शुक्रबार, चैत १६, २०८०

महाभारत युद्धमा अर्जुन सवार रथ अन्य योद्धाको भन्दा किन फरक थियो ?

मेरोन्यूज २०७७ चैत १५ गते ११:५८


तपाईले महाभारतको कथा त सुन्नु भएको होला ? महाभारत कथामा १८ पर्व छन् । त्यसमा भिष्म पर्व एक हो, जुन पर्वबाट महाभारतको युद्ध शुरु हुन्छ । महाभारतमा अनेक योद्धाहरुको सहभागीता भएको वर्णन हामीले सुन्न, हेर्न र पढ्न पाउँछौँ । योद्धाहरु युद्ध लड्दा उनीहरु पैदल युद्ध लड्ने हो कि, हात्तीमा सवार भएर युद्ध लड्ने हो कि, एक घोडामा सवार भएर अथवा रथमा सवार भएर त्यो योद्धाको श्रेणी अनुसार छुट्याइएको वर्णन पाइन्छ । त्यसमा महारथी अर्जुन सवार हुने रथ अन्यको तुलनामा फरक रहेको देखिन्छ ।


महाभारतको कथामा अर्जुनले प्रयोग गर्ने रथमा चार सेता घोडा रहेको वर्णन छ । कुरुक्षेत्रको युद्धमा पनि कृष्ण सारथि रहेको अर्जुनको तिनै चार सेता घोडा प्रयोग भएको थियो । आखिर के छ त कृष्ण सारथि र अर्जुन रथी भएको त्यो रथको विषेशता !


अग्निदेवले अर्जुनलाई उपहार स्वरुप रथ दिएका थिए । त्यो रथको विशेषता यस्तो थियो कि त्यसले तीनै लोकको परिक्रमा गर्न सक्ने सामर्थ्य राख्थ्यो । कृष्ण–अर्जुन सवार रथमा शैव, सुग्रीव, मेघपुष्प र बलाहक नाम गरेका चार घोडा थिए ।


तपाईं नवलपरासीको दुम्कौलीस्थित शाश्वत धाम जानुभएको छ ? त्यसो हो भने त्यहाँ दुई व्यक्ति सवार चार घोडासहितको रथ देख्नुभएको होला । यसको विम्ब र पौराणिक व्याख्याबारे तपाईंलाई कतिको थाहा छ ?


पाण्डव र कौरवबीचको अंशबण्डामा पाण्डवलाई खाण्डव वन परेपछि त्यसलाई इन्द्रप्रस्थ राज्य बनाउन पाण्डवले अग्नि देवतासँग सहयोगको याचना गर्छन् । अग्निदेवसँग पाण्डवले खाण्डव वनलाई जलाउन मागेको सहयोग अग्निदेवको अथक प्रयत्नबीच पनि सफल हुँदैन । सफल किन हुँदैन भने खाण्डव वनमा रहेको तक्षक नाग र इन्द्र देवको घनिष्ट मित्रता हुन्छ ।

Advertisement


त्यसैले तक्षक बसेको वनमा आगो लाग्दा इन्द्रले पानी पारेर जल्नबाट जोगाउँछन् । अग्निदेवको अथक प्रयासपछि पनि उनी सफल हुन सक्दैन । अग्निदेवको प्रयासमा इन्द्रले भाँजो हालेपछि इन्द्र र अर्जुनबीच युद्ध हुन्छ । अर्जुनका जैविक पिता इन्द्र अर्जुनसँग युद्धमा हारेपछि अग्निदेव अर्जुनसँग प्रसन्न हुन्छन् । यसपछि उनी अर्जुनलाई दिव्य रथसहित चार श्वेत घोडा र गाण्डीव उपहारमा स्वरुप प्रदान गर्छन् ।


वैज्ञानिक हिसाबले घोडालाई मानिसको इन्द्रीयसँग दाँजिन्छ । इन्द्रीय वशमा भएको अवस्थामा मात्रै मान्छेले आफनो मनोवाञ्छित लक्ष्य प्राप्त गर्न सक्छ। भनिन्छ, कतिपय अवस्थामा आफ्नो इच्छा पूरा हुनु र नहुनुमा इन्द्रीय चञ्चलतालाई कति नियन्त्रणमा राख्न सकियो भन्ने कुराले निक्यौंल गर्छ ।

हाम्रा कतिपय उपनिषद् र वेदमा घोडालाई विम्बात्मक रुपमा प्रयोग भएको छ, जुन अरु जनवारमा खासै प्रयोग भएको पाइँदैन ।
घोडा तीव्रता, गतिशीलता र भक्ति भावको प्रतीक हो । मनोकांक्षा प्राप्तिका लागि मानिसमा यी तीनै चिजप्रतिको समर्पण आवश्यक हुन्छ ।
यहाँ प्रश्न उठ्न सक्छ, हिन्दु धर्ममा घोडा किन विम्बात्मक रुपमा प्रयोग हुन्छ त ?


त्यसको चञ्चलता यसको कारण हो । जसरी घोडालाई नियन्त्रणमा लिन नसक्दा त्यो वशभन्दा बाहिर जान्छ, त्यसरी नै मान्छेले आन्तरिक इच्छालाई समयमै व्यवस्थापन गर्न नसक्ने हो भने आफूभित्र भएको दिव्यतासँग मानिस कहिल्यै सात्क्षात्कार गर्न सक्दैन ।


बृहारण्यक उपनिषद् अश्वमेध यज्ञमा बलिदानी घोडाको कथासहित आरम्भ हुन्छ । यसको अर्थ कुनै पनि धार्मिक अनुष्ठान तबसम्म समाप्त हुँदैन, जबसम्म हामी हाम्रो मानसिक चञ्चलतालाई नियन्त्रणमा लिन सक्दैनौँ ।


मानव जीवन र मृत्यु सम्बन्धी चर्चा गर्ने कठोपनिषद्ले पनि मान्छेको मन र इन्द्रीय नियन्त्रणको विषयमा चर्चा गर्छ । कठोपनिषद्ले मानिसको शरीरलाई रथको रुपमा वर्णन गर्छ भने स्वयंलाई त्यसको स्वामी, मान्छको बौदिकतालाई सारथि, बुद्धिलाई रथको लगाम, इन्द्रीयलाई घोडा र भवनालाई पथको रुपमा वर्णन गर्छ ।


भागवद् गीताको नाम लिनासाथ हाम्रो मनमा आउने भनेको चार घोडा भएको रथ हो । त्यसमा अर्जुन रथी र कृष्ण सारथिको रुपमा रहेको चित्र आँखामा आउँछ । यहाँ मानव शरीरलाई रथको, अर्जुनलाई व्यक्तिको आत्मा र कृष्णलाई सर्वोच्च आत्माको रुपमा व्याख्या गर्न सकिन्छ ।
उक्त रथको गति तीन प्रकारको छ, उच्च, मध्यम र अनुप्रस्थ । यसले मानिसले भौतिक जगत्मा रहँदा गर्ने व्यवहार अनुसार उच्च, मध्यम र दोयम खालको जन्मको विषयमा बताउँछ ।


यस्तै, अर्जुन सवार हुने रथका चार घोडाले इन्द्रीयबाहेक समय, भविष्य, देव इच्छा र स्व–इच्छालाई जनाउँछ । संस्कृतमा अर्जुनको अर्थ दागरहित भन्ने हुन्छ । अर्जुन आफै चन्द्रवंशी भएकाले पनि आफ्नो व्यक्तित्व सुहाउँदो सेतो रङको घोडा प्रयोग गरेको पाइन्छ ।

प्रतिक्रिया