शुक्रबार, वैशाख १४, २०८१

ओलीले निलम्बन गरेपछि माधव नेपालको प्रारम्भिक प्रतिक्रिया

‘मलाई कुन पार्टीबाट निकालेको ? ओलीको पार्टीबाट ?’

मेरोन्यूज २०७७ चैत १६ गते १८:३६

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेपछि नेता नेपालले आफूलाई कारवाही गर्ने अधिकार प्रधानमन्त्री केपी ओलीसँग नभएको प्रतिक्रिया दिएका छन् ।

कारवाहीबारे आफुलाई कुनै जानकारी नभएको भन्दै नेता नेपालले आफुलाई कारवाही गरिएको बारे हाँस्दै मेरो न्यूजसँगको कुराकानीमा भने,-‘ओलीले मलाई हटाएकाबारे मलाई जानकारी छैन । मलाई कुन पार्टीबाट उहाँले हटाउनुभयो, ओलीको पार्टीबाट ? मलाई एमालेबाट निलम्बन गर्ने उहाँलाई कुनै अधिकार नै छैन । उहाँ के एमालेको अध्यक्ष हो र ? उहाँ एमालेको अध्यक्ष नै होइन ।’

पार्टी विधान विपरित गतिविधि गरिरहेको र पार्टी केन्द्रीय समिति नै विघटन गरेका ओलीलाई आफूमाथि कारवाहीको अधिकार नभएको नेता नेपालको भनाइ थियो ।

‘उहाँ अहिले एमालेको एउटा गुटको अध्यक्ष मात्र हो। एउटा गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न सक्दैन, त्यसकारण यो कारवाही वा निलम्बनको कुनै अर्थ छैन।’ नेता नेपालले भने ।

देशब्यापी ओली प्रवृतिका विरुद्द अभियान नै चलाउने पनि नेता नेपालको भनाई छ । प्रधानमन्त्री ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न नेपालले नेता कार्यकर्तालाई आह्वान समेत गरे ।

ओली असाध्यै असहिष्णु भएको भन्दै उनले ओलीको निर्णय निरंकुश र तानाशाही खालको भएको टिप्पणी पनि गरे ।

ओलीले कारवाही गरेको पत्र अगाडी मात्रै नेपाल र रावलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

प्रतिक्रिया