मंगलबार, वैशाख ११, २०८१

नेत्रज्योति संघले पाँच वर्षभित्र ६ सय ७७ आँखा उपचार केन्द्र स्थापना गर्ने

मेरोन्यूज २०७७ चैत १३ गते १६:४२

काठमाडौँ — नेपाल नेत्रज्योति संघले आफ्नो ४३ औँ स्थापना दिवसका अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने भएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै सम्मानित हुने व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो । अन्धोपन निवारणमा योगदान दिने गण्डकी प्रदेश सरकार, तुलसीपुर उपमहानगरपालिका दाङ, समाजसेवी श्रीजंग शाह, अर्विस इन्टरनेसनल, विराटनगर आँखा अस्पताल, भरतपुर आँखा अस्पताललाई सम्मान गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।
कोरोनाका कारण धेरै बिरामी अस्पताल आउन सकेका छैनन् तर आगामी दिनमा सबै स्थानीय तहमा आँखा उपचार सेवा विस्तार गरिने संघका अध्यक्ष डा. चेतराज पन्तले बताए ।
संघका महासचिव भरतबहादुर चन्दले बदलिँदो जीवनशैली, प्रविधिको अधिक प्रयोग, औसत आयु वृद्धिका कारण मानिसमा आँखाका नयाँनयाँ रोग देखा पर्दै गएकाले अन्धोपन न्यूनीकरण अभियानमा चुनौती थपिँदै गएको जानकारी दिए ।
आगामी ५ वर्षभित्र नेपाल सरकारसँगको साझेदारी र समन्वयमा ६७७ वटा आँखा उपचार केन्द्रको स्थापना गरिने उनले जानकारी दिए । उनका अनुसार २२ वटा आँखा उपचार केन्द्रलाई ‘सेकन्डरी लेभल’को आँखा अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य रहेको छ ।
सन् २०१९ मा संघले आफूमातहतका आँखा अस्पताल तथा उपचार केन्द्रबाट ३३ लाख २३ हजार ४४ जनाको आँखाको उपचार लिएका छन् । भने २ लाख ६५ हजार ९७८ जनाको आँखाको शल्यक्रिया गरिएको संघले जनाएको छ ।
यसैगरी,सन् २०२० मा १३ लाख १७ हजार ६३२ जनाको आँखाको उपचार गर्नुका साथै १ लाख २१ हजार ३६२ जनाको शल्यक्रिया गरिएको बताइएको छ ।
२०३५ चैत १३ गते स्थापना भएको संघले हालसम्म २१ वटा आँखा अस्पताल, १२६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखामार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया