बिहीबार, वैशाख ६, २०८१

चिनियाँ राजदूतले किन भेटिन् प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई ?

मेरोन्यूज २०७७ चैत ११ गते १८:४७

काठमाडौं । दुई दिन अगाडि मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटन पुगेकी नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग भेट गरेकी छिन् ।

गत फागुन २३ मा सर्वाेच्च अदालतले नेकपाको एकता बदर गरेर एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिने निर्णय गरेपछि राजनीतिक संकट गहिरिँदै गरेका बेला राजदूत यान्छीको सक्रियता बढेको हो । उनले नेपालका दुई कम्युनिष्ट पार्टी पूर्ववत् अवस्थामा फर्केपछिको राजनीतिक घटनाक्रम, नयाँ सरकारको सम्भावनालगायत विषयमा केन्द्रित रहेर नेताहरुसँग भेटवार्ता गरेकी हुन् ।

केही दिन अगाडि मात्रै उनले अहिले एमालेभित्रै अन्तरसंर्घष गरिरहेका र कर्नरमा परेका नेता माधव नेपालसँग पनि अलग्गै भेट गरी छलफल गरेकी थिइन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालसँग यान्छीले बुधबार दिउँसो सिंहदबारस्थित रिमालको कार्यकक्षमै पुगेर भेटवार्ता गरेकी हुन् ।

विगतमा नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा नेकपाका नेताहरुलाई मिलाउन चिनियाँ पक्षले भूमिका खेल्न खोजेको सार्वजनिक भएको थियो । अहिले एमाले र माओवादी अलगअलग पार्टीका रुपमा देखापरेपछि राजदूत यान्छीको भेटवार्ता र सक्रियतालाई पनि चासोका साथ हेर्न थालिएको छ ।

दुवै पक्षले भेटवार्तामा भएका कुराकानीका विषयमा केही खुलाएका छैनन् ।

प्रतिक्रिया