शनिबार, वैशाख ८, २०८१

एकै परिवारका चार जना सैनिक सेवामा प्रवेश गरेका परिवारलाई सम्मान

मेरोन्यूज २०७७ चैत ११ गते १९:४२

काठमाडाैं । नेपाली सेनाले चारभन्दाबढी सन्तान सेनामा भर्ती हुन प्रोत्साहन गर्ने १६ मातापितालाई सम्मान गरेको छ । पूर्वी पृतनामा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीहरुलाई सम्मान गरेका हुन् ।

यसअघिका विभिन्न सम्मेलनमा पनि एकै परिवारका चारभन्दाबढी सैनिक सेवामा रहने २८ परिवारलाई सेनाले सम्मान गरिसकेको छ । सेनाको कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्ने यस भेगका सबैभन्दा ज्येष्ठ ९७ वर्षीया मायादेवी कार्की र ९१ वर्षीय रत्नबहादुर पौडललाई पनि समारोहमा सम्मान गरियो । पूर्वी पृतना इटहरी व्यारेकमा मुख्य शिविर र मातहतका १४ मध्ये ताप्लेजुङ र तेह्रथुमबाहेकका जिल्लामा (आज)बुधबार एकैसाथ भूपू सैनिक सम्मेलन आयोजना गरिएको हो ।

ताप्लेजुङमा बसोबास गर्नेलाई पाँचथर र तेह्रथुमका भूपूलाई धनकुटामा सहभागी गराइएको सेनाले जनाएको छ । इटहरीमा भएको मूल समारोहका मुख्य शिविरमा मातहतका जिल्लाबाट भूपूलाई प्रतिनिधिमूलक सहभागी गराइएको थियो । पूर्वी पृतना मातहतका जिल्लामा करीब सात हजारको हाराहारीमा भूपू सैनिकको बसोबास रहेको जानकारी दिइएको छ ।

पछिल्ला वर्षमा सेनाले प्रत्येक प्रधानसेनापतिको तीनवर्षे कार्यकालमा प्रदेशगतरुपमा एक–एक पटक भूपू सैनिक सम्मेलन गर्दै आएको छ । समारोहमा सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीलाई सम्मानका साथै लघुवित्त सञ्चालन गर्ने बहालवाला तथा भूपू सैनिक परिवारलाई सहुलियत ब्याजमा प्रदान गरी कर्जाको चेक हस्तान्तरण गरेको छ ।

गत वर्षको फागुनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै स्थगित सम्मेलन गत माघमा पोखराबाट पुनः शुरु भएको थियो । सम्मेलनका क्रममा भूपू र उनीहरुका परिवारको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ८५ हजारको हाराहारीमा छन् ।

प्रतिक्रिया