शुक्रबार, वैशाख ७, २०८१

किन भेटिरहन्छन् प्रचण्ड-नेपाल ?

प्रचण्डसँग छुटेपछि मात्रै माधव नेपालको २० दिनमा ९ पटक भेटवार्ता

रामकृष्ण अधिकारी २०७७ चैत १३ गते १५:२९

काठमाडौँ । राजनीतिक दलका रूपमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल अलग दलका नेता हुन् । प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष र नेपाल एमाले महाधिवेशन आयोजक कमिटि सदस्य (तर आयोजक समिति मान्न नेपाल तयार छैनन्) ।

२० दिन अघिसम्म दुवै नेता एकै पार्टीमा थिए । अर्थात नेकपाको प्रचण्ड–नेपाल समूहका दुवै पार्टी अध्यक्ष । प्रचण्ड र नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अन्तरसंघर्षमा एउटै मोर्चामा थिए ।

ऋषि कटट्ेलले आफनो नाममा दर्ता ‘नेकपा’ नामको पार्टी निर्वाचन आयोगले ओली र प्रचण्डलाई दिएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । त्यो रिटमा अदालतले कट्टेलको पक्षमा आदेश सुनायो । त्यक्तिमात्रै होइन, अदालतले नेकपाको एकता नै बदर गर्ने गरी एमाले र माओवादीलाई अलग–अलग पार्टीमा रूपान्तरित गरिदियो ।

त्यसपछि भने एउटै मोर्चामा सहकार्य गरिरहेका प्रचण्ड र नेपालको बाटो अलग–अलग भयो । अदालतको आदेशपछि सवैभन्दा वढी नेता नेपालको राजनीतिक जीवन संकटमा प¥यो । अदालतको आदेशपछि नेपालले भनेका थिए, –‘टार्गेट त मलाई बनाएको देखियो । केपी ओलीलाई पनि बनाएको देखिएन, प्रचण्डलाई पनि बनाएको देखिएन । मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी भयो न्यायाधीशहरूलाई ? कसरी आइपरयो त्यो स्थिति ?’

हुन पनि अदालतको आदेश आएको अर्को दिन मन भारी बनाउँदै नेपाल समूहका नेताहरूले प्रचण्डसँग सहकार्य तोड्न बाध्य भए । एमाले नै आफनो पार्टी भएको भन्दै नेपालसहितका नेताहरू पेरिसडाँडामा हुने छलफलमा सहभागी हुन छाडे ।

त्यसयता नेपाल, झलनाथ खनाललगायतका नेताहरूलाई अहिलेसम्म प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भाउ दिएका छैनन् । समूहबद्ध भएर आउँदासम्म पेलेरै जाने नीति ओलीले लिएका छन् । नेपाल पनि ओलीसँग जुधेरै जाने नीतिमा देखिन्छन् । अहिलेसम्म नेपाल पनि आफ्नो नीतिमा टसमस गरेका छैनन् ।

ओलीले नेता नेपालसहितका भिम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई १० बुँदे स्पष्टीकरण सोधेका थिए । तर नेपालले उल्टै ओलीमाथि प्रतिप्रश्न गर्दै जवाफ पठाएका छन् । ओलीतिर औंलो सोझ्याउँदै गर्दा नेपालको उठबस प्रचण्डसँग पातलिएको छैन । एकाध पार्टीमै रहेर ओलीसँग अन्तरसंघर्ष गर्दाकै झै भेटघाट बाक्लै छ । २० दिनको बीचमा ९ दिन नेपालले प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डसँग भारी मन लाएर बिदाइ हुँदै गर्दा नै नेपालले भनेका थिए, ‘हामी (प्रचण्डसँग) टेक्निकल्ली टाढा हुनुपरयो । हाम्रो संघर्ष फेरि पनि विचार, सिद्धान्त, विधिकै सन्र्दभमा हुन्छ । एमालेभित्र फेरि पनि केपी प्रवृतिविरुद्ध संघर्ष गरिन्छ । सकेसम्म पार्टी एकतालाई पूर्ववत् अवस्थामा पुरयाउन पहल गर्छौं । सकिएन भने कार्यनीतिक एकताका लागि पहल गर्छौं, मोर्चाका लागि पहल गर्छौं, हामी छलफल गरेर एकताबद्ध भएरै जाने हो ।’

नेपालको अभिव्यक्तिमा प्रचण्डले पनि मलामपट्टी लगाउन खोजेका थिए । उनले प्राविधिक रूपमा मात्र आफुहरुलाई अलग बनाइदिएको धारणा राखेका थिए ।

‘पार्टी एकताका लागि इतिहासको कालखण्डमा जे निर्णय गरेका थियौं, त्यो सही नै थियो, त्यसमा केपीले गलत ढंगले भूमिका खेलेकाले अहिले यो ठाउँमा आउनुपरयो । हामी क्रान्तिकारी हौं, हामीले जित्दै गएका थियौं, एउटा मोर्चा हारयौं तर हरेश खानुहुन्न ।’ प्रचण्डको भनाइ थियो ।

यो परिघटनापछि ओली आफ्नै ढंगले अगाडि वढेका छन् । नेपाल पक्षका नेतादेखि सांसदसम्मलाई ओलीले व्यक्तिगत रूपमा सम्वोधन गर्न खोजेका छन् । ‘अब सामुहिक गुट पार्टीभित्र हुन्न । कसैले आफ्ना समस्या राख्न चाहे व्यक्तिगत रूपमा राख्न सक्ने’ ओलीले नेपाल पक्षलाई जवाफ दिएका छन् ।

यसले ओली–नेपाल सम्बन्ध थप कुँडिने सम्भावना बढेको छ । ओलीले नेपालसँग अझै पनि प्रचण्डसँगको भेटघाटमाथि प्रश्न उठाइरहेका छन् ।

‘माधव नेपालहरू सके एमाले कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा माओवादी केन्द्रसँग एकता गर्न आउनुहुन्छ भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाइप्रति तपाईको मौन समर्थन रहनुको रहस्य वा कारण के हो ? यसबीचमा पनि पुष्पकमल दाहालसँगको निरन्तर भेट्घाट जारी रहनुको अर्थ के हो ?’ नेपाललाई एमालेले सोधेको स्पष्टिकरणमा उल्लेख थियो ।

राष्ट्रिय कार्यकर्ता भेला नगर्न, समानान्तर गतिविधि नगर्न ओली पक्षले निर्देशन गरे पनि त्यसलाई नेपाल पक्षले टेरेको छैन । उसले भातृ सस्थामा धमाधम समानान्तर समिति गठन गदै लगेको छ । महिला, युवा र विद्यार्थीमा समानान्तर समिति नेपाल पक्षले गठन गरिसकेको छ ।

ओलीसँग नझुक्ने अभिव्यक्ति र एमाले छोडन नसक्ने मनस्थितिको विरोधाभासमा नेपाल यतिबेला छन् । शुक्रबार मात्रै पनि नेपाल पक्षले आफ्ना पक्षका केन्द्रीय सदस्यहरूसँग कलंकीमा बैठक राखेका छन् । अब उनी ओलीलाई केन्द्रीय समिति बैठक बोलाउन दबाब बढाउने रणनीतिमा देखिएका छन् ।

एकातिर प्रचण्डसँगको भेटघाट घनीभूत बनाउने र अर्काेतिर ओलीसँग पनि अन्तरसंघर्ष चर्काउँदै लैजाने योजनामा नेपाल देखिएका छन् ।

२० दिनमा ९ पटक भेटवार्ता !

प्रचण्ड–नेपाललाई सर्वाेच्चले अलग धारमा पुरयाइदिए पनि भेटवार्ता रोकिएको छैन । एमाले र माओवादी केन्द्रको पार्टीगत सम्बन्ध यतिबेला राम्रो छैन । ओली र दाहालका बीचमा चर्केको विवादले सम्बन्धमा खटपट ल्याएकोे छ ।

ओली नेपाललाई प्रचण्डसँग टाढा बनाउन चाहान्छ । तर नेपाल प्रचण्डसँग सम्बन्ध तोडने पक्षमा छैनन् । अदालतको आदेशपछि मन अमिलो बनाउँदै छुटे पनि अदालतको फैसलाको पूनरावलोकनका सन्र्दभमा दुवै नजिक छन् ।

२४ फागुन यता प्रचण्ड–नेपाल अहिलेसम्म ९ पटक भेटवार्ता गरिसकेका छन् । कतिपय बेला झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई पनि साथै राखेर प्रचण्ड नेपालले वार्ता गरेपनि धेरैजसो भेटघाट एक्लाएक्लै गरेका छन् ।

तर भेटलाई नै गोप्य वनाउन दुई नेताले भेटघाट कहिले ब्यापारी टपेन्द्र तिमल्सिना त कहिले चन्द्रलाल श्रेष्ठको निवासमा गदै आएका छन् ।

हेर्नुहोस् भेटघाट तालिका

दुई नेताबीचको भेटघाटमा हुने छलफललाई दुवै पक्षले खुलाएका छैनन । ओलीले अझै पनि प्रचण्डकै मतियार बन्न खोजेको आरोप नेपालमाथि लगाउन छोडेका छैनन् ।

नेपाल पक्षले एमालेभित्रै अन्तरसंर्घष गरेर भए पनि फेरि पनि कम्युनिष्ट पार्टीबीचको एकताका लागि पहलकदमी लिने बताइरहेका छन् । यस अर्थमा पनि नेपालले प्रचण्डसँगको भेटघाटलाई जोगाइराखेका छन् ।

शुक्रबार मात्रै पनि ब्यापारी टपेन्द्र तिमल्सिनाको निवासमा प्रचण्ड–नेपाल भेटवार्ता भएको थियो । यो वार्तापछि नेपाल आफू पक्षीय केन्द्रीय सदस्यको बैठकमा पुगेका थिए ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया