शुक्रबार, चैत १६, २०८०

विश्व अर्थतन्त्र गतिशील बनाउन चिनियाँ अर्थतन्त्र एकदमै महत्वपूर्ण

लीलामणि पौड्याल २०७७ चैत ९ गते २१:१९

नेपाल चीनको असल, परम्परागत र विश्वासिलो छिमेकी हो । आर्थिक, सांस्कृतिक, राजनीतिक र जनस्तरमा नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध रहिआएको छ । छिमेकीसँगको असल सम्बन्धलाई अगाडि बढाउने, विकासशील मुलुकको विकास निर्माणमा सघाउने र साझा समृद्धिका लागि सहकार्य गर्ने नीति चीनले लिनु हाम्रा लागि खुसीको कुरा हो । चीन सन् २०२० मा एक हजार अर्व भन्दा ठूलो अर्थतन्त्र भएका विश्वका १६ राष्ट्र मध्येको एकमात्र अर्थतन्त्र सकारात्मक हुने र सन् २०२१ मा उच्च आर्थिक वृद्धिको लक्ष्य राखेको मुलुक हो ।

नेपालको मात्र होइन विश्वको अर्थतन्त्रलाई नै गतिशील बनाउन चीनको अर्थतन्त्रले आगामी दिनहरूमा एकदमै महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ । चीनले कोरोना महामारीबाट परेको असरलाई न्यून गर्दै उच्च आर्थिक, व्यापार र लगानीका लागि खुलापनलाई थप विस्तार, तथा बहुपक्षीय व्यापार प्रणालीको प्रवद्र्धन गर्ने जस्ता विषय बाहिर ल्याएको छ जुन हामी जस्ता विकासको चाहना भएका तर श्रोतसाधन तथा प्रविधिको खोजीमा भएका मुलुकका लागि राम्रो हो ।

चीन विश्कै एक शक्तिशाली राष्ट्र र नेपालको घनिष्ठ छिमेकी भएकाले चीनले लिने नीति तथा चीनको समग्र विकास तथा स्थायित्वसँग नेपालको विकास तथा स्थायित्व जोडिन्छ । नेपालमा अहिले आउने अधिकांश विदेशी लगानी चीनबाट आइरहेको छ । कोभिड १९ भन्दा पहिलेको तथ्याङ्कलाई आधार मान्दा चीन तीव्र विस्तार भइरहेको नेपालको पर्यटनको दोस्रो ठूलो श्रोत हो ।

नेपालमा आउने वैदेशिक सहायताको ठूलो हिस्सा चीनको छ । सांस्कृतिक तथा जनस्तरको सम्बन्ध र व्यापारका हिसाबले पनि चीनसँगको हाम्रो सम्बन्ध एकदमै महत्वपूर्ण छ । कोरोना महामारीसँग जुध्न र कोरोनाबाट नराम्रो गरी थलिएको अर्थतन्त्रलाई उकास्न पनि नेपाललाई चीनको विकास र सहयोग अपरिहार्य छ ।

Advertisement

पहिलो त चीनको सरकारी तवर र स्थानीय सरकार एवं जनस्तरबाट नेपाललाई धेरै सहयोग प्राप्त भयो । त्यसका लागि चीनीया सरकार र जनता धन्यवादका पात्र छन् । कोरोना माहामारी अझै रोकिएको छैन । कोरोना महामारीले भविष्यमा हामीजस्ता सीमित क्षमता र स्रोत भएका मुलुकका लागि चीनजस्ता मुलुकसँगको सहकार्य कति महत्वपूर्ण हुन्छ भनेर सम्झाई दिएको छ । चीनले आठ लाख थान कोरोनाको भ्याक्सिन अनुदानमा दिएको छ । त्यस्ता सहयोगप्रति धन्यवाद दिँदै नेपालले तुरून्तै खोप ल्याउने र सो खोप लगाएर बढीभन्दा बढी नेपालीको जीवन जोगाउन लाग्नुपर्छ । भविश्यमा कोरोना महामारी पूर्ण नियन्त्रण गर्न र कोरोनाबाट थलिएको अर्थतन्त्रलाई अगाडि बढाउन चीनको सहयोग नेपाललाई एकदमै महत्वपूर्ण हुनेछ ।

पहिलो त नेपाल चीनसँग पेटी तथा मार्ग अवधारणा (बेल्ट एण्ड रोड इनिसियटिभ) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने एक मुलुक भएको र चीनले पेटी तथा मार्ग अवधारणाअन्तर्गत उच्च गुणस्तरको विकासलाई अगाडि बढाउने बताएकाले हामीले उक्त अवधारणा अन्तर्गतका छिटो प्रतिफल दिने योजनालाई शीघ्र कार्यान्वयनमा लैजानुपर्छ । चीनबाट लगानी, प्रविधि र पर्यटन भित्र्याउने, निर्यात व्यापार सहजीकरण गर्ने, सेवा विस्तार तथा पारवहन सुविधालाई कार्यान्वयनमा ल्याउने हाम्रा प्राथमिकता हुन् । चीनसँग सहकार्यका परियोजना छान्दा उच्चप्रतिफल दिने, हिमालपार बहुआयामिक सम्पर्क संजाल विस्तार गर्ने, चीनको बजारसँग नेपालको बजारलाई मूल्यश्रृंखलामा जोड्ने जस्ता विषय छन् ।

चीनले गरिबी निवारणका क्षेत्रमा मानव इतिहास मै अभूतपूर्व उपलब्धि हासिल गरेको छ । त्यो पनि कोरोना महामारीबाट विश्वव्यापी रूपमा गरिबी बढिरहेको असामान्य वर्षमा । नेपाललगायत बाँकी विश्वले चीनबाट गरिबी निवारणमा सिक्न र लाभ लिन सक्छ । चीनले अहिले क्षेत्रीय असन्तुलन र चिनियाँ विशेषतासहितको समाजवादको अभ्यास गरिरहेको छ । भलै सिद्धान्त त वाद आयातनिर्यात गरिने विषय होइनन् । तर, उसका सफलतम् अभ्यास र शैलीलाई हाम्रो अनुकूल हुनेगरी लागू गरेर शीघ्र लाभ लिनु नराम्रो होइन । गरिबी निवारणमा म आफैँले देखेका कुराहरू पनि छन् जुन नेपालका लागि उपयोगी छन् भन्ने मैले ठानेको छु । स्वास्थ्यका क्षेत्रमा चीनले सामाजिक सुरक्षामा अभूतपूर्व सफतला हासिल गरेको छ जुन हाम्रा लागि अध्ययनको विषय हो ।

लीलामणि पौड्याल

पौड्याल चीनका लागि पूर्वनेपाली राजदूत हुन् ।

प्रतिक्रिया