मंगलबार, वैशाख ४, २०८१

नाटक प्रदर्शन गरेर विश्व रंगमञ्च दिवस मनाइयो

मेरोन्यूज २०७७ चैत १४ गते १९:४५

काठमाडौं । विश्व रंगमञ्च दिवसका अवसरमा कलाकारहरुले शनिबार विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । उनीहरुले समाजमा देखिएका विकृति–विसंगतिलाई हटाउने उद्देश्यसहित अनामनगर, रत्नपार्क र लगनखेललगायत स्थानमा नाटक प्रदर्शन गरेको थिए ।

कलाकार निरु खड्काले समाजमा सकारात्मक उत्प्रेरणा जगाउने पवित्र सोचका साथ दिवस मनाइएको बताइन् । हरेक वर्ष मार्च २७ का दिन विश्व रंगमञ्च दिवस मनाउने प्रचलन छ । सन् १९६१ बाट रंगमञ्च दिवस मनाउने क्रम शुरु भएको हो । युनेस्कोले सन् १९४८ मा मार्च २७ लाई रंगमञ्च दिवस मनाउने घोषणा गरेको थियो ।

आफूमा रहेको कलालाई प्रस्फूटित गर्न, कलाको महत्व बढाउन र नृत्यसँगै अभिनयलगायत कलाका विधालाई थप फराकिला बनाउन रंगमञ्च दिवसको आयोजना गरिन्छ ।

विश्व रंगमञ्च दिवसको आयोजना फ्रान्सको पेरिसस्थित इन्टरनेशनल थिएटर इन्ष्टिच्यूटले गर्दछ । कसैले जीवनलाई रंगमञ्च मान्दछन् त कतिले जिन्दगीलाई नाटक । जेजसो भए पनि अभिनय, रंग, संगीत, कला, संवाद अनि साधनाले रंगमञ्चलाई मानवसँग अत्यन्त निकट बनाएको हुन्छ । रामलीला मञ्चनदेखि विभिन्न विदेशी र स्वदेशी नाटकसम्म, श्यामश्वेत चलचित्रदेखि थ्रिडीसम्म रंगमञ्चले यात्रा तय गरेको छ ।

प्रतिक्रिया