शुक्रबार, असोज १, २०७८

‘छिन्नभिन्न’ माओवादी

रामकृष्ण अधिकारी २०७७ चैत १२ गते ७:५०

Advertisement

राजनीतिका १४ वर्ष कति छालपूर्ण हुन्छन् भन्ने तथ्य माओवादी पार्टीको इतिहास हेरे पुग्छ । ‘मत्यु या मुक्ति’को शपथ खाएर जनयुद्धको उद्घोष गरेका माओवादीका ‘जोदाहा टिम’ अहिले चार तिर छरिएको छ ।

१० वर्षे भीषण संर्घष गरेर शान्तिपूर्ण राजनीतिमा आएको १४ वर्षमै आन्दोलनको मुख्य पहलकर्ता पुष्पकमल दाहाल (प्रचण्ड), डा बाबुराम भट्टराई, मोहन वैद्य (किरण) र रामबहादुर थापा (बादल) चार धुव्रमा उभिएका छन् । मूख्य नेतृत्वमा रहेका नेतामात्र होइन, दोस्रो पुस्ताका अन्य नेता पनि आ–आफ्नै नेतृत्वमा अहिले पार्टी बनाउने अभियानमा जुटेका छन् ।

दोस्रो पुस्ताका नेत्रविक्रम चन्द (विप्लव) को आफ्नै पार्टी छ । गोपाल किराँतीको आफ्नै बाटो छ । दिक्क लाग्दो पटक–पटकको पार्टी विभाजन, नेतृत्वको कार्यशैली, आचरण र व्यवहारका कारण कतिपय आशलाग्दा नेतासमेत राजनीति नै छोडेर अन्य पेशा–व्यवसाय तिर रमाउन पुगेका छन् । यो नियति माओवादी पार्टीको हो ।

माओवादीले जुन लक्ष्य लिएर जनयुद्ध उद्घोष गरेको थियो, त्यो आन्दोलनको पनि हो । आन्दोलनका सर्वाेच्च कमाण्डर प्रचण्डलाई अहिले जनयुद्धका सारथीले छाड्ने क्रम जारी छ । ०६९ मा मोहन वैद्य (किरण) सहितले छाडे । ०७२ मा अर्का सारथी डा भट्टराईले पनि छोडे । प्रचण्डलाई छाडेरै मिसिन आइपुगेका रामबहादुर थापा (बादल) ले फेरि पनि ०७७ मा छोडे । मूल विभाजनसँगैको सहायक विभाजनले पनि अन्य कतिपय माओवादी पार्टी जन्माइदिएको छ । नेत्रविक्रम चन्द (विप्लव) को नेकपा, गोपाल किराँतीको माओवादी केन्द्र, विश्वभक्त दुलाल (आहुति)को वैज्ञानिक समाजवादी पार्टी (करिब यही धारा) का सहायक रुप पनि अहिले देखिएका छन् ।

यतिमात्रै होइन, माओवादी नामका पार्टीभित्रै पनि अनेक नामधारी समूह टकराइरहेका छन् । प्रचण्डकै पार्टीमा वर्षमान पुन (अनन्त) र जर्नादन शर्मा (प्रभाकर)का शक्तिशाली गुट छन् । कृष्णबहादुर महराका आफ्नै छन् । अन्य स्थायी समिति सदस्यले पनि अनुकूलतामा आफ्नै समूह बनाएका छन् ।

मोहन वैद्य (किरण)को पार्टी पनि यसमा अछुतो छैन । परि थापा, सीताराम तामाङ, रामसिंह श्रीषसँगको एकतापछि कतिपय जनयुद्धकालीन नेता–कार्यकर्ताले वैद्यको साथ छाडेका छन् । त्यही रहेकामा पनि माओवाद की माओविचारधाराको टुंग्गो लगाउन नसक्दाको सकस वैद्य नेतृत्वको पार्टीले थेगिरहेको छ । परि थापाको एउटा समूह र सिपी गजुरेलको आफ्नै समूह पनि त्यहाँभित्रै टकराइरहेका छन् ।

मध्यम वर्गलाई पनि साथ लिएर क्रान्तिको उद्घोष गरेर दुईवर्ष भूमिगत राजनीतिको बाटो अँगालेको र हालै मात्र शािन्तपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द (विप्लव)को पार्टीमा पनि उही खालको संर्घष छ । विप्लवको आफ्नै र प्रकाण्डको आआफ्नो समूह छन् । संगठनको रुपमा माओवादी अहिले यतिविघन छिन्नभिन्न छ ।

    

किन भए छिन्नभिन्न्न ?

नेताहरुको विचारमै विभिन्नता, विचलन आउनु, सोच÷सस्कारमा विकृति र विसंगति छाउनु, आचरण तथा व्यवहार भष्टीकरण हुँदै जानुले माओवादीमा विभाजन आउनु, छिन्नभिन्न हुनु स्वभिावकै हो, त्यसैको परिणति अहिले देखिएको छ । जनयुद्ध शुरुआती चरणका १९ जनाको केन्द्रीय समितिभित्रका एक नेता नारायण शर्मा (कमलप्रसाद) विचारमा विभिन्नता देखापर्दै गएपछि नेताहरुमा हुर्किएको अवसरवादले माओवादी पार्टीलाई क्षतविक्षत बनाएको टिप्पणी गर्छन् ।

शर्माले मेरो न्यूजसँग भने,–‘विचारमा विभिन्नता देखिएपछि त्यसको असर संगठनदेखि आचरण र आन्दोलनसम्म पर्ने हुन्छ । त्यही अहिले देखा परेको हो ।’

व्यवहारवाट विचारमा विचलन आउँछ । माओवादी आन्दोलनभित्रका धाराका नेतामा देखा परेको छिन्नभिन्नतामा त्यही व्यवहारिक आचरणमा आएको स्खलनले पनि बल पुगेको शर्माको बुझाइ छ । शान्ति प्रक्रियामा आएदेखि माओवादी नेतामा देखिएको सुविधाभोग, सत्तालिप्सा र अवसरवादीताले आज यो स्थिति उत्पन्न गरेको छ ।

हुन त माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड युद्धकालमै पनि सुखसुविधा भोग गरेर आएका नेता हुन् । भारतमा बस्दा मात्रै होइन, रोल्पा–रुकुममा रहँदा पनि प्रचण्डमा त्यस्तो आदात थियो । तर त्यसबेला नेताहरुले खास प्रश्न उठाएनन् । नेतृत्वमा आएको त्यो खालको प्रवृतिका विरुद्धमा नेतृत्वलाई सुझाव दिने, दबाब बढाउने, रुपान्तरण गर्ने र शुद्धीकरणमा लैजानेमा कसैले चासो देखाएन । अन्ततः त्यही युद्धकालमा हुर्किएको सोच र शैलीले नै अहिले आन्दोलनलाई र पार्टीलाई नै छिन्नभिन्न पारेको ठान्छन्, शर्मा ।

‘हाम्रा आफ्नै कमजोरीका कारण पनि यो समस्या आएको हो,’ शर्माले थपे, –‘नेताहरुमा पनि आलोचक चेत नभएको होइन, तर भएर पनि त्यसलाई क्रान्तिकारीकरण, सर्वहाराकरण गर्न भने सकिएन ।’

धेरैजसो नेताहरुको आचरण, सँस्कृतिमा पार्टी बैठकमा निरन्तर खबरदारी गर्ने नेतामा पर्थे हितराज पाण्डे । तर आज भोलि उनी पनि त्यति बोल्न छाडेका छन् । उनका कुरा खास पार्टी बैठकमा सम्बोधन नै हुन छाडेपछि उनले पनि कुरा गर्ने छाडिदिएका हुन् ।

‘नेताहरुमा वैचारिक विषयमा बोल्ने भन्दा पनि प्रचण्डका पछि–पछि कुद्ने मात्र देखिन खोजे, किरणले सैद्धान्तिक रुपमा उठाउन त खोजे, तर व्यवहारिक रुपमा विषय आउन थालेपछि उहाँपनि त्यहाँ पस्नै नचाहने देखिन थाल्नुभयो । सुधार्नेतर्फ कसैको चासो नै देखिएन । त्यसपछि त सुविधाभोग कसले कति गर्ने भन्ने प्रतिस्पर्धा पार्टीमा चल्यो । त्यसपछि यो अवस्था आइलाग्यो’, शर्मा भन्छन् ।

वामपन्थी लेखक रोशन जकपुरी त अझ माओवादी आन्दोलन अहिले ध्वस्त नै भएको ठान्छन् । ‘माओवादी पार्टीभित्र वैचारिक संकट नै छ । मोहन वैद्यले थोरै भएपनि त्यान्द्रो समातेर बसेका छन् । तर त्यहाँ पनि समस्या छ । माओवादी/ विचारधाराको समस्या छ, अरुसँग त आफ्नो विचार भन्ने पनि छैन’, जनकपुरीले मेरो न्यूजसँग भने ।

माओवादीसँग नयाँ कार्यक्रम नहुँदा पनि संकट पैदा भएको उनी ठान्छन् । ‘अहिले नयाँ कार्यक्रम नै छैन । राज्यसत्ताले सिर्जना गर्ने क्रियामा प्रतिक्रियात्मक राजनीति मात्र अहिले माओवादीको बनिरहेको छ । आधारभूत वर्गबाट माओवादी हटेका छन्’ जनकपुरीले भने,–‘उनीहरुसँग आजका दिनमा दलित, मधेसी, महिला, जनजातिहरुका एजेण्डा मात्र छन् । तर आधारभूत वर्ग मजदुर र किसानका आन्दोलन उठाउने एजेण्डा नै छैन ।’

एजेण्डा नभएपनि व्यक्तिगत अवसरवादिताका लागि मरिहत्ते गर्ने प्रवृति भने नेताहरु प्रायः सबैमा देखा परेको छ । नेतामा देखिएपछि त्यही सोच कार्यकर्तामा पनि पुगेको छ । त्यसले गर्दा केन्द्रदेखि स्थानीयस्तरसम्म कसरी आफू बन्ने र आफ्नालाई बनाउने भन्नेमा मात्र अहिले माओवादीका नेताको सोच हाबी छ । ‘अवसरवादिता सबैमा छ । त्यही भएर अवसरका लागि नै कोसँग मिल्दा हुन्छ भन्ने रहेपछि नै मुख्य लिडर नै चारतिर पुगेका हुन् । आफ्नो स्वार्थको राजनीतिलाई नेताले हेर्न थालेका हुन्’, जनकपुरी भन्छन् ।

प्रचण्डले भने आफ्नो धरातल कमजोर हुँदा पूराना साथीहरु छुट्दै जान थालेको बताएका छन् । ‘आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलिक कमजोर भएको पक्कै देखिएकै हो,’ प्रचण्डले एक कार्यक्रममा भनेका थिए,–‘नयाँ मान्छे खोज्छु भन्दा पूराना साथीहरु छुटेको पक्कै हो ।’

सम्भव छ नयाँ ढंगको पुनःसंरचना ?

माओवादी शान्ति प्रक्रियामा आइरहँदा सायदै मानिसहरुले माओवादीको यो अवस्थाको कल्पना गरेका थिए । तर भइदियो त्यस्तै । विग्रहमा नयाँ ढंगको आशा पनि देखिन्छ । अर्थात नयाँ सम्भावना पनि हुन्छ । अहिले पार्टी र आन्दोलन नै नयाँ ढंगले पुनःगठन हुने सम्भावना पनि देखेका छन् कतिपय माओवादी नेताहरुले ।

‘नकारात्मकताभित्र पनि सकारात्मकता हुन्छ भनेझै अहिले छिन्नभिन्न रहेको माओवादी भित्रबाटै नयाँ एकता र पुनःगठन हुन्छ की भन्ने विश्वास लाग्छ’, शर्मा भन्छन् ।

चार मुख्य नेता चारतिर धुव्रीकृत हुँदा जनयुद्ध शुरुआतीको चरणमा खटिएकालाई दुःख लाग्ने गरेको छ । त्यसबेलाका प्रतिबद्धता, आन्दोलन, स्पिरिट र अहिले नेतामा देखिएको छिन्नभिन्नता र स्खलनले कतै आन्दोलन र परिवर्तनलाई नै दुर्घटनामा लैजाने पो हो की भन्ने चिन्ता पनि देखिन्छ ।

यस्तो बेला एकताका कुरा सुनिनु आफैँमा सुखद् ठानेका छन् यो धारका नेताहरुले । खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै यो विषय धेरै उठाइरहेका छन् । ‘तर त्यो वैचारिक एकतासहितको विषयमा छैन । माओवादीहरु अब जुट्ने भनेको सत्तामा पुग्नका लागि मात्र हो । त्यसरी जुटेपनि अन्ततः फुट्ने नै हो,’ जनकपुरी भन्छन्, नफुट्ने गरी एकता गर्नका लागि पहिल्यै वैचारिक राजनीतिक स्पष्टता चाहिन्छ ।’

अहिले प्रचण्ड, विप्लव, अहुति सबैको योजना मध्यम वर्गलाई आर्कषित गर्ने मात्रै देखिन्छ । सर्वहारावर्गलाई छाडेर मध्यम वर्गलाई साथ लिन खोज्ने भनेको संसदीय पार्टी खोज्नु नै हो । ‘प्रचण्ड कमरेडको अब माओवादी भन्ने नै नहोला, उहाँ पटकपटक शान्तिपूर्ण राजनीतिको कुरा गर्नुहुन्छ । पार्टीको नाम फेर्ने कुरा गर्नुहुन्छ, उहाँहरु अब संसदीय माओवादी बन्न सक्नुहुन्छ’ जनकपुरी थप्छन्,–‘आन्दोलन उठाउने हो भने वैचारिक रुपमा आन्दोलन उठाएर जानुपर्छ । विगतमा आन्दोलन शुरु गरेर पार्टी बनेको हो । तर अहिले पार्टी बनाएर आन्दोलन उठाउने होइन ।’

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया