा गुन लगाएकै देखिन्छ । आफ्नाे समूहका नेताहरुको असन्तुष्टि र विरोधका बाबजुद पनि नेपालले ओलीलाई परेको बेलामा सहयोग नगरेका होइनन् ।

०५४ सालमा महाकाली सन्धिको विषयमा पार्टी विभाजित हुन पुग्दा नेपाल–ओली एकै भएर पार्टी रक्षामा उभिए । ०६२/०६३ को जनआन्दोलनताका आन्दोलनबाट कही पुगिँदैन भनेर निस्क्रिय हुँदा ओली त्यसबेला आलोचित थिए । तर आन्दोलन सफल भएपछि नेपालले ओलीलाई नै उपप्रधानमन्त्री समेतको जिम्मेवारी दिलाएर सरकारमा पठाए ।

नेपाल समूहले नै ओलीलाई सरकारमा पठाउने निर्णयको विरोध गर्याे। केही नेताहरुले समूह छाड्ने चेतावनी पनि दिए । त्यसबेला नेपालसँगै रहेका अमृत बोहोरा, इश्वर पोखरेललगायत नेताहरुले उनलाई छोडिदिए । तर नेपाल निर्णयमा डगमगाएनन् ।

२०६६ मा नेपाल प्रधानमन्त्री बन्दा संसदमा प्रतिपक्षी माओवादी बलियो अवस्थामा थियो । उसले नेपाल नेतृत्वको सरकारलाई ‘कठपुतली’को संज्ञा दिँदै चर्काे सडक आन्दोलन गरिरहेको थियो । पार्टीभित्रै माओवादी मुद्दा सम्बाेधन गर्नुपर्नेमा वामदेव गौतम–झलनाथ खनाल देखिन्थे । तर ओलीले नै नेपाल नेतृत्वको सरकारको पक्षमा रक्षाकवजको काम गरेका थिए ।

दुश्मनी पनि उत्तिकैं
मुद्दाका आधारमा एक ठाउँमा देखिएपनि यी दुई नेताका बीचमा बेमेलका पनि अनेकन किस्सा जोडिएका छन् । पछिल्लो पटक करिब राजनीति नै दाउमा परेका ओलीलाई सर्वाेच्च अदालतले राजनीतिक त्राण दिने काम गर्याे । एमाले माओवादी ब्यूँताइदिने अदालतको निर्णयपछि ओली फेरि पार्टीमा बलियो बने ।

उनले त्यसपछि भने नेपाल पक्षको समूहबन्दी माग सम्बाेधन नगर्ने अडान लिए । माधव नेपाल, भीम रावललाई ६ महिना निलम्बनकाे निर्णय लिए । सुरेन्द्र पाण्डे र भीम रावलमाथि अब उनले लिने स्टेप के हुन्छ ? प्रष्ट छैन ।

नेकपामा प्रचण्डसँग मिलेर माधवले ओलीविरुद्ध मोर्चाबन्दी नै गरे । यसले पनि ओली र नेपालको सम्बन्ध धेरै टाढाको बनाइदियो ।

नेपालले ओली नेतृत्वको सरकारका विरुद्ध संसदमै ‘देश डुब्न लागेको’ भन्दै देश बचाउन माझीको खोजी पनि गरे । पार्टीभित्र आफ्नालाई पेलेको भन्दै पटकपटक ‘नोट अफ डिसेन्ट’ पनि लेखे । यसले नेपाल–ओली सम्बन्ध तिक्तता बढाएको छ । ओलीका विरुद्ध नेपालले अन्तरसंर्घष चर्काउने र देशभर संगठनमा समानान्तर संरचना निर्माण गर्ने उद्घाेषा गरिसकेका छन् ।

१५ वर्ष झण्डै पार्टीको महासचिवको रुपमा नेतृत्व गदैगर्दा पनि नेपालको पार्टीभित्रको प्रतिस्पर्धा ओलीसँगै चल्यो । २०५६ को संसदीय चुनाव र सातौं महाधिवशेनका बेलामा पनि ओली–नेपालका बीचमा अन्तरविरोध देखापरेको थियो । त्यसबेला ओलीले पार्टी महासचिव नेपाल भएकाले दलको नेता आफू बन्न चाहेका थिए । तर नेपालले दिएनन् । त्यसपछि नै ओलीले पार्टीभित्र गुट बनाउँदै आफूलाई शक्तिमा ल्याउने प्रयास थालेको नेताहरुको बुझाइ छ ।

०७० को संसदीय दलको चुनावपछि पनि यी दुई नेताका बीचमा तिक्तता देखियो । पार्टीको आठौं महाधिवशेनमा ओलीलाई काँध थापेका नेपाल दलको चुनावमा तत्कालीन अध्यक्ष खनालको पक्षमा थिए । तर बाजि मारे ओलीले । ‘नेतृत्व हस्तान्तरण, उमेर पुगेका नेताहरूको अवकाश र नयाँ पुस्तालाई अवसर’ भन्ने नारा लिएर ओली दलको चुनावमा खनालसँग भिड्न पुगेका थिए ।

तर ०४८ देखि नै पार्टी नेतृत्वमा रहेका व्यक्ति नै दल नेता पनि बन्ने परम्परा एमालेमा थियो । त्यो ओलीले भंग गरिदिए । खनाल पार्टी अध्यक्ष हुँदाहुँदै पनि उनले खनाललाई चुनावमा पराजित गरिदिए । यसमा नेपालको ओलीसँग असन्तुष्टि थियो ।

ओलीको पहिलो प्रधानमन्त्रीकालमा सत्ता सहयात्री तत्कालीन माओवादीले समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गरायो । त्यसबेला नेपालले ओलीको बचाउ गर्नु साटो संसदमा कार्यशैलीगत कमजोरीको प्रश्न मात्रै उठाइदिए । त्यसपछि त झन् ओली–नेपाल द्वन्द्व अस्वभाविक चुलियो ।

दुवैलाई नजिकबाट चिनेका एमालेका एक नेताले भने, ‘ओली नेपालको मिलापदेखि विवादसम्मको मुख्य कुरा पदीय विषयकै केन्द्रबिन्दुमा हुने गरेको छ ।’

अब के गर्लान् नेपाल ?
नेपाललाई नेपालकै भन्ने नेताहरुले पनि पछिल्लो पटक छाड्न थालेका छन् । ओलीले नेपाल पक्षका नेताहरुसँग व्यक्तिगत डिल गर्न थालेका छन् । शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेललगायतले नेपालको साथ छोडिसकेका छन् । पछिल्लोपटक घनश्याम भुसालले पनि नेपाललाई अब के गर्ने हो ? प्रष्ट हुन आग्रह गरिसकेका छन् ।

पार्टी फुटाउने भए पनि फुटाईहाल्न, तर आफू फुट्ने पार्टीमा नजाने, अरुको जिम्मा नलिन र अब के गर्ने हो आफूले ओलीसँग बसेर निर्णयक कदम चाल्न ढिलो नगर्न योगेशको नेपाललाई सुझाव देखिन्छ ।

आफ्नैले छाड्दै ओलीतिर जान थाल्नु, ओलीसँग झुक्न पनि नसक्ने र एमाले छोडेर हिँड्न पनि नसक्ने दोसाँधमा यतिबेला माधव नेपाल छन् ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया