शनिबार, वैशाख ८, २०८१

राजनीतिक दलको शरणमा उद्याेगी

किरण अधिकारी/काठमाडौं २०७७ चैत ११ गते १७:५१

तस्विर : प्रधानमन्त्रीको नीजि सचिवालय

दृश्य १ :
उद्योगपति राजेशकुमार अग्रवाल मंगलवार (चैत १० मा) प्रधानमन्त्री निवास बालुवाटार पुगे । प्रधानमन्त्री ओलीबाट खादा लगाई उनले एमाले प्रवेशको घोषणा गरे । अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धकसमेत रहेका अग्रवालले पार्टी प्रवेश गर्दै भने,–‘प्रधानमन्त्रीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व गरिरहनु भएको छ । उहाँलाई उद्योगी /व्यवसायीले साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरे ।’

दृश्य २ :
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधानसहित नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, मारवाडी संघलगायतमा आवद्ध २३५ उद्योगी /व्यवसायी ६ चैतमा बालुवाटारमा पुगेर एमालेमा प्रवेश गरे । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको निम्तोमा छलफलका लागि भन्दै बालुवाटरमा पुगेका व्यवसायीले त्यहाँ पुगेपछि भने प्रधानमन्त्रीको सोच र विकासको हुटहुटीलाई पार्टी प्रवेश नै गरेर साथ दिन खोजेको प्रतिक्रिया दिएका थिए ।

यी दुई दृश्य एक सातायता प्रधानमन्त्रीको सरकारी निवासका हुन् । उद्योगी/ व्यवसायीकाे पार्टी प्रवेश खासगरी पछिल्ला दिनमा एमालेमा देखिन थालेको छ । खास राजनीतिमा चासो नराख्ने, देशको उद्योग व्यापार, उत्पादन र उपादकत्व बढाउन केन्द्रित रहने गरेका उद्योगी /व्यवसायीमा पछिल्ला दिनमा राजनीति मोह ह्वातै बढाएको यी दुई दृश्यले देखाउँछ ।

पार्टी प्रवेशपछि उनीहरुका तर्क सुनिन्छ– उद्योग व्यवसायमा नीतिगत व्यवस्थापकीय सुधारका लागि व्यवसायीमा पनि राजनीतिक मोह बढेको छ ।

लामो समय एमालेमा रहेर सांसद बनेका विश्वका डलर अर्बपति एवं चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी नेपाली कांग्रेसका सांसद बनेका छन् । मोतीलाल दुगड त उद्योग राज्यमन्त्री भएरलगत्तै फेरि प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकार बनेका छन् ।

चौधरी र दुगड मात्र होइन, उनीहरुजस्तै अन्य कयौं उद्योगी व्यवसायी पनि विभिन्न राजनीतिक दलमा आबद्धता जनाउने क्रम बढ्दाे छ ।
व्यावसायिक आचरणमा प्रश्न उठ्न थालेपछि व्यवसायीहरू राजनीतिक दलको छायाँ खोज्न लागिपर्न थालेको कतिपयले टिप्प्णी पनि गर्न थालेका छन् । बालुवाटारमा गत ६ चैतमा भएको पार्टी प्रवेशमा सहभागी व्यवसायीकाे जमघटलाई धेरैले यस्तै खाले टिप्पणी गरे ।

तर व्यवसायीहरू राजनीतिलाई सुधार गर्ने, सरकारको नीति तथा कार्यक्रममा सहयोगी बन्ने र आर्थिक समृद्धिकाे बाटोमा अगाडि बढ्ने उद्देश्यले नीतिगत व्यवस्थापकीय सुधारका लागि राजनीतिक दलमा आबद्धता जनाउन पुग्ने गरेको बताउन थालेका छन् । उद्याेगपति चौधरीका भनाइमा, उद्योग व्यवसायकाे क्षेत्रमा नीतिगत व्यवस्थापकीय सुधारका लागि उद्याेगी नै राज्यको नीति निर्माण तहमा पुग्नु आवश्यक छ भन्ने महसुस भएपछि उद्याेगी व्यवसायीमा समेत राजनीति मोह बढ्न थालेको हो ।

‘उत्साहजनक नीतिगत सुधार र राम्रो व्यवस्थापनका लागि प्रत्यक्ष सहभागिता हुने भएकाले व्यवसायी राजनीतिक पार्टीमा आबद्ध हुन थालेका हुन्,’ उद्योगी–व्यवसायीकाे राजनीति मोहबारे मेरो न्यूजसँगको कुराकानीमा उद्योगपति चौधरीले भने ।

उनले थपे,– ‘विभिन्न क्षेत्रसँग भएका समझदारीलाई सहजीकरण र द्रूत रुपमा सफल पार्नका लागि राजनीतिक दलमा सामेल हुनुको विकल्प छैन् ।’ चौधरीले कम्युनिष्ट नेतृत्वको सरकारका केही कामहरु प्रसंशनीय रहेको पनि बताए । २७ वर्ष लामो राजनीतिक संक्रमण पार गरेर आफू यहाँसम्म आइपुगेको सन्देश संसारलाई दिनुपर्ने समय आएको उल्लेख गर्दै चौधरीले भने, ‘हामीले १९९२ बाट आर्थिक क्षेत्र सुधारको प्रयास थालेका थियौं । त्यसमा स्थिर सरकार आउँदा केही प्रगति हुने ठानेका थियौं । तर स्थिर सरकार पनि गतिशील नहुँदा केही समस्या देखापरेका छन् । तैपनि कम्युनिष्ट सरकारले केही उल्लेखनीय काम गरेका छन् । ’

कांग्रेसको आर्थिक नीतिबाट पनि उद्योग व्यवसायकाे नीतिगत सुधार हुन सक्ने बुझाइ भएर नै चौधरी कांग्रेसतिर आकर्षित भएका थिए ।
बालुवाटारबाट एमाले प्रवेश गरेका उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधान सरकारलाई साथ दिन पार्टी प्रवेश गरेको बताउँछन् ।
‘सरकारले तय गरेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आर्थिक सुधारको आवश्यकता भएकाले सरकारलाई साथ दिन आफूसहितको टोली एमाले प्रवेश गरेका हौं,’ प्रधानले मेरोन्यूजसँग भने ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार समेत रहेका उनको नेतृत्वमा २३५ व्यवसायीको समूहलाई बालुवाटारमा एमाले नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

‘सरकारले उद्यमी व्यवसायीलाई नीतिमा सहजता ल्याएर, लगानीको वातावरण र बैंकद्धारा प्राप्त हुने ऋण उपलब्धतामा जोड दिएमात्र आर्थिक उन्नति हुने भएकाले सुनमा सुगन्ध थप्न पार्टीमा प्रवेश गरेका हौं ।’ प्रधानले भने– ‘कुनै पनि दलको सरकारबाट फाईदा लिनलाई नभएर सो दललाई सहयोग गर्न पनि पार्टीमा लागेका हौँ ।’

नेपाल उद्योग वाणिज्य महासंघका कतिपय पदाधिकारी आफूलाई राजनीतिक दलभन्दा टाढा राख्न चाहान्छन् । व्यक्तिगत रुपमा पार्टी प्रवेश गर्नेलाई महासंघले केही गर्न नसक्ने तर पार्टी प्रवेश गरी सक्रिय राजनीति गरेका व्यक्तिलाई महासंघको विधानले अलग गर्ने नीति महासंघले लिएको महासंघका पदाधिकारी बताउँछन् ।

उद्योग वाणिज्य महासंघको विधानले पनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा कोषाध्यक्षले सक्रिय राजनीतिक गर्न नपाउने व्यवस्था गरेको छ । तर महासंघकै नेताहरु बालुवाटार पुगेर पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेको हो त अध्यक्ष भएर ? महासंघका अध्यक्ष शेखर गोल्छालाई प्रश्न राख्दा उनले केही बोल्न चाहेनन् । पेशा–व्यवसायमा राजनीतिक संरक्षण, नीतिगत प्रभाव पार्नका लागि व्यवसायीहरु पार्टी प्रवेश गर्ने प्रवृत्ति बढेको भन्दै यसको आलोचना हुने गरेको छ ।

विगतदेखि वर्तमानसम्म राजनीतिक दलमा व्यापारीहरु प्रवेश गर्दा जनस्तरमा पनि व्यापक आलोचना भएपनि पार्टीमा छिर्नेको कमि देखिँदैन । नीजि क्षेत्रको विकासले देशको आर्थिक उन्नतिमा सुधार हुने भएकाले अर्थ बनाउन नलागेर राजनीतिमा लाग्नु व्यवसायभन्दा व्यक्तिगत स्वार्थ बढावा देखिनु रहेको राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल टिप्पणी गर्छन् ।

उनले भने, ‘सबै क्षेत्रमा स्वार्थपन देखा पर्न थालेपछि व्यवसायीले पनि आर्थिक क्षेत्रको विकासमा राजनीतिक दल र सरकारको शक्ति बलियो भएको देख्न थालेको छ ।’

तीन पी (पद, पैसा र पावर) का लागि मानिस लागेको हुन्छ । व्यवसायी उद्योगी पनि मान्छे भएकाले पैसा देखाउँदै राजनीतिको जगमा उभिन खोजेको हो भन्ने प्रष्ट हुने, प्राध्यापक खनालको भना छ । उनले मेरोन्यूजडटकमसँग कुरा गर्दै भने,‘सरकारलाई झुकाउनका लागि पैसा फाल्दै तमासा देखाउने ध्याउन्नमा व्यवसायी लागेका हुन् कि ?’

प्रत्येक समयमा हुने महाधिवेशनमा व्यापारीबीच चूनावी सरगर्मी बढ्ने गर्छ । साधारणसभा तथा महाधिवेशनले व्यवसायी संघमा नेतृत्व चयन गर्दा छुट्टाछुट्टै प्यानलमा राजनीतिक दल प्रत्यक्ष रुपमा देखिएका हुन्छन् । ‘ट्रयाक टु डिप्लोमेस’का लागि पनि जुनसुकै सरकारले विभिन्न व्यवसायीलाई प्रयोग गर्ने गरेका छन् ।

चन्द्र ढकाल, राज्यलक्ष्मी गोल्छा, मोतिलाल दुगड प्रत्यक्ष देखिएका छन् । राजनीतिक दलको कारणले गर्दा पनि राजनीतिक दलमा व्यवसायीको लर्को मात्र होइन्, ताक परे तिवारी नत्र गोतामेको मापदण्डलाई अंगिकार गर्दै व्यवसायी दल अदलबदलमा समेत कस्सिएका छन् । आफ्नो राजनीतिक महत्वाकांक्षालाई अघि बढाउन नसक्ने भएका कारण पनि एकबाट अर्को पार्टीमा जाने प्रवृत्ति बढेको हो की ?

प्रतिक्रिया