मंगलबार, वैशाख ११, २०८१

दशैँमा बन्दीपुरमा केबुलकार सरर

मेरोन्यूज २०७७ चैत १२ गते ८:१८

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो ।

पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार बटम स्टेशनको काम सकिएको छ भने सामान पनि आइपुगेको छ । “दुई महिनाभित्र केबुलकारको टर्मिनल भवन पनि निर्माण सकिन्छ”, शर्माले भने ।

कामले गति लिइरहेको बेला गत वर्ष कोभिड महामारीका कारण केही समय काम प्रभावित भएको थियो । “कोभिड महामारी नभएको भए यतिबेलासम्म केबुलकार सञ्चालनमा आइसक्थ्यो”, उनले भने, “अब दशैँमा सञ्चालन गर्ने गरी तयारी गरेका छौं ।” शर्माका अनुसार परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको छ ।

पहिलो चरणमा केबुलकार सञ्चालन र दोस्रो चरणमा क्विन टावर सञ्चालन गर्ने योजना छ । पन्ध्र तल्ले क्विन टावरको सात तला ढलान सकिएको छ । बन्दीपुर केबुलकार परियोजना दक्षिण एशियामा नै फरक उद्देश्यसहित निर्माण भइरहेको छ । केबुलकार सिधै चारतारे होटेलमा प्रवेश गर्नेछ । होटेलबाट सूर्योदय देख्न सकिनेछ । यहाँ सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बङ्गला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्वीमिङ पुल र ६६ कोठा रहनेछन् ।

माथिल्लो स्टेशनमा निर्माण हुने क्विन टावरको लागत ८० करोड रुपैयाँ छ । कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्वीङ, म्युजिकल वाटर शोसमेत बनाउने तयारी गरेको सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए । (रासस)

प्रतिक्रिया