शुक्रबार, चैत १६, २०८०

बङ्गलादेश स्थापनाको ५० वर्ष, अर्थतन्त्रमा व्यापक प्रगति, अधिकार कटौतीले निराशा

मेरोन्यूज २०७७ चैत १२ गते १७:४७

-शफिकुल आलम

गाजीपुर, बङ्गलादेश । बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको यसै साता ५० वर्ष पुगेको छ । गरिबीको चेपुवामा परेको बङ्गलादेशले पछिल्ला वर्षमा आर्थिक समृद्धिका दिशामा व्यापक प्रगति गरे पनि अधिकार कटौतीले चिन्तित बनाएको छ । पछिल्ला वर्षहरुमा एक दलीय झैं देखिएको बङ्गलादेशको राजनीतिमा सरकारको विरोधमा कार्टून बनाए वा फेसबुकमा केही लेखे जेलमा परिने वा त्योभन्दा कडा सजाय भोग्नु पर्ने हुन सक्छ ।

एबीएम शमशुद्दीन बङ्गलादेशको आर्थिक प्रगतिबाट राम्रै लाभ प्राप्त गर्न सफल भएका छन् । उनले सन् १९९८ मा ११० वटा मेसिन र २५० जना कामदार राखेर एउटा स्वीटर बनाउने कारखाना खाेलेका थिए । अहिले शमशुद्दीनको हन्नान समूहका पाँच वटा कारखानाले दुई दर्जन युरोपेली ब्रान्डका लागि तयारी पोशाक आपूर्ति गर्दछ र यहाँ १० हजारभन्दा बढीले काम पाएका छन् ।

“मेरो वार्षिक कारोबार अहिले झण्डै १० करोड डलर छ,” ६६ वर्षीय शमशुद्दीनले भने, “म जिरो (शून्य) बाट हिरो भएको छु ।” शमशुद्दीनको कार्यालयमा एएफपीसँग कुरा गर्दा मजदूरहरु जर्मनीको एस्प्रिट ब्रान्डका लागि तयारी पोशाक सिलाउँदै थिए । सडक, बन्दरगाह र ऊर्जाको सुविधा जस्ता पूर्वाधारमा धेरै राम्रो गरेकामा हसिना सरकारको प्रशंसा गर्दै शमशुद्दीनले १६ करोड ८० लाख जनसंख्याका लागि मुलुकमा समृद्धिको नयाँ युग शुरु हुन लागेको बताए ।

उनको कारखानाकी एक कामदारको नाम रुमा हो । उनी बङ्गलादेशी तयारी पोशाक उद्योगमा कार्यरत ३० लाख मजदूरमध्ये एक हुन् । हाल विश्वमा चीनपछि बङ्गलादेशबाट सबैभन्दा बढी तयारी पोशाक विदेश निर्यात हुन्छ । सन् १९८० को दशकमा झाडापखाला लागेर आमाको निधन भएपछि उनी आफन्तको घरमा आश्रय लिन पुगेकी थिइन् । तर काकाले छोरीलाई शिक्षाको के जरुरत भन्दै किताब नै च्यातिदिए । पढ्न लेख्न नपाए पनि उनी अहिले तयारी पोशाक उद्योगमा काम गर्न थालेकी छिन् ।

Advertisement

अहिले उनी महिनामा ४२० अमेरिकी डलरसम्म कमाउँछिन् । मुस्लिम समुदायको पर्व ईदका दिनहरुमा उनी र उनका पति दुवैले मिलेर एक हजार डलरभन्दा बढी रकम गाउँ लैजान्छन् । उनीहरू आफ्ना दुई बालबच्चाको शिक्षाका लागि महिनामा १२० डलरभन्दा बढी खर्च गर्न सक्ने भएका छन् ।

“मलाई के विश्वास छ भने मजस्तो मेरा बालबच्चा शिक्षाबाट बञ्चित हुनुपर्ने छैन ।” उनले एएफपीसँग भनिन् । गाजिपुरस्थित धुलौले औद्योगिक नगरको एउटा पक्की घरमा उनकाे परिवार दुईवटा कोठा भाडामा लिएर बसेको छ । सन् १९७१ मा बङ्गलादेश रक्तरञ्जित युद्धपछि पाकिस्तानबाट स्वतन्त्र भएको थियो । यस युद्धमा ३० लाखभन्दा बढी मानिस मारिएका थिए । त्यसबखत बङ्गलादेशका ८० प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि थिए । भोकमरि र सैन्य सत्ताविद्रोह नियमित झैं थिए भने जुट उद्योग समेत अधिकांश उद्योगहरुमा पाकिस्तानी व्यवसायीको स्वामित्व थियो ।

अहिले, बङ्गलादेशको परिस्थिति फेरिएको छ । विगत चार दशकदेखि बङ्गलादेशका बारेमा गहिरो अध्ययन गरेका नर्वेजियाली अनुसन्धाता एरिक जी जान्सेनका अनुसार, बङ्गलादेशमा गरिबीको रेखामुनिको जनसंख्या अहिले १० प्रतिशतको हाराहारीमा मात्र छ । मुख्य बाली धानको उत्पादन तीन गुणाभन्दा बढी भइसकेको छ । सन् १९७१ मा मानिसको औसत आयु ४१ वर्ष रहेकामा अहिले त्यो ७३ वर्ष पुगिसकेको छ ।

विगत एक दशकमा बङ्गलादेशको अर्थतन्त्र वार्षिक ७ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ र सन् २००० देखि प्रतिव्यक्ति जिडीपी पनि तीन गुणाभन्दा बढीले वृद्धि भएको छ । प्रधानमन्त्री शेख हसिनाको सरकारले सन् २०४१ सम्ममा बङ्गलादेशलाई “विकसित मुलुक”मा रुपान्तरण गर्ने योजना अघि सारेकाे छ । आर्थिक पक्षमा बङ्गलादेशले तिब्र गतिमा प्रगति गरिरहे पनि अधिकारकर्मीहरुले प्रधानमन्त्री हसिनाको शासनकालमा मानव अधिकार उल्लङ्घनका घटना बढेकामा सर्वत्र चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री हसिना सन् २००९ देखि लगातार बङ्गलादेशको प्रधानमन्त्री छिन् । उनी बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानकी छोरी पनि हुन् । मुख्य विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को अवस्था नाजूक छ । पार्टी अध्यक्ष एवं हसिनाकी मुख्य प्रतिद्वन्द्वी खालेदा जिया हाल भ्रष्टाचारका कारण जेलमा छन् भने उनको स्वास्थ्य अवस्था नाजूक छ । बीएनपीको भनाइमा आफ्ना कम्तीमा ३५ लाख कार्यकर्ता र समर्थकमाथि सन् २०१२ देखि मुद्दा लगाइएको छ ।

ठूलो संख्याका व्यक्तिहरु अहिले पनि जेलभित्र छन् । सुरक्षाकर्मीले गिरफ्तार गरिएका अरु पनि सैयौं व्यक्ति बेपत्ता छन्, बीएनपीको भनाइ छ । सरकारी अधिकारीहरुले सरकारको आलोचना गर्नेमाथि कडा कारबाही गर्ने गरेका छन् । खासगरी अनलाइन वा सामाजिक सञ्जाल फेसबुकबाट हुने आलोचनालाई बङ्गलादेशमा कडा कारबाही हुने गरेको छ ।

सरकारले “डिजिटल सुरक्षा” कानूनसमेत ल्याएको छ र यही कानूनको आडमा सरकारले सयौं पत्रकार, अधिकारकर्मी र अन्य व्यक्तिलाई गिरफ्तार गर्ने गरेको अधिकारकर्मीहरुले आरोप लगाएका छन् । यिनैमध्ये गिरफ्तार भएका एक व्यक्ति मुस्ताक अहमद हुन् । उनले प्रधानमन्त्री हसिनाको आलोचना गर्दै फेसबुकमा कोरोनाभाइरसको नियन्त्रणमा सरकारको लापरबाहीका बारेमा कडा टिप्पणी गरेका थिए । तर जेलमा बेहोस भएका ५३ वर्षीय लेखक मुस्ताकको गत फेब्रुअरीमा मृत्यु भएको थियो ।

यसको विरोधमा बङ्गलादेशमा केही दिन प्रदर्शनहरु पनि भएका थिए । अर्का ४५ वर्षीय कार्टुनिष्ट अहमद कबिर किशोर पनि १० महिनादेखि जेलमै छन् । उनले आफूलाई सुरक्षाकर्मीले यातना दिएको बताए पनि अधिकारीहरुले त्यसलाई अस्वीकार गरेका छन् । सरकारसँग निकट रहेका एक व्यवसायीका बारेमा कार्टुन बनाएको निहुँमा सरकारले आफूलाई गिरफ्तार गरेको कबिरको भनाइ छ । रासस

प्रतिक्रिया