शनिबार, वैशाख ८, २०८१

विवादमा हनुमन्ते जग्गा एकीकरण

मेरोन्यूज २०७७ चैत ११ गते १८:०७

काठमाडौं । हनुमन्ते जग्गा एकीकरण आयोजनाबारे भक्तपुर थिमी नगरपािलका र उपत्यका विकास प्राधिकरणका बीचमा विवाद बढेको छ । विवादमा पनि हनुमन्ते जग्गा एकीकरण आयोजनाले पनि नगरपालिकालाई साथ दिएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको ‘हनुमन्ते जग्गा एकीकरण आयोजना’सम्बन्धी काठमाडौं उपत्यका विकास प्राधिकरणले मङ्गलबार सूचना जारी गरेपछि विवाद थप बढेको हो ।

प्राधिकरणले जारी गरेको सूचनाविरूद्ध बुधबार भक्तपुर थिमी नगरपालिका र हनुमन्ते जग्गा एकीकरण आयोजनाले छुट्टै सार्वजनिक सूचना जारी गर्दै आपत्ति जनाएका हुन् ।

आयोजनाका लागि उपभोक्ता समिति गठनको प्रक्रियामा रहेको र आयोजना प्रमुख समेत तोकेर काम भइरहेको अवस्थामा कार्यरत आयोजना प्रमुखलाई थाहा नै नदिई उपत्यका विकास प्राधिकरणले सूचना प्रकाशन गरेको भन्दै मध्यपुर थिमी नगरपालिका र आयोजनाले आपत्ति जनाएको हो ।
हनुमन्ते जग्गा एकीकरण आयोजनाबारे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको मध्यपुर नगरपालिका र हनुमन्ते जग्गा एकीकरण आयोजनाले जनाएको छ।

तर, आयोजनामा पर्ने जग्गाधनीहरूको जग्गा फिर्ताको सुनिश्चितता नभएसम्म र नगरपालिकाले सीमाङ्कन नगरुञ्जेलसम्म कुनै पनि कार्य अगाडि बढ्न नदिने र सोसम्बन्धी जानकारी सम्बन्धित निकायलाई पनि गराउने गत माघको १८ गते निर्णय भएको सूचनामा उल्लेख छ ।
यस्तो अवस्थामा आयोजनाको भौतिक मस्यौदा तयार भएको भन्दै सूचना प्रकाशन गरी काठमाडौं उपत्यका विकास प्राधिकरणले भ्रम सिर्जना गरेको दुवै निकायले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया