बुधबार, वैशाख १२, २०८१

कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि (भिडियाेसहित)

काठमाडाैं । दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको आज अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति ८.२४ बजे नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन हुनुभएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा स्व जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए ।

अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलिका लागि उनको निजी निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा उनको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए । स्व जोशीको शवलाई श्रद्धाञ्जलि दिन सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए ।

याे पनि हेर्नुहाेस्:

कांग्रेस नेता जाेशीकाे पशुपति आर्यघाटमा अन्त्येष्टि (फाेटाे फिचर)

नेता जोशीको अन्तिम श्रद्धाञ्जलिमा भावबिहोल बन्यो सानेपा (तस्बिरसहित)

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी नेपाल विद्यार्थी सङ्घको पूर्वमहामन्त्री, काठमाडौँ महानगरपालिकाको पूर्वउपमेयर, विसं २०६४ र २०७० सालमा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित हुनुभएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्षरत अथक योद्धा स्व जोशीले राजनीतिलाई सँधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित थिए ।

मस्तिष्कघात हुनुभन्दा पहिले स्व नेता जोशी आफ्नो निर्वाचन क्षेत्रको घरघरमा पुगेर कोरोनाको सामग्री वितरण गर्दै आएका थिए । विसं २०७३ सालमा उद्योगमन्त्री बन्नुभएका नेता जोशी नेपाली कांग्रेसको १२ औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए । स्व जोशीका श्रीमति र एक छोरी छन् ।

प्रतिक्रिया