बिहीबार, वैशाख १३, २०८१

भारतमा कोरोनाको ‘डबल म्युटेन्ट भेरियन्ट’

सचेत बनौं, नेपालमा कोरोनाको दोस्रो लहर देखिन सक्ने सम्भावना छ : डा.शेरबहादुर पुन

मेरोन्यूज २०७७ चैत १३ गते १६:५८

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । भारतमा कोरोनाको ‘डबल म्युटेन्ट भेरियन्ट’ गत मंगलबार भेटियो । यता नेपालमा पनि कोरोनाको नयाँ भेरिएन्ट भित्रिएको आशंका गरिन थालिएको छ । भारतमा देखिदै गएको नयाँ खालको कोरोना भाइरस नेपालमा भित्रिने सम्भावना कतिको छ ? लगायत विषयमा केन्द्रित रहेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग मेरोन्युजकर्मी सञ्जिता खनालले गरेको कुराकानीः

अहिले नेपालमा कोरोना भाइरसको जोखिम कतिको छ ?

कोरोनाको जोखिम एक वर्षदेखि नै छ तर अहिले झनै बढेको छ । अहिलेसम्म त नेपालमा शून्यमै कोरोना संक्रमितको तथ्याकं पुगेको छैन् । भारतमा कोरोना संक्रमण बढेपछि लकडाउन हुन थालेको छ । जसले गर्दा भारत पढ्न वा काम गर्न गएका नेपाली नेपाल फर्कन थालेका छन् । यसरी फर्कदा उनीहरुले घर परिवारमा संक्रमण सार्न सक्ने भए । जसले विस्तारै गाउँ हुँदै समुदायमा फैलने खतरा बढ्छ । गतवर्ष कोरोना देखिँदा पनि नेपालमा पहिलो संक्रमित हवाइ मार्ग हुँदै आएका थिए । त्यसपछि धेरै भारतबाट फर्केर आएकाहरुबाट बढी सरेको देखिन्छ । भारतसँग नेपालको खुल्ला सिमानाका कारण भारतमा फैलिएको कोरोना भाइरस नेपालमा फैलने खतरा छ ।

यसको अर्थ नेपालमा पनि भारतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस देखिने सम्भावना बढी छ ?

नेपालमा कोरोनको दोस्रो लहर देखिन सक्ने सम्भावना छ । नेपालमा भन्दा अघि कोरोना भाइरस फैलिएका देशहरु प्रभावित भएका छन् । चीनबाट फैलिएको कोरोना भाइरस ब्राजिल, अफ्रिकालगायत देशमा फैलिएको देखिन्छ । तर सरसस्ती हेर्दा नेपालमा भारतमा फैलिएपछि ह्वात्तै संक्रमितको संख्या बढेको देखिन्छ । एक पटक फैलिएको तर केही समय ग्राफ घटे पनि फेरि ग्राफ त बढ्दो रहेछ भनेर भारतको तथ्यांकले समेत देखाएको छ ।

नेपालमा कोरोना भाइरस केही मथ्थर भएपनि भारतमा बढ्दा नेपालमा कोरोनाको दोस्रो लहर फैलन सक्ने देखिन्छ । हामीले रोकथामका उपायलाई समयमै व्यवस्थित गर्न सकेनौँ भने पक्कै पनि सङ्क्रमितको सङ्ख्ख्या अझै बढ्ने देखिन्छ ।

आम मानिसले कोरोना केही होइन भन्दै जनस्वास्थ्यका मापदण्ड तोडेका हुनाले अहिले कोराना सङ्क्रमितको दर बढ्दै गएको देखिन्छ ।

अहिले भारतमा ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटिएको छ नेपालमा पनि नयाँ ‘भेरियन्ट’ भित्रि सकेको अवस्था हो र ?

भारतबाट जुन ‘डबल म्युटेन्ट भेरियन्ट’ देखियो भनिएको छ । नेपालमा पनि यो भित्रियो कि भन्ने आशङ्का छ । ब्राजिल, दक्षिण अफ्रिका र युकेको भाइरसका बारेमा विश्वभर चर्चा सुरु भएको छ । पहिलाको कोरोना भाइरसभन्दा अहिलेको केही घातकसिंद्ध देखिएका छन् । यी भाइरसहरु भारतमा पुगिसकेको अवस्था छ । भारतमा यी भाइरस देखिँदा नेपालमा पनि देखिने सम्भावना नै प्रवल हुन्छ ।

अहिले हामीले कस्तो भाइरस छ नेपालमा भनेर परीक्षण गरिसकेका छैनौं । उक्त जिन सिक्वन्स गर्ने हामीसँग मेसिन पनि छैन् । एउटा–एउटा नमूना बाहिर पटक–पटक पठाइरहन पनि आर्थिक हिसाबले महंगो काम हो । अर्को ‘डबल म्युटेन्ट भेरियन्ट’ भाइरसको बारेमा जुन चर्चा छ । यो दुई भाइरसमा जेनेटिक रुपमा परिवर्तन आएको हो ।

नयाँ ‘भेरियन्ट’ लाई हामीले लगाएको कोरोनाविरुद्धको कोभिशील्ड खोपले काम गर्छ कि गदैन् ?

यसरी भाइरसले रुप फेर्दा खोपलाई थप चुनौति थपिन्छ । अर्को कुनै पनि खोप शतप्रतिशत काम गर्छ भन्ने हुँदैन । खोप पनि फरकफरक कम्पनीले आफ्नो खोपको १०० प्रतिशत प्रभावकारिता भनेका छन् तर खोपमा कहिलै पनि त्यस्तो हुँदैन । हामीले जुन कोरोना भाइरसविरुद्धको खोप लगाएका छौँ । अक्सफोर्ड आस्ट्राजेनेका कम्पनीले उत्पादन गरेको कोभिशील्ड खोप पहिलो मात्रा लिएको चार हप्तापछि लगाउँदा ६२ प्रतिशत काम गर्ने भनिएको छ । यो खोप लगाउँदा सबैमा रोग विरुद्धको एन्टिबडी नबन्न सक्ने हुन्छ ।

यो खोप १२ हप्तासम्ममा लगाउन सकिन्छ । चार हप्तामा लगाएको भन्दा १२ हप्तामा लगाउदा रोगप्रतिरोधात्मक क्षमता बढ्ने विभिन्न अध्ययनले देखाएको छ ।

अहिलेको अवस्थामा लकडाउन गर्नुपर्छ कि पर्दैन ?

लकडाउन अहिले गर्नुहुँदैन । एउटा संक्रमणको चक्रलाई तोड्ने उद्देश्यले गरिन्छ । संक्रमणको दर बढेर नियन्त्रण बाहिर गयो । कन्ट्याक ट्रेसिङ गर्न गाह्रो भयो भने लकडाउन गर्नुपछ । तर लकडाउन गरेर चुपचाप बस्नुभएन । धेरै समय लकडाउन गर्नु हुँदैन । त्यो समयमा स्वास्थ्य व्यवस्थापनको कार्य अगाडि बढाउनुपर्छ ।

नयाँ भेरियन्टलाई रोक्न सरकारले के के गर्नुपर्छ ?

सरकारले नेपाल भारत सीमामा निगरानी बढाउनुपर्छ । अर्को विमानस्थलमा कडाइ गर्ने हो । त्यस्तै, सबैलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न कडाइका साथ लागू गर्ने गर्नुपर्छ । यो रोगग्रस्त क्षेत्रबाट आएका व्यक्तिहरुको निगरानी गर्नुपर्छ । नयाँ भेरिएन्ट फैलिएको छ कि अध्ययन गर्न जरुरी छ । अर्कोे भीडभाड हुने स्थान बन्द गर्नुपर्छ । जनस्वास्थ्यको मापदण्ड साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने र मास्क लगाउने कार्यलाई पालना गराउनुपर्छ ।

प्रतिक्रिया