शुक्रबार, वैशाख १४, २०८१

जसपामा निरीह बन्दै बाबुराम–उपेन्द्र

जसपाले ओलीलाई समर्थन गर्ने सम्भावना बढ्यो

मेरोन्यूज २०७७ चैत १४ गते १७:४९

काठमाडौँ । जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतो निर्णायक बन्दै जाँदा सोही पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव भने निरीह बन्न थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम ठाकुर र महतो निर्णायक बन्दै जाँदा जसपाले केपी ओली नेतृत्वको सरकारलाई समर्थन दिने सम्भावनासमेत बढेर गएको छ । उता ओलीलाई कुनै हालतमा सत्ताच्यूत गर्नुपर्ने पक्षमा रहेका भट्टराई र यादव भने पार्टीभित्र अल्पमतमा पर्न थालेका छन् ।

जनकपुर पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुरले मधेसको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक रहेको बताउनु, दुई पार्टीबीच वार्ता टोली गठन हुनु, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले माइतीघरमै पुगेर थारु आन्दोलनकारीका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु, नेकपा(एमाले)का नेता महेश बस्नेतले प्रधानमन्त्रीको दूतका रुपमा जेलमै गएर रेशम चौधरीलाई भेट्नुले पनि एमाले र जसपा गठबन्धनको खिचडी पाक्ने अन्तिम चरणमा रहेको आभास हुन्छ ।

यता जसपाभित्र प्रधानमन्त्रीबाट ओलीलाई जसरी पनि सत्ताच्यूत गर्नुपर्ने पक्षमा रहेका डा भट्टराई र यादव एमालेमा माधव नेपाल पक्ष जस्तै रक्षात्मक अवस्थामा पुगेको पूर्वराजपा पक्षका नेताहरू बताउँछन् ।

तत्कालीन समाजवादी पार्टीको तर्फबाट निर्वाचन जितेका बहुसंख्यक सांसद यादवको विपक्षमा छन् । उनीहरूले गतवर्ष नै पार्टी फुटाएर केपी ओलीलाई साथ दिन खोजेका थिए र सरकारले दल विभाजनका लागि अध्यादेशसमेत ल्याइसकेको थियो ।

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपामा तत्कालीन समाजवादी पार्टीकै केही नेता तथा सांसदले कित्ता परिवर्तन गर्दै तत्कालीन राजपाका नेताहरु ठाकुर र महतोलाई साथ दिएपछि तत्कालीन समाजवादी पार्टीका डा भट्टराई र यादवसमेत अल्पमतमा परेका हुन् ।

पार्टी एकताअघि दुवै पक्ष १७/१७ गरी ३४ सांसद रहेकामा दुई सांसद निलम्बन भएपछि हाल राजपासँग ३२ सांसद छन् । तत्कालीन समाजवादी पार्टीका मोहम्मद इस्तियाक राई, प्रदीप यादव, रेणु यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, रेणुका गुरुङलगायत सांसदले पार्टी एकताको केही दिनअघि मात्रै त्यही बेला छुट्टै पार्टी गठन गर्न खोजेका थिए ।

त्यसबेला उनीहरु सफल नभएपनि अहिले उनीहरुले ठाकुर र महतोलाई साथ दिएपछि डा भट्टराई र यादव थप अप्ठ्यारोमा परेका छन् । तत्कालीन राजपाका १६ र तत्कालीन समाजवादीका सात गरी २३ सांसद आफूहरुको पक्षमा रहेको अध्यक्ष ठाकुर र महतो पक्षको दाबी छ ।

जसपाका एक नेता भन्छन्, ‘पार्टी फुटाउन संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत आवश्यक पर्छ, तर उपेन्द्र र बाबुरामजीसँग अहिले संसदीय दलमा ४० प्रतिशत सांसद छैनन् । उहाँहरु नत जुट्न सक्ने, नत फुट्नसक्ने अवस्थामा पुग्नुभएको छ । सोही कारण अहिले अर्को पक्षले उहाँहरुलाई थाहै नदिई एमालेसँग वार्ता टोली गठन गर्नेदेखि दिनहुँ भेटघाट गर्ने गरेको छ ।’

यसरी पार्टीभित्र कमजोर बन्दै गएका डा भट्टराईले आफ्नो असन्तुष्टि हिजोआज सामाजिक सञ्जालमार्फत पोख्न थालेका छन् । शनिबारमात्रै उनले सामाजिक सञ्जालमा लेखे, ‘प्रतिगमनको खतरा टरेको छैन । प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई बिदा गरेर संविधान÷लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने, दुई बिकल्प छन् ।’ तर डा भट्टराई अहिले पार्टीभित्र यति निरीह बनेका छन् कि पार्टीले कुनै निर्णय गर्दा होस् वा वार्ता कमिटी गठन गर्दा कुनै जानकारी पाउने गरेका छैनन् ।

प्रतिक्रिया