बुधबार, वैशाख १२, २०८१

घरमै बसेर होली मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह

मेरोन्यूज २०७७ चैत ११ गते १५:०१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेको भन्दै घरमै बसेर होली पर्व मनाउन आग्रह गरेको छ ।

कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै फागु पर्व (होली) घरमै बसी परिवारका साथ मनाउन आग्रह गरेको हाे । यस वर्षकाे होली चैत १५ र १६ गते परेको छ । कोरोनाका कारण गतवर्ष पनि सार्वजनिकस्थलमा होली पर्व मनाउन प्रतिबन्ध लगाइएको थियो ।

नेपालमा काेराेना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले ठूला भेला, जुलुस, सभा, सम्मेलन जस्ता भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको हो । संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी होली पर्व घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

त्यस्तै, भीडभाड हुने कार्यक्रम नगर्न/नगराउन, भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र नियमित हात धुन पनि प्रशासनले आग्रह गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको थियो । लकडाउन गरिएको एक वर्षपछि अहिले पुनः संक्रमणको जोखिम बढ्न थालेको छ ।

बुधबार काठमाडौँ उपत्यकासहित देशभर १ ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९६३ वटा नमूनाको परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।


यस्तै आज ९० जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार १८७ पुगेको छ । कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार २० पुगेको छ ।

प्रतिक्रिया