शुक्रबार, वैशाख १४, २०८१

नेपाल त्रिदेशीय नेसन्सकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश

मेरोन्यूज २०७७ चैत १४ गते २१:१७

काठमाडौं । आयोजक नेपाल उपविजेता बन्दै त्रिदेशीय नेसन्सकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्दै उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो ।

पहिलो खेलमा कीर्गिस्तानको यु–२३ टोलीसँग पनि गोलरहित बराबरीमा रोकिएको नेपालले २ अंक बनाएर अन्तिम दुईमा स्थान बनाएको हो । बंगलादेशले भने ४ अंक बनाउँदै समूह विजेता बन्यो । बंगलादेश यस अघि नै फाइनलमा प्रवेश गरेको थियो ।

घरेलु दर्शकको साथ पाएको नेपालले बंगलादेशको राष्ट्रिय टोलीविरुद्ध पनि गोल गर्न सकेन । दबाब दिएर खेले पनि बंगलादेशको पोस्टमा गोल गर्न नेपाल असफल रह्यो । पहिलो खेलमा जस्तो बंगलादेशसँगको खेलमा पनि नेपाली टोलीको मध्यक्रम चल्न सकेन ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाली टोली केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न चुकेको थियो । बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानको उमेर समूहलाई हराउँदै फाइनल प्रवेश गरेको अवस्थामा आयोजकलाई रोक्ने रणनीति सफल भयो ।

बंगलादेशले नेपाललाई रोक्दा दशरथ रंगशलामा ६ वर्षपछि घरेलु दर्शकमाझ गोल गर्ने मौका फेरि पनि पूरा भएन । घरेलु टोलीलाई बराबरीमा रोकेको भ्रमणकारी टोली बंगलादेशले ४ अंक जोड्न सफल भयो ।

खेलमा बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो । खेलको २१ औं मिनेटमा त्रिदेव गुरुङले गरेको क्रस बलमा अञ्जन विष्ट अनमार्क रहे पनि सदुपयोग गर्न सकेनन् । अन्जन विष्टको फ्रि हेडर क्रसबारको केही माथिबाट बाहिरिएको थियो ।

बंगलादेशले अवसर सिर्जना गर्ने क्रममा ३७ औं मिनेटमा मोहमद इमोनको हेडर दिनेश राजवंशीले किलियर गर्दै बचाएका थिए । खेलको ४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्रिकिक पोस्ट नजिकबाट बाहिरिँदा बंगलादेश अग्रता बनाउन चुकेको थियो ।

खेलको ५९ औं मिनेटमा सुनिल बलको पासमा डिबक्सको ठिक बाहिर रहेका अन्जन विष्टको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहमद सैदुल आलमले सजिलै नियन्त्रणमा लिन सफल भएका थिए ।

६२ औं मिनेटमा रंजित धिमालको क्रसमा अभिशेक रिजालको हेड बलले पोस्टको दिशा लिन सकेन । खेलको ८२ औं मिनेटमा दर्शन गुरुङको हेड बल क्रसबारमा लागेर बाहिरिँदा नेपालले अग्रताको सुनौलो अवसर गुमाउन पुगेको थियो । बराबरी खेलेको खेलमा तीन खेलाडीले डेब्युको मौका पाए ।

मिडफिल्डर संजोक राई र त्रिदेव गुरुङले सुरुवाती–११ मै डेब्युको अवसर पाउँदा यस्तै डिफेन्डर निशान खड्काले रञ्जीत धिमालको स्थानमा ७१ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । फाइनल प्रवेश गरेका टोलीद्वय नेपाल र बंगलादेशले सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया