शनिबार, वैशाख ८, २०८१

रुपन्देहीका सीडीओ सहित प्रहरी र सशस्त्रका एसपीको सरुवा

मेरोन्यूज २०७७ चैत १७ गते ८:१४

काठमाडौं । सरकारले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडियो), नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई सरुवा गरेको छ ।

गृह मन्त्रालयले सीडीओ पिताम्बर घिमिरे, नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल र सशस्त्रका एसपी भरत खनियाँलाई सरुवा गरेको हो ।

सीडीओ घिमिरेलाई पर्सामा सरुवा गरी रुपन्देहीमा पर्साका सीडीओ आसमान तामाङलाई पठाइएको छ । घिमिरे रुपन्देही गएको सात महिना मात्र भएको थियो ।

नेपाल प्रहरीका एसपी पोखरेल र सशस्त्र प्रहरीका एसपी खनियाँलाई काठमाडौं तानिएको छ । एसपी पोखरेलको गत भदौमा मात्रै रुपन्देही सरुवा भएको थियो । खनियाँ त्यहाँ गएको दुई महिना मात्र भएको छ । पोखरेललाई काठमाडौं तानेको गृह मन्त्रालयले रुपन्देहीमा एसपी मनोज केसीलाई खटाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलको प्रत्यक्ष हस्तक्षेपमा उनीहरुलाई सरुवा गरिएको स्रोतले बताएको छ । औद्योगिक कोरिडोर शिलान्यास गर्ने क्रममा मोतीपुरमा स्थानीयले मन्त्री पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई लखेटेका थिए ।

सो घटनामा प्रयाप्त सुरक्षा प्रवन्ध मिलाउन नसकेका कारण मन्त्री पौडेल असन्तुष्ट थिए । यस्तै टाइगर वान प्यालेस रिसोर्टमा अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको विषय समेत सार्वजनिक भएपछि सबैको नजर त्यहाँका सुरक्षा प्रमुखमाथि थियो ।

प्रतिक्रिया